२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्नेगरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन् ।


नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उनले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।  



उनले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधन कठिन हुने टिप्पणी गरे । वर्तमान अवस्थाको निकास राष्ट्रिय सहमति नै भएकाले सबै पक्ष त्यसतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता डा. आस्था दाहालले संविधानले सुनिश्चित गरेको मतदान अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै देश–विदेश जहाँ बसेका भए पनि नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सरकारलाई आग्रह गरिन् । 



नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले राजनीतिक परिवर्तनका चर्चा पर्याप्त भइसकेकाले अब मुलुकले आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताए । उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग अनिवार्य रहेको उल्लेख गर्दै उनले आर्थिक स्थिरताका आधारहरू मजबुत बनाउनुपर्नेमा जोड दिए । 

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले हरेक संस्थामा राजनीतिक भागबन्डा लगाइँदा आजको अवस्था सिर्जना भएको दाबी गरे । अबको सरकार जनप्रतिनिधिलाई यथाशीघ्र हस्तान्तरण गर्ने गरी छिटो निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।  



  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया