१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

एनपिएलमा अब पोखराको जर्सीमा देखिने छन् जिमी निशम

न्यूजिल्याण्डका स्टार अलराउण्डर जिमी निशम यस वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सको जर्सीमा देखिने भएका छन् ।


१ मंसिरदेखि सुरु हुने दोस्रो सिजनका लागि पोखराले शुक्रबार बिहान उनलाई विदेशी कोटाबाट अनुबन्ध गरेको घोषणा गरेको हो ।



पहिलो सिजन जनकपुर बोल्ट्सका लागि खेल्दै उपाधि जिताउन महत्वपूर्ण योगदान दिएमा निशम यसपटक भने नयाँ फ्रेन्चाइजमार्फत् लिगमा सहभागी हुन लागेका हुन् ।

जनकपुरलाई च्याम्पियन बनाउन उनले बल र ब्याट दुवैमा उत्कृष्ट योगदान दिएका थिए । ३५ वर्षीय निशम यस सिजनको एनपिएलमा समावेश हुने न्यूजिल्याण्डका तेस्रो खेलाडी बनेका छन् ।



यसअघि विराटनगर किंग्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोयल्सले स्कट कुग्लाइनलाई अनुबन्ध गरिसकेका छन् ।

निशमले हालै सार्वजनिक भिडियोमार्फत प्राविधिक कारण यस सिजन जनकपुरबाट नखेल्ने जानकारी गराएका थिए । टेस्ट खेलाडी भित्र्याउने मामलामा ड्र हुँदा पोखराले चिट्ठा जितेका कारण जनकपुरले निशमलाई भित्र्याउन नसकेको हो । 

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १२ टेस्ट, ७६ एकदिवसीय र ९३ टी–२० आई खेलेका छन् । टी–२० आईमा निशमले १४९.६२ को स्ट्राइक रेटमा १ हजार १० रन बनाएका छन् ।

बलिङतर्फ यो ढाँचामा उनले ५६ विकेट लिएका छन् । निशमले आइपिएलसहित विश्वका दर्जनौं फ्रेन्चाइज लिगको अनुभव हासिल गरिसकेका छन् । समग्र टी–२० करियरमा उनले ३१९ खेलमा ४ हजार ४९६ रन र २६९ विकेट लिएका छन् ।



सन् २०१९ को वानडे विश्वकप र २०२१ को टी–२० विश्वकपमा न्यूजिल्याण्ड उपविजेता बन्दा निसम टिमका महत्वपूर्ण सदस्य थिए । उनको आगमनसँगै पोखराको टोली थप सशक्त भएको छ ।

ब्याटिङ र बलिङ दुवैतर्फ निसमले स्थिरता र शक्ति थप्ने पोखराको विश्वास छ ।

कुशल भुर्तेललाई मार्की प्लेयर बनाएको पोखराले यसअघि वेस्ट इण्डिजका अलराउण्डर रेमन रेफर, इंग्ल्याण्डका डान डाथवेइट र इंग्ल्याण्डकै विकेटकिपर/ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरिसकेको छ ।

  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया