ठिक छ वर्षअगाडि इन्द्रकुमारी रिजालले आफ्ना ‘मालिक’ गुमाइन् ।
त्यसपछि उनको जीवनबाट हाँसो गुम्यो । जीवन उजाड भयो । त्यसपछि उनी पशुपतिनाथको शरणमा आइन् । अब बल्ल उनको ओठमा कहिलेकांही हाँसो देखिन थालेको छ ।
केही समयअघि पशुपतिनाथ मन्दिरको छेवैमा रहेको वृद्धाश्रम पुग्दा इन्द्र कुमारी विगतमा फर्केर टोलाइरहेकी थिइन् । उनको ब्लडप्रेसर जाँच गर्न आएका केही स्टाफ नर्स नजिकै थिए ।
तीनैमध्ये एकलाई इन्द्रकुमारीले सोधिन्, ‘नानी तिम्रो बिहे भयो ?’
कोठाभर हाँसो गुन्जियो । इन्द्रकुमारीले जवाफ पाइन्, ‘यति छिटो ?’
यो उत्तर इन्द्रकुमारीका लागि अर्को आश्चर्य थियो । उनको त ११ वर्षको उमेरमा विहे भएको थियो । त्यही विवाहले उनको जीवनमा अनेक मोड ल्याएको थियो । चितवनी इन्द्रकुमारीको चितवनमै विवाह भयो ।
११ वर्षमा नै उनले घर सम्हाल्न थालिन् । अहिले ९५ वर्ष पुगेकी इन्द्रकुमारीले ती बेलाका कति कुरा त बिर्सिसकिन् । सम्झना छ त उनलाई, त्यो विगतले दिएको दुःखको छ ।
‘जीवनमा सुरु देखि नै दुःख पाएँ,’ उनले भनिन् ।
त्यसपछि विगतमा फर्किइन् इन्द्रकुमारी । इन्द्रकुमारीकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन्, छोरी । तर, चार वर्ष पुग्दानपुग्दै उनको निधन भयो । पहिलो सन्तानको बिछोडलाई भुल्न त के सक्थिन्, इन्द्रकुमारीले दोस्रो सन्तान जन्माइन् । उनकी दोस्रो सन्तानका रुपमा पनि छोरी नै जन्मिएकी थिइन् । अफसोस ! उनी पनि लामो समय बाँच्न सकिनन् ।
त्यति बेला इन्द्रकुमारी १९ वर्षकी मात्र थिइन् । ‘लगातार दुई सन्तान गुमाएकी थिएँ बाबु, पीडा खप्नै सकिनँ,’ त्यो समय सम्झँदा अहिले पनि इन्द्रकुमारीको आँखा रसाउँछ, ‘म त बौलाही भएकी थिएँ ।’
दुई छोरी गुमाएपछि इन्द्रकुमारी पहिलो पटक काठमाडौं आइन्, पशुपतिमा लाख बत्ती बाल्न ।
‘मेरा मालिकले यसमा सहमति जनाउनु भएको थियो, उहाँ निकै जाती हुनुहुन्थ्यो,’ इन्द्रकुमारीले श्रीमान्लाई सम्झिइन्, ‘मैले भनेको कुरामा कहिल्यै नाइँनास्ती गर्नुभएन ।’ तिनै मालिकलाई ६ महिनाअघि गुमाइन्, इन्द्रकुमारीले । त्यसपछि उनी आएकी हुन् पशुपतिको शरणमा ।
तर, यसबीचमा अनेक समस्याहरुसँग पैँठेजोरी खेल्नुपर्यो इन्द्रकुमारीले ।
सबैभन्दा पहिलो त्यो मुकाबिला आफ्नै परिवारसँग थियो । दुवै छोरी नबाँचेपछि उनकी सासुले छोरालाई बारम्बार दबाब दिइन्– अर्को विहे गर्नू ।
‘हेर्नु बाबु, पशुपतिको शरणमा बसेर झुट बोल्नु हुँदैन,’ इन्द्रकुमारीले सम्झिइन्, ‘मेरा दुवै नानी गुमेपछि मेरी सासूले मलाई दैनिक सराप्थिन्, पापी भन्थिन् । मेरो मन दुख्थ्यो ।’ तर, यस्तो हुँदा पनि श्रीमान् र ससुराले इन्द्रकुमारीलाई साथ दिएकै थिए ।
तर, उनकी सासूआमाको अगाडि कसैको जोर चलेन । उनका श्रीमान्ले अर्को विवाह गरे ।
२०/२१ वर्षकी थिइन्, इन्द्रकुमारी । श्रीमान्ले आफूमाथि सौता हालेको उनको मनले निको मानेन । त्यति बेलासम्म श्रीमान्लाई भनेर घरमा सासूआमाको गाली सहेर बसेकी इन्द्रकुमारीले घर छोड्ने निर्णय गरिन् ।
