२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

अर्थमन्त्री खनालको दाबी- अर्थतन्त्र बदलिँदै छ
फाइल तस्बिर

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गरे । 



उनका अनुसार विभिन्न कालखण्डमा आन्तरिक–बाह्य, राजनीतिक तथा प्राकृतिक कारणहरूले आर्थिक क्षेत्रमा दबाब सृजना गर्दै आएको छ । ‘अर्थतन्त्रको चरित्र बदलिँदै गएको छ । औद्योगिक क्षेत्रको योगदान घट्दो रहेकाले सेवा क्षेत्र र अन्य उत्पादनशील क्षेत्र तीव्र गतिले अगाडि बढिरहेका छन् । तर, हामीले बजारको स्वतन्त्रता कुण्ठित नगरिकनै अर्थतन्त्रलाई अघि बढाउनु अहिलेको आवश्यकता हो,’ उनले भने ।

अर्थमन्त्री खनालले अर्थतन्त्र निराशाजनक अवस्थामा नभएको दाबी गर्दै हाल करिब आठ प्रतिशत कर्जा प्रवाहले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने  विश्वास व्यक्त गरे । 



नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत सामञ्जस्य रहेको उल्लेख गर्दै उनले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले समय–समयमा बाटो बिराउने गरेको पनि टिप्पणी गरे । 

डा. यादवप्रसाद पन्तको स्मरण गर्दै उनले पन्तले आन्तरिक अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय संयन्त्रसँग जोड्ने तथा कृषि क्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा ऐतिहासिक भूमिका खेलेको बताए ।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वि.सं २०२० को दशक र वर्तमान आर्थिक अवस्थाबीच उल्लेख्य समानता रहेको बताए । उनका अनुसार कृषिक्षेत्रमा कर्जाको प्रभावकारिता अहिलेजस्तै त्यसबेला पनि कमजोर थियो । 

पाँचौँ योजना कार्यान्वयनका समयमा देखिएको कृषि वृद्धिदर सुस्तता, सार्वजनिक संस्थानको उच्च दायित्व, बजेटको आकारभन्दा ठूलो व्यापारघाटा तथा बैंकिङ क्षेत्रको कमजोर विस्तारजस्ता चुनौतीहरू आज पनि समान रूपमा देखिएको गभर्नर पौडेलले स्मरण गरे । गभर्नर पौडेलले राजनीतिक परिवर्तन रातारात हुनसक्ने तर आर्थिक सुधार र रूपान्तरणलाई समय लाग्नेसमेत टिप्पणी गरे । 



  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया