भारतको राजधानीमा एक दशक भन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मिरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलक्षित गर्दै व्यापक छापा मारेको छ ।
सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए पनि सरकारले यस घटनालाई ‘जघन्य आतंककारी कृत्य’ भन्दै ‘राष्ट्र विरोधी शक्तिहरू’ जिम्मेवार रहेको टिप्पणी गरेपछि सुरक्षा कडाइका नयाँ कदम स्वरूप छापा सुरु गरिएको बताइएको छ ।
भारत प्रशासित काश्मिरका विभिन्न जिल्लामा बुधबारदेखि धेरै स्थानमा छापामारी गरिएको जिल्ला प्रहरीले जनाएको छ । काश्मिर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट दुवै देश स्वतन्त्र भए यता भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन् । नयाँदिल्ली–इस्लामाबादबीच तनाव निरन्तर उच्च छ ।
अवन्तीपोर, बन्दिपोर, गान्दरबल, शोपियाँ र सोपोरलगायत जिल्लाका प्रहरी कार्यालयहरूले जारी गरेका विज्ञप्तिका अनुसार यी छापाहरू जमात–ए–इस्लामी (जेइआई) लाई लक्षित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू–राष्ट्रवादी सरकारले सन् २०१९ मा जेइआई–कश्मीर शाखालाई ‘गैरकानुनी संगठन’ घोषणा गरी प्रतिबन्ध लगाएको थियो ।
अवन्तीपोर प्रहरीले जारी गरेको विज्ञप्तामा ‘आतंकवादी इकोसिस्टम र त्यसलाई समर्थन गर्ने संरचना नष्ट गर्न’ धेरै ठाउँमा ‘लार्ज–स्केल अपरेसन’ चलाइएको उल्लेख छ । बन्दिपोर प्रहरीले ‘आपत्तिजनक सामग्री’ जफत गरेको जनाएको छ भने सोपोर प्रहरीले ३० भन्दा बढी स्थानमा खोजी गर्दै ‘जमात–ए–इस्लामी–सम्बन्धित नेटवर्कहरू विरुद्ध ठूलो अपरेसन’ गरेको बताएको छ ।
यससँगै, राजधानी दिल्लीको दक्षिणी बाहिरी क्षेत्रमा पर्ने फरीदाबादस्थित अल–फलाह विश्वविद्यालयमा पनि छापामारी गरिएको छ । सुरक्षा बलहरूले शुक्रबार काश्मीरको पुलवामा जिल्लामा एउटा घर ध्वस्त पारेका छन् । यद्यपि प्रहरी पक्षबाट यसबारे औपचारिक टिप्पणी आएको छैन । अघिल्ला घटनाहरूमा कानून कार्यान्वयन निकायहरूले आक्रमणमा संलग्न भएको आरोपितहरूका संरचना नष्ट गर्ने गरेको इतिहास छ ।
सोमबारको विस्फोटको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले नेतृत्व गरिरहेको छ । सरकारले ‘अपराधीहरू, तिनका सहयोगी तथा प्रायोजकहरूलाई’ न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ । तर अहिलेसम्म यो आक्रमण स्वदेशी समूहले गरेको हो वा विदेशी समन्वय थियो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।
भारतीय मिडियाले १० नोभेम्बरमा पक्राउ परेका व्यक्तिहरूको शृङ्खलालाई विस्फोटसँग जोडेर व्यापक रूपमा समाचार प्रसारण गरेका छन् । ती व्यक्तिहरू पाकिस्तानमा आधारित अल–कायदासँग सम्बन्धित जैश–ए–मोहम्मद (जेएम) तथा यसको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।