२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

‘जेनजी आन्दोलनमा म भागेको भए सबै खरानी हुने थियो’

सुशीला शाही कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर हुन् ।  सुदूरपश्चिम प्रदेशभरि नै मेयर जित्ने उनी दोस्रो महिला हुन् । नेपाली कांग्रेसबाट टिकट पाएर मेयरमा  निर्वाचित भएपछि शाहीले नगरपालिकालाई नमुनाका रूपमा विकास गरिरहेकी छन् । 


हालै जेनजी आन्दोलनका क्रममा आफैँ मैदानमा उभिएर भौतिक संरचना जोगाएर चर्चा पाएकी मेयर शाहीसँग गरिएको कुराकानी : 



मेयरको टिकट माग्दा धेरैले तपाईँलाई उपप्रमुख लड्न सल्लाह दिएका थिए । तपाईँले प्रमुखमा लड्ने निर्णय कसरी गर्नुभयो ?

मैले मेयर लड्नु भन्दा पहिले नै तयारी गरेको थिए । मलाई लाग्थ्यो, मेयर हुनै पर्छ, कार्यकारी पदमा आउँदा काम गर्न सजिलो हुन्छ। धेरैजसो के हुन्छ भने, महिलालाई देख्ने बित्तिकै उपमेयर वा सदस्यको भूमिकामा मात्र सोचिन्छ। त्यो सोच पार्टीको, व्यक्तिको, अनि कहिलेकाहीँ महिलाहरू आफैँले पनि राख्छन् ।



मैले राजनीतिमा आउँदा समाज परिवर्तनका लागि काम गर्न सकियोस् भन्ने उद्देश्यका साथसोँच बनाएँ । काम गर्न मेजर पोस्टमा हुनु जरुरी छ, यो सोचमा मेरो परिवारले पनि साथ दियो ।

टिकट माग्दा धेरैले मलाई उपप्रमुख लड्नुस् भन्थे । तर मैले भनेँ ‘म उपप्रमुख लड्दिनँ, म प्रमुख नै लड्ने, बरु त्यो भएन भने प्रदेश वा संघमा चुनावको तयारी गर्छु । मंैले मेरो पार्टी नेपाली कांग्रेसलाई पनि स्पष्ट भनेँ । समाज र घर परिवारमा पनि यो कुरा सेयर गरेँ ।पछि पार्टीबाट टिकट पाएँ । जनताको सामु गएर भनेँ –एक चोटि मौका दिनुहोस् म काम गर्छु र सक्छु । कार्यकारी पदमा बस्दा काम चलाउन सक्छु। जनताले विश्वास गर्नुभयो र नतिजा स्वरूप मैले चुनाव जितेँ ।’ नेपाली कांग्रेसले कहिले पनि नजितेको ठाउँमा म पहिलो निर्वाचित भएँ । म नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिएँ र निर्वाचनमा सफल भएँ ।

लम्कीचुहा नगरपालिकाको नेतृत्व सम्हाल्दा तपाईँले मनमा बोकेको मुख्य सपना के थियो ? अहिले तपाईँ त्यो सपनाको कति नजिक पुगेको महसुस गर्नुहुन्छ ?

हामीले लम्कीचुहा नगरपालिका सुन्दर बनाउनुपर्छ भनेर सोच्यौँ र त्यसै सोचका साथ लाग्यौँ र हामी सफल पनि हुँदै गएका छौँ । नगरपालिकाको विकासको कुरा गर्ने हो भने सुदूरपश्चिमका ८८ वटा पालिकाहरूमध्ये धनगढी उप महानगरपालिका पछि सबैभन्दा बढी बजेट लिन हाम्रो पालिका सफल भयो ।



हाल राज्यसँग पैसा नभएको, लगानी अभाव भएको बेला पनि हामीले केन्द्र सरकार, प्रदेश सरकार र संघ सरकारबाट पनि बजेट ल्याउन सफल भयौँ। धेरै नभए पनि दातृ निकायहरूसँग समन्वय गरी विकासका लागि पर्याप्त बजेट व्यवस्था गरेका छौँ।