‘घरमा मेरो आफ्नो कोही छ जस्तो नै लागेन,’ इन्द्रकुमारी सुँक्क गरेको सुनियो, ‘सौतासँग बस्नु भन्दा घरै छाडेर हिँड्न ठीक होला भन्ने लाग्यो ।’
२१ वर्षमा इन्द्रकुमारी बनारस पुगिन् । बनारस जानका लागि उनले माइतीमा बासँग सल्लाह गरेकी थिइन् । ‘हिँड्ने बेला मैले संकल्प गरेकी थिएँ– त्यो घर कहिल्यै फर्किन्नँ,’ अहिले पनि इन्द्रकुमारी सम्झिन्छिन् ।
तर, सोचेजस्तो भएन । उनी बनारस पुगेकी मात्र के थिइन्, उनका ‘मालिक’ले बारम्बार चिठी पठाइरहे, फर्किएर आउन भनिरहे । तर, एक वर्षसम्म फर्किइनन् इन्द्रकुमारी । यता, चितवनबाट उनका श्रीमान्ले चिठी पठाउन छाडेनन् ।
दुई वर्षपछि चाहिँ इन्द्रकुमारीको मन पग्लियो । उनी त्यति बेला आफन्तकहाँ दार्जिलिङमा थिइन् । त्यहाँ पनि उनका श्रीमान्ले चिठी पठाइरहेका थिए । त्यसपछि इन्द्रकुमारी दार्जिलिङबाट फर्किएर नेपाल आइन् ।
जब उनी चितवनमा पुगिन्, उनलाई थाहा भयो, उनको श्रीमानकी कान्छी श्रीमतीको पनि उनकै जस्तो नियती भएछ । उनका पनि दुई सन्तान गुमेछन् । यो एक किसिमले परिवारमा पीडा थियो । तर, यही कारणले पहिले इन्द्रकुमारीलाई जति हेपिएको थियो, त्यसमा चाहिँ कमी आएको थियो ।
त्यसपछि आफ्ना श्रीमान् र सौतासँग मिलेर बसिन् इन्द्रकुमारी । विडम्बना ! त्यसपछि इन्द्रकुमारीको काखमा रहेनन् कुनै सन्तान । यसको अर्थ के होइन भने उनले सन्तानको माया र ममता नै पाइनन् । उनले त मालिककी कान्छीका छोरीहरुलाई आफ्नै जस्तो ठानिन्, आफ्नो जस्तै गरेर हुर्काइन् । उनले चार छोरी जन्माएकी थिइन् ।
अब त उनका छोरीहरुको पनि घर जमिसकेको छ । केही समयअघि मात्र इन्द्रकुमारी कान्छी छोरीको छोराको पास्नीमा पुगेकी थिइन् ।
९४ वसन्त पार गरिसकेकी इन्द्रकुमारीले विगतका धेरै कुरा बिर्सिइसकेकी छिन् । जति सम्झनामा छन्, त्यसले उनलाई अब सुखमात्र दिइरहेका छन् । जस्तो कि, उनी श्रीमान्सँग भारत र नेपालका धेरै धार्मिक स्थलमा पुगेकी छिन् । ती ठाउँहरुबारे उनलाई अहिले पनि राम्रोसँग सम्झना छ ।
‘मालिकको पनि सम्झना छ,’ उनले भनिन्, ‘उहाँसँग बिताएका क्षणहरु, घुमेका ठाउँहरुको सम्झना छ ।’
यी सब सम्झनाहरुलाई उनी दैनिक वृद्धाश्रममा रहेका अन्य वृद्धवृद्धाहरुसँग बाँडिरहेकी हुन्छिन् । अनि अधिकांश समय भजनकिर्तनमा नै दिन्छिन् ।
‘अब त यहाँकै साथीहरु हामी एक अर्काका साहरा हौँ,’ उनले भनिन्, ‘आफ्नो जीवनका अनेक कुराहरु हामी बाँड्छौँ ।’
त्यसो त आफ्नै रहरले वृद्धाश्रममा बस्न थालेकी हुन् इन्द्रकुमारी । त्यसैले पनि बेलाबेला उनका छोरी तथा नातिनीहरु बारम्बार उनलाई भेट्न आइरहेका हुन्छन् ।
‘अस्ती मात्रै पनि अमेरिकाबाट आएकी नातिनी मलाई भेट्न आएकी थिइ,’ उनले भनिन्, ‘छोरीहरु पनि भेट्न आउँछन्, आफ्नो घर जाम भन्छन् ।’
‘किन उनीहरुको घरमा गएर म बोझ बनूँ ?’ इन्द्रकुमारीको प्रश्न छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।