सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को सबैभन्दा चर्चित र लोकप्रिय टिमका रूपमा परिचित छ । मैदानभित्र खेलाडीको प्रदर्शन होस् वा बाहिर समर्थकको दह्रो उपस्थिति ।
दुवै मोर्चामा सुदूरपश्चिमले प्रभाव जमाइरहेको छ । समग्र सूचक हेर्दा सुदूरपश्चिम धेरै पक्षमा अग्रस्थानमै देखिन्छ । सुदूरपश्चिमले उपाधि भने जित्न बाँकी छ ।
पहिलो सिजनमा फाइनल पुगेर ट्रफी गुमाएको सुदूरपश्चिम दोस्रो संस्करणमा त्यो कमी पूरा गर्ने सोचका साथ मैदानमा उत्रिने तयारीमा छ । गत सिजनको फाइनलमा ऊ जनकुपर बोल्ट्सँग पराजित भएको थियो ।

यसपालि सुदूरपश्चिम गत हारको बदला लिँदै उपाधि जित्ने योजनामा छ । र, यो लक्ष्य हासिल गर्न सुदूरपश्चिमले आक्रामक र स्तरीय विदेशी खेलाडी पनि भित्र्याएको छ ।
अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन र मिडल अर्डर ब्याटर जोस ब्राउनलाई टिममा भित्र्याएसँगै सुदूरपश्चिमको चर्चा थप चुलिएको छ । लिन लामो समयदेखि विभिन्न लिगमा सानदार प्रदर्शन गर्दै आइरहेका छन् ।
उनले अस्ट्रेलियाको बिबिएल, भारतको आइपिएलदेखि विश्वका दर्जनौं लिगमा सहभागिता जनाइसकेका छन् । त्यस्तै, ३१ वर्षीय ब्राउन पनि विस्फोटक ब्याटिङका कारण परिचित छन् ।
खासगरी उनी बिग बास लिग (बीबीएल) २०२४ मा ४१ बलमै शतक बनाएर चर्चामा आएका थिए । उक्त खेलमा ब्राउनले ब्रिसबेन हिटबाट खेल्दै एडिलेट स्ट्राइकर्सविरुद्ध ५७ बलमा १ सय ४० रनको अविश्वसनीय पारी खेले ।

टोलीमा यी दुई स्टारको आगमनसँगै सुदूरपश्चिमको ब्याटिङ युनिट झन् बलियो बनेको छ ।
सुदूरपश्चिमले क्रिस लिन र जोस ब्राउनबाहेक विदेशी खेलाडीको रूपमा न्यूजिल्याण्डका स्कट कुग्लाइन र भारतीयमूलका अमेरिकन अलराउन्डर हरमीत सिंहलाई अनुबन्ध गरेर बलिङ पक्ष बलियो बनाएको छ ।
एनपिएलको पहिलो सिजनमा पनि यी दुवै खेलाडीले सुदूरपश्चिमबाटै खेलेका थिए, जहाँ सुदूरपश्चिम फाइनल पुग्न उनीहरूको योगदान पनि महत्वपूर्ण रह्यो ।
चर्चित चार विदेशी खेलाडीलाई टोलीमा भित्र्याएसँगै सुदूरपश्चिमले दोस्रो सिजनमा पनि आफ्नो बलियो क्वाड प्रस्तुत गरेको छ ।
सुदूरपश्चिमको टिममा घरेलु खेलाडीको रूपमा पनि चर्चित अनुहार छन् ।
यसपालि पनि सुदूरपश्चिमको नेतृत्व स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्ने छन् । एनपिएलको पहिलो सिजनमा उनले सानदार प्रदर्शन गरेका थिए, जहाँ दीपेन्द्रले २२७ रन बनाउनुका साथै ९ विकेट लिए ।

उनी यसपालि सोही प्रदर्शन दोहोर्याउँदै सुदूरपश्चिमलाई उपाधि दिलाउन पूरा कोसिस गर्ने छन् । सुदूरपश्चिमको टिमका अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी पनि छन् ।
उनले गत सिजनमा ओपनिङमा राम्रो प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका लागि मिडल अडर्रमा आरिफ शेख, ईशान पाण्डे, दीपक बोहरा, मिलन बोहरा, टेक राउत, दीपेन्द्र थापालगायत छन् ।
सुदूरपश्चिमको टिममा बलरको रूपमा स्कट कुग्लाइन, अविनाश बोहरा, हरमित सिंह, हेमन्त धामी, नरेन साउद र हिक्मत महरा रहेका छन् । समग्रमा सुदूरपश्चिमको टिम सबै विधामा सन्तुलित देखिन्छ । उसले यसपटक पनि जगत टमाटालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
सुदूरपश्चिम यसपालि उनको प्रशिक्षणमा उपाधि सपना पूरा गर्नेछ योजनामा छ । यही १ मंसिरदेखि सुरु हुने एनपिएलमा सुदूरपश्चिमले पहिलो खेलमा आउँदो बुधबार काठमाण्डु गोर्खाजको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।