उदाहरणका लागि, अहिले हाम्रो पालिकाको ‘महिलामैत्रीपार्क’ परियोजनामा ह्याबिटाट युएनले लगानी गरेको छ। यसमा दातृ निकायको महत्वपूर्ण भूमिका रहेको छ। त्यस्तै विभिन्न युएसएड, एडीबी र अन्य दातृ निकाय, एनजिओ, आईएनजिओहरूलेसहयोग गरिरहेका छन् ।

सुदूर पश्चिमका ८८ वटा पालिकामध्ये धनगढी महानगरपालिका बाहेक हाम्रो नगरपालिका दोस्रो स्थानमा बजेट पाएको छ । विकासका काम धेरै भएका छन्। तर केही अधिकार हामीसँग छैनन् । जस्तै: राजमार्ग हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । पालिका भित्रका भित्री सडक, विद्यालय, कृषि, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा हामीले पहिलाको भन्दा बढी बजेट व्यवस्थापन गरी कार्यान्वयनको बाटोमा अगाडि बढिसकेका छौँ ।

नगरभित्र रहेका सामान्य वा न्यून वर्गका मानिसहरूको जीवनस्तर उकास्न के कस्ता कामहरू गर्नुभएको छ?

कृषिलाई बढी ध्यानमा राखेर हामीले पकेट क्षेत्रहरू बनाएका छौँ । कृषिमा उत्पादन बढी भएमा कृषकलाई सहयोग गर्न, प्रत्यक्ष रूपमा नगरपालिकासँग जोड्न, केही राहत दिने काम गर्‍यौँ । त्यहाँ कृषियोग्य जमिन पनि भएकाले बढीभन्दा बढी जोड्ने प्रयास गरेका छौँ ।

अति विपन्नको कुरा गर्दा, त्यहाँ सोनाहा जातिको बस्ती पनि छ। तपाईँहरूलाई पनि थाहा होला । नेपालमा लम्कीचुहा नगरपालिकामा मात्रै सोनाहा जातिका २१ वटा घर छन् । उनीहरू कर्णाली नदीमा बालुवा चालेर सुन निकाल्ने र माछा मार्ने काम गरेर जीविका चलाइरहेका छन् । यी दुई बाहेक जीविका चलाउने उनीहरूको अरू विकल्प पनि छैन ।

हामीले उनीहरूलाई पनि जोड्ने उपाय गरेका छौँ । ती समुदायका लागि एउटा पोखरी बनाइदियौँ । जङ्गलहरूमा खाली जग्गाको एग्रिमेन्ट गरेर उनीहरूले बोटबिरुवा रोप्न सकुन् र त्यसबाट आम्दानी गर्न सकुन् भनेर कागती, अम्बा जस्ता बिरुवा रोप्न प्रोत्साहित गर्‍यौँ । यसले उनीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यहाँ बादी बस्ती पनि छ। त्यसका लागि पनि हामीले काम गरेका छौँ । नगरपालिकामा सबैलाई समेटेर विकासको प्रयास गरिरहेका छौँ ।

वरघर र चौकीदारलाई मोबाइल र साइकल बाँड्नुभयो किन ? त्यसले नगरलाई के कति सहयोग गर्छ ?

कैलालीमा चौधरी वा थारु जातिको बाहुल्यता छ । कैलालीको सन्दर्भमा वा हाम्रो नगरपालिकामा उहाँहरूको एउटा परम्परा छ । चौधरीहरूको एउटा टोलमा एउटा चौकीदार वा चिरागी हुन्छ । चिरागी र एउटा भलमन्सा भन्ने उहाँहरूको गुरु हुनुहुन्छ। एउटा टोलमा २००–३०० घरलाई नेतृत्व गरेर चलाउनुहुन्छ। उहाँहरूले जे भन्यो, उहाँहरूले मान्नुहुन्छ । 

