समाजसेवामा पनि राजनीति गरेको भन्दै गाउँपालिका अध्यक्षमाथि खनिए समाजसेवी

नुवाकाेट– संयुक्त दलित अधिकार मञ्चले तारकेश्वर–२, तारुकामा जनसभा सम्पन्न गरेको छ । मञ्चको नुवाकाेट जिल्ला कार्यसमितिको आयोजनामा भएकाे सांस्कृतिक कार्यक्रमसहितको जनसभामा जिल्लाभरका दलित समुदायका साथै विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधि सहभागी भए ।

संयुक्त दलित अधिकार मञ्चका केन्द्रीय अध्यक्ष लक्ष्मण बर्देवाको प्रमुख आतिथ्यमा भएको सभामा सहभागी हुन विभिन्न जिल्लाबाट मञ्चका प्रतिनिधिहरु आएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्देवाले दलित हकहितको संरक्षण र जनचेतना अभिवृद्धिका लागि आफूहरु निरन्तर क्रियाशील रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा तारकेश्वरका समाजसेवी शिव अधिकारी ‘अविरल’ले समाजमा सबै जाति, वर्ग, लिंगका मानिसबीच समभावको विकास भइरहेको अवस्थामा ‘दलित’ शब्दले आफैँ कताकता दबिएको जस्तो महसुस गराउने भएकाले सीप र शिल्पकलाको धनी यो समुदायलाई अब ‘शिल्पी समुदाय’का रुपमा सम्बाेधन गर्नुपर्ने धारणा राखे । अधिकारीले मञ्चको कार्यालयका साथै दलित समुदायका लागि सीपमूलक तालिम सञ्चालनार्थ भवन निर्माण कोषका लागि ५० हजार रुपैयाँ र दुर्घटनामा घाइते भई गम्भीर अवस्थामा उपचार गराइरहेका स्थानीय विपन्न परिवारका रमेश नेपालीको उपचारका लागि १० हजार रुपैयाँ सहयोगको घोषणा गरे । 

लामो समयदेखि तारकेश्वरमा समाजसेवाका काममा क्रियाशील अधिकारीले पछिल्लो समय समाजसेवालाईसमेत राजनीतिकरण गरी गाउँपालिका अध्यक्षले सिफारिससमेत रोक्ने काम गरेको भन्दै रोष प्रकट गरे । जनताको मतले निर्वाचित पदाधिकारीले कसैले सेवा गर्छु भन्दा पनि राजनीतिक दबाबमा भाँजो हाल्ने कार्य नरोके जनस्तरबाटै भन्डाफोर सुरु हुने चेतावनीसमेत उनले दिए । 

कार्यक्रमलाई विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए । 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १९:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया