शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा करिब साढे पाँच घण्टा उडान अवतरण प्रभावित भयो । त्यस क्रममा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनउ डाइभर्ट भयो।
यो नयाँ घटना होइन। गत वर्ष वैशाख ११ मा फ्लाई दुबईको विमानमा आगलागी हुँदा पनि वैकल्पिक अवतरणका लागि भैरहवा नआएर त्यही बाटो विमान भारततर्फ गएको थियो । फागुन १४ मा काठमाडौंको खराब मौसमका कारण भिस्तारा एयर र फ्लाई दुबईका विमानहरू पनि लखनउ पुगेका थिए ।
यी घटना प्रतिनिधिमूलक घटना मात्र हुन । नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले विमान डाईभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनु परे नेपाली विमानस्थल भन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरेका छन् । भैरहवामा अहिलेसम्म एयर चाइनाको विमान ३ पटक मात्र डाईभर्ट भएको छ ।
२०७९ जेठ १ गते, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित र आकस्मिक उडान हुनसकिरहेको छैन । भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकोले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् ।
यस बाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाईभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ । नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य ९ सय ७३ डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८ सय १७ डलर मात्र रहेको छ । ठूलो परिमाणमा ईन्धन राख्ने बिमानहरुलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकोले पनि उनीहरूको रोजाइमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नपर्ने गरेको हो ।
दुरी र समयको हिसाबले लखनउ भन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो । दुरीका हिसाबले काठमाडौंबाट भैरहवा गएर ल्याण्ड गर्नु भन्दा लखनउ गएर ल्याण्ड गर्न भने १ सय ४२ नर्टिकल माइल बढी पर्छ । तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौंबाट डाइभर्ट भएका जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनउ लैजाने गरेका छन् ।
विमानस्थल श्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकोमा सत्यता छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाईभर्ट हुन नसक्नुको मूल कारण हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौं भन्दा धेरै सुविधा रहेको छ । भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत प्रतिशत छुट प्रदान गरिएको छ । ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ ।

विमानस्थल सञ्चालनको लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्य स्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका स्थानीय ठाकुर कुमार श्रेष्ठले अहिले पनि “कूटनीतिक पहल नपुगेको” टिप्पणी गरे ।
अप्रिल २०२५ यता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प रहेको थियो । यसै महिना देखि भने एयर एसियाले सातामा २ वटा उडान गरिरहेको छ । नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको टिप्पणी भइरहेको छ ।
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौँको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन् । यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।