अनि त्यसलाई सुरक्षा दिनका लागि, राति लुटपाट नहोस् अथवा उहाँहरूको परम्परा जोगाउन लागि हामीले प्रयास गरेका हौँ । स्थानीय सरकारसँग नगर प्रहरी छ, सरकारसँग पुलिसहरू पनि छन्। उनीहरूले आफ्नो तरिकाले हेर्छन् । तर उहाँहरूको परम्परा भनेको टोल टोलमा एउटा चौकीदार र एउटा भलमान्सा बनाउनुहुन्छ। उहाँहरूले पूरै निगरानी गर्नुहुन्छ। उहाँहरूका लागि साइकलको माग बारम्बार गर्नुभएको थियो । 

परम्परालाई जीवित राख्न चाहन्छौँ हामीलाई मोबाइल र साइकलको व्यवस्थापन गर्दिन भन्नुभएको थियो । मोबाइलबाट उहाँहरूले सम्पूर्ण काम गर्नुहुन्छ। सबैलाई फोन गर्ने, मिटिङहरू राख्ने,समूहहरू बनाउनुहुन्छ। अनि देउताहरू कसरी मान्ने, आफ्नो संस्कृति, मरुवाहरूको संरक्षण कसरी भन्नेमा उहाँहरू चिन्तित हुनुहुन्थ्यो । त्यसकै संरक्षणका लागि हामीले ५०–५० वटा मोबाइल र साइकल हामीले दिएका हौँ । 

तर अरूको बुझाइ फरक हुन सक्छ । मोबाइल र साइकल दिए भन्ने होला ।त्यसो होइन, यसलाई अन्यथा सोच्नु पर्दैन । परम्परा जीवित राख्नका लागि, उहाँहरूको संस्कार, संस्कृति जोगाउनका लागि अनि अति विपन्न परिवारका भएकाले निर्णय गरिएको हो । 

नगरपालिकालाई अझ सुन्दर, सफा र सुरक्षित बनाउन तपाईँले ल्याउनुभएको कुनै विशेष अभियान छ ?

हामीले सरसफाइको सन्दर्भमा कामको दायरा विस्तार गरेका छौँ । पहिले एउटा मात्रै ट्र्याक्टर थियो, अहिले दुई–तीन वटा ट्र्याक्टर थपेर बजार र गाउँमा फोहोर सङ्कलन भइरहेको छ। फोहोर व्यवस्थापनका लागि ट्याक्टरमा मात्र तीन–चार जना कर्मचारी खटिएका छन् । साथै, नगरपालिकाको तर्फबाट नगर प्रहरी, समाजका विभिन्न संघ–संस्थासँग समन्वय गरेर हप्तामा एक पटक बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ ।

 यसरी पहिलाभन्दा धेरै काम अघि बढेको छ।फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा एनजीओसँगको सहकार्यमा वनको जग्गामा विभाजन प्रणालीसहितको परियोजना अघि बढाइएको थियो । करिब १ करोड २० लाख रुपैयाँ बजेटसहित ल्याइएको उक्त योजना वनतर्फबाट स्वीकृति नपाएपछि यथावत् रोकिएको छ।

खानेपानी योजनामा पुनः व्यवस्थापन गर्दै ‘कर्णालीको पानी लम्कीचुहावासीलाई’ भन्ने नारासहित ९२ करोडको टेन्डर प्रक्रिया पूरा भइसकेको छ। आगामी चैत्रसम्म खानेपानी वितरण प्रारम्भ गरिसक्ने लक्ष्य छ, यद्यपि पूर्ण रूपमा परियोजना सम्पन्न हुन अझै एकदेखि डेढ वर्ष लाग्नेछ। ‘एक घर, एक धारा’ भन्ने हाम्रो मुख्य प्रतिज्ञा पनि यही योजनासँग सम्बन्धित छ।

भौतिक संरचना विकासमा पनि हामी अगाडि बढिरहेका छौँ । प्रदेश सरकारको पहलमा २८ करोडको सिटी हल निर्माण हुँदै छ। सहरी विकास मन्त्रालयमार्फत २५ करोड रुपैयाँको कमर्सियल भवन निर्माण भइरहेको छ, जसले नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने अपेक्षा राखिएको छ। महिला मेयर रहेको पालिकामा बजेट प्राथमिकता दिने नीति अनुरूप यो सहयोग प्राप्त भएको हो ।

