मधेस प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएको भन्दै पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुने गरी उनीहरूको पद खोसिएको हो।
पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै सभामुख मण्डलले नियम अनुसार उनीहरूलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्।
‘संविधानमा मधेस प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपसिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२/०७/२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरूको स्थान रिक्त भएको ब्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
तर, सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्। सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ।
सभामुख निर्णय लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।