कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो ।
मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन् । मन्त्रालयले संकलन गरेको तथ्यांकका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ । खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताए ।
उनका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिए ।
उनका अनुसार क्षतिको तथ्यांककका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।