सामाजिक विकासका क्षेत्रमा पनि हामीले विभिन्न काम गरेका छौँ । क्रिया कर्म स्थल, मसानघाट, मठ–मन्दिर, मरुवा, चर्च, सामुदायिक भवनजस्ता पूर्वाधार निर्माण भएका छन् । शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै नगरका ४६ सरकारी विद्यालयमध्ये अधिकांशमा भवन निर्माणका काम सम्पन्न भएका छन् ।

शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूको मनोबल वृद्धि गर्ने रणनीति अपनाइयो । स्थायी शिक्षक ३२–३६ हजार तलब पाउँथे तर नगरपालिका अनुदानमा काम गर्ने शिक्षकले १४ हजार मात्रै पाउँदै आएका थिए। समान पद, समान दायित्व र कक्षा सङ्ख्या समान भए पनि तलबमा ठूलो असमानता थियो र त्यसलाई सुधार गर्दै हरेक वर्ष स्केल बढाउँदै ल्याइयो । अनि अहिले शिक्षकहरूले राम्रो तलब प्राप्त गर्न थालेका छन् । जसले उनीहरूको कामप्रतिको समर्पण र उत्साह पनि बढेको छ । उनीहरू आफैँले भन्छन्–पहिला घर खर्च नै चलाउन गाह्रो पर्थ्यो, अहिले सहज भएको छ। यसले हामीलाई शिक्षा क्षेत्रमा परिवर्तन हुँदै गएको स्पष्ट सन्देश दिन्छ।

जेनजी आन्दोलनमा नगरका कार्यालय र घर कसरी सुरक्षित बचाउनुभयो ? यसमा कसरी समन्वय गर्नुभयो ?

सायद जेनजी आन्दोलन नहुनुपर्ने थियो तर भयो। आन्दोलनका मृतकप्रति म यहाँबाटै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शहीद परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु। आन्दोलनमा कसको कमजोरी भयो भन्ने कुरा अहिले धेरैले विश्लेषण गरिरहनु भएको छ । तर तथ्य अझै पनि सार्वजनिक भएको छैन।

जेनजी आन्दोलन हुँदै गर्दा भएको घुसपैठले देशलाई ठूलो क्षतिमा पुर्‍यायो। १०–१५ वर्ष पछाडितिर धकेलियो  । आज देशभर आर्थिक मन्दी छ । राज्यसँग पैसा छैन र स्थानीय तहमा विकास बजेट सकिएको छ । ‘सिंहदरबार गाउँगाउँमा’ भन्ने नारासहित विगतमा स्थानीय सरकारको कल्पना गरियो तर आज १५–२० वर्षअघि जस्तो अवस्था महसुस भइरहेको छ । कतिपय स्थानमा वडा कार्यालयका भवनहरू भर्खर मात्र बन्दै थिए ।७५३ स्थानीय तहको संरचना पूरा हुन बाँकी छ। विकास बजेट सकियो र त्यही क्रममा हाम्रो नगरपालिकामा जेनजी आन्दोलन भयो ।

हाम्रो पालिकामा हामीले कुनै पनि निर्णय गर्दै गर्दा कहिल्यै व्यक्तिको पार्टी वा व्यक्तिगत पक्ष हेरेनौँ र जोसुकैले पनि राम्रो प्रस्ताव ल्याएर आए भने हामीले सदैव स्वागत गर्‍यौँ । समाज मिलाएर अघि बढेकै कारण जेनजी आन्दोलनमा जोगियौँ भन्ने महसुस हुन्छ। आन्दोलनका बेलामा लम्कीचुहा नगरपालिकामा दशौँ हजारको भीड थियो । मेरो घर र नगरपालिका जलाउनकै लागि आएको त्यो भिडमध्ये केही व्यक्तिगत रिसिभीका कारण आक्रामक थिए।

