पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताए ।
नेता भुसालले आफूहरू नेत्र विक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरूको पहिल्यै राजनीतिक दल रहेको बताउँदै आउने निर्वाचनमा एजेन्डासहित प्रस्तुत हुने जिकिर गरे। निर्वाचनका लागि ओली एक मात्रै वाधक रहेको उनको भनाइ छ । अरु कुनै कुराले निर्वाचन नरोकिने उनको दावी छ ।
सबै राजनीतिक दलहरूले निर्वाचनको प्रचार प्रसार गरिसकेपछि लतारिएर निर्वाचनमा आउनुको विकल्प ओलीसँग नरहेको उनको तर्क छ । सरकारको तयारी, राजनीतिक वातावरणको हिसाबले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए । उनले ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरूले लतारेपछि बाध्य हुने बताए ।
अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । जेनजी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् । नेकपा एमालेले संसद पुनःस्थापनाको एजेन्डा अघि सारेको छ भने नेपाली कांग्रेसमा मत विभाजित छ । अन्य राजनीतिक दलहरू भने निर्वाचनमा जाने मनस्थितिमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।