पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान (जो सुदन किरातीको संयोजकत्वमा छ) र रवि लामिछाने नेतृत्वको रास्वपा छाडेर आएका सन्तोष परियारबीच मंसिर ७ गते औपचारिक एकता गर्ने सहमति भएको छ।
तीन समूहबीच आज भएको पाँच बुँदे सहमतिमा नयाँ एकीकृत पार्टी एकै नाम, संरचना र चुनाव चिन्हका साथ अघि बढ्ने उल्लेख छ। नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, अभियानका संयोजक सुदन किराती र सन्तोष परियारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार, नयाँ पार्टीले प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्ति र विशेषगरी जेनजी पुस्तालाई समेटेर ‘बृहत् राजनीतिक पुनर्संरचना’ को अभियान अघि बढाउनेछ । भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिलाई निर्वाचनबाटै परास्त गर्न नयाँ तथा वैकल्पिक शक्तिहरूबीच हातेमालो गर्न पनि उनीहरूले आह्वान गरेका छन्।
मंसिर ७ मा ‘वृहत् एकता घोषणा कार्यक्रम’ गर्दै पार्टी एकता औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।