खोला–नाला छेकेर अतिक्रमण गरेर संरचना बनाएकाहरूको संरचना हाम्रो पालिकाको निर्णयअनुसार हामीले हटाएका थियौँ । त्यसका कारण पनि केही व्यक्तिहरू रिसाएर उग्र बनेका थिए । मैले कसैलाई व्यक्तिगत रूपमा नहेरे पनि व्यक्तिगत रिसिभी बोकेर मान्छेहरू आएका पनि थिए। बाहिरबाट पनि घुसपैठ थियो तर म डटेर अडिन तयार थिएँ। किनकि जनताले माया गरेर निर्वाचित बनाउनु भएको हो, त्यसैले डराउनुपर्ने ठानिन् । 

सुरक्षा निकायले ‘सबैभन्दा बढी क्षति लम्कीचुहामा हुने’भन्दै मलाई आर्मी ब्यारेकमा बस्न सुझाव दिइरहेका थिए । तर मैले म घर छोड्दिनँ, नगरपालिका पनि छोड्दिनँ भनेँ । र आन्दोलनकारीहरूलाई भेटेँ, हात जोडेँ र भनेँ–तपाईँहरू शान्तिपूर्ण आन्दोलन गर्नुहोस् आवश्यक परे म पनि साथ दिन्छु ।’ त्यसपछि साँच्चिकै जेनजीहरू कन्भिन्स भएर फर्किनुभयो । तर केहिछिन पछि घुसपैठ समूह आएर ढुङ्गा हाने । त्यसबेला पनि म त्यहीँ अडिएँ । ढुङ्गा लागे पनि लागोस् भनेर बसेँ । यदि म त्यति बेला भागेको भए आज नगरपालिका र मेरो घरसँगै लम्की बजारसमेत पूरै जल्ने अवस्था आउँथ्यो । एउटा जलेपछि अर्को जलाउने क्रम चल्थ्यो र नगरपालिका ध्वस्त हुन्थ्यो ।

तर बुद्धिजीवी, राजनीतिक दल र स्थानीयवासी सबै एक भएर ‘नगरपालिका जल्न दिँदैनौँ, तिमी अडिग भएर बस’ भन्दै साथ दिनुभयो । सबैको त्यसै एकताको कारण आज लम्कीचुहा नगरपालिका सुरक्षित छ। मानिसहरूले ‘विकास किन भएन?’ भन्छन्, तर कसैले पनि मैले गलत गरेको भनेर आरोप लगाउन सकेका छैनन् । किनकि मैले गलत गरेको थिइनँ भन्ने नै त्यसले प्रमाणित गर्छ । गलत भएको भए त्यही भीडमा नै कसैले भन्ने आँट गर्ने थिए होलान् ।

आफैँ डोजरमा चढेर अतिक्रमित संरचना भत्काउन बालेन शैलीमा अघि बढेको भन्ने आरोप छ नि तपाईँलाई ?

अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भनेरपुराना मेयर साबहरूले निर्णय गर्नुभएको थियो। हामीले त हिजोका जनप्रतिनिधिले गरेको निर्णयलाई कार्यान्वयन मात्र गरेका हौँ । सबै विकासका पाटोहरूमा, अतिक्रमित संरचनामा, जुन निर्णय भइसकेको थियो, त्यसलाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढ्यौँ। तर ड्राइभरले हिम्मत गर्न सक्नु भएन । मान्छेहरूको भीड देखेर उहाँ डराउनुभयो । त्यसपछि मैले ड्राइभरकै साइडमै बसेर डोजर चलाउन लगाएको हुँ ।

ड्राइभर डराएका कारण उहाँलाई हिम्मत दिनका लागि साइडमा बसेको हुँ । २८० घरमध्ये ८–१० घरले मात्र मुद्दा हाले । अहिले पनि स्टे अर्डरका कारण काम रोकिएको छ।
बजार क्षेत्रमा पाँच–छ बिघा जमिन सार्वजनिक रूपमा खुल्दै छ। त्यसमा हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन। बजारलाई सुन्दर बनाउन त सार्वजनिक जग्गा चाहिन्छ नि। सार्वजनिक ट्वाइलेट बनाउनुपर्ला, ठेलामा रोजीरोटी कमाउनेहरूलाई व्यवस्थापन गर्नुपर्ला, रिक्सा चलाउने दिदीबहिनी वा दाजुभाइलाई रिक्सा स्ट्यान्ड बनाइदिनुपर्ला, त्यसैले अतिक्रमण हटाइएको हो । खोला पुरेर संरचना बनाएर बस्ने अनि ‘विकास भएन’ भन्ने? त्यस्तो कसरी सम्भव हुन्छ?

जनप्रतिनिधिले छुट्टै अर्को संसारमा गएर विकास गर्नुपर्ने ठाउँ त छैन नि। समाजले पनि त साथ दिनुपर्छ, नगर सुन्दर बनाउन सहयोग गर्नुपर्छ । लम्की बजार लम्कीचुहा नगरपालिकाको मुटु हो । त्यति ठूलो सार्वजनिक जमिन बजारमै हुँदा कति काम गर्न सकिन्छ—पार्क, बिहान–बेलुका हिँड्ने कोरिडोर, बालबालिका र बुढाबुढीका लागि खुला स्थान, सार्वजनिक ट्वाइलेट, रिक्सा व्यवस्थापन, हाटबजार व्यवस्थित गर्न सकिन्छ। तर केही व्यक्तिले स्टे अर्डर ल्याएर काम रोकिदिनुभयो।

अब अदालतभन्दा माथि त हामी छैनौँ । अदालतले जे निर्णय गर्छ, जनप्रतिनिधिले मान्नै पर्छ । कारण—हामी पनि सरकारकै हिस्सा, राज्यका व्यक्ति हौँ जबसम्म कार्यकाल छ। त्यसैले कानुन मानेरै नगरपालिकालाई राम्रो बनाउने हाम्रो प्रयास जारी छ।

तपाईँ महिला भएका कारण नगरपालिकामा काम गर्न कत्तिको सहजता वा गाह्रो भएको छ ?

महिला भनिसकेपछि धेरैले हेर्ने दृष्टिकोण नै फरक हुन्छ। महिलाहरू उपप्रमुख नै हुन्छन् भन्ने खालको मान्छेहरूको बुझाइ छ । जस्तो म काठमाडौंमा कुनै कार्यक्रममा सहभागी हुन आउँदा पनि धेरैले ‘उपप्रमुखज्यू नमस्कार’ भन्नु हुन्छ । त्यो व्यवहार देख्दा कहिलेकाहीँ हाँसो उठ्छ । पछिल्लो समय गठबन्धनको कारण धेरै जना पुरुष साथीहरू उपमेयरहुनुहुन्छ। उहाँहरू पालिकाको लोगो लगाएर आउँदा ‘प्रमुख ज्यू नमस्कार’ भन्ने, तर महिला देख्दा धारणा बदलिने—हेर्नुस् न, कति फरक छ दृष्टिकोण ।

लिङ्गकै आधारमा फरक व्यवहार त छ नै, तर हेर्ने मनोविज्ञान नै अर्कै छ । महिला हो, काम गर्न सक्छ कि सक्दैन भन्ने खालको सोच छ मान्छेहरूमा । तर त्यही धारणा चिर्न सक्ने क्षमता हामी महिलामै छ।पुरुषहरू प्रायः अफिस गएर घर आएपछि आफ्नो काम सकिएको ठान्छन् तर महिलाहरू पनि अफिस जाने छन् भने उनीहरू आएर घरको सबै काम गर्नुपर्ने हुन्छ ।

महिलाहरूलाई त आमाजस्तै सहनशील र शक्तिशाली भनेर सम्मान गरिन्छ। त्यही शक्ति भएर त फरक भूमिका निभाउन सक्छौँ । त्यसैले महिलालाई अरूको बराबरीको होइन, आफ्नो क्षमता अनुसारको सम्मान दिनुपर्छ । नगरपालिकामा पनि सुरुका केही महिनासम्म कतिपयले मेयर पनि हो र?’ भन्ने व्यवहार गरे । तर मैले निर्णय गर्नुपर्ने बेलामा कहिल्यै पछाडि हटिन । अतिक्रमण हटाउनेजस्ता संवेदनशील निर्णयमा पनि धेरै पुरुषहरू हच्किएतर मेरो आफ्नै ससुराको घर भत्काउनु पर्दा पनि म पछि हटिन ।

पदमा भएका महिलाहरूले कुनै निर्णय गर्दा पार्टीकै कुनै नेताको वा आफूलाई टिकट दिने मान्छेको अनुमति लिनुपर्छ भन्ने प्रवृत्ति पनि समाजमा छ। तर त्यो गलत हो । पदमा हामी आफ्नो क्षमताले पुगेका हौँ । त्यसैले सही कुरामा निर्भीक भएर सिग्नेचर गर्नुपर्छ । ऐन, विधान, नीति नियमनहरू राम्रोसँग बुझेर मात्र निर्णयमा पुग्नुपर्छ ।

कोटा पाएको भनेर मात्र कुर्सीमा बस्ने होइन, जिम्मेवारी पूरा गर्ने सामर्थ्य हुनुपर्छ । हरेक क्षेत्रमा—दलित, महिला, जनजाति—कोटा नै पर्याप्त प्रमाण होइन। क्षमतावान् भएर पाउनुपर्छ । त्यसैले ‘३३ प्रतिशत, ५० प्रतिशत’ को कुरा गर्दा पहिलो गणना चाहिँ क्षमता हो—कति प्रतिशत महिलासँग नेतृत्व गर्ने क्षमता छ? क्षमता भयो भने कोटा माग्नै पर्दैन।

म मेयरमा आउँदा कुनै ‘कोटा’ थिएन। मैले ‘म मेयर लड्छु’ भनेँ, पार्टीले विश्वास गर्‍यो, जनताले भरोसा राखे—त्यसैले जितेँ । त्यसैले आज यो पदमा बसेर, चुनौतीहरू थेग्दै, नगर विकासको नेतृत्व दिँदै आएको छु।

अब  त तपाईँको कार्यकाल सकिँदै पनि गएको छ । अझै पनि तपाईँले गर्न खोजेका कतिपय कामहरू अधुरै होलान् । फेरि मेयर पदमा दोहोरिने इच्छा छ कि छैन ?

नगरपालिका बनाउनका लागि मैले यो तीन वर्षमा जुन मेहनत गरेँ, अब बाँकी दुई वर्ष मात्रै छ। राम्रो नगरपालिका बनाउन जुन मेहनत गर्नुपर्छ, त्यो मेहनत म अझै गर्छु । संघहोस्, प्रदेश होस्, विभिन्न संघ–संस्था, एनजीओ–आइएनजीओहरू सबैबाट सहयोग कसरी लिनुपर्छ भन्ने धेरै कुरा अब पहिलाभन्दा राम्रोसँग बुझिसकेको छु। त्यसैले मलाई लागिरहेको छ, यो तीन वर्षभन्दा बाँकी दुई वर्ष अझै राम्रो, ‘बेस्ट’ गरेर देखाउँछु । किनकि हामीले गर्दै आएको धेरै काम अहिले अन्तिम चरणमा पुगेका छन् । केही काम त चार–पाँच वर्षे योजना भएका कारणले मेरो कार्यकाल सकिएपछि मात्र पूरा हुन्छन् ।

अब जनताले विश्वास गरे, पार्टीले टिकट दियो भने म फेरि दोहोरिन्छु । मलाई चुनाव लड्न कुनै समस्या छैन। बरु, लम्कीचुहामा मैले एउटा सकारात्मक काम गरेको छाप बनाएको छु । यदी पार्टीले विश्वास गर्‍यो, जनताले विश्वास गरे भने, मैले गरेको कामलाई निरन्तरता दिन, बाँकी कामहरू पूरा गर्न म फेरि एक पटक दोहोरिनै पर्छ भन्ने मेरो बुझाइ छ।

  • प्रकाशित मिति : २६ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया