भारतको बिहारमा भइरहेको विधानसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू) नेतृत्वको राष्ट्रिय–गठबन्धन (एनडिए) पुनः सत्तामा फर्कने निश्चित भएको छ ।
शुक्रबार बिहानदेखि सुरू भएको मतगणना अन्तिम चरणतर्फ अघि बढ्दै जाँदा गठबन्धनले १४० सिटमा जित सुनिश्चित गरिसकेको छ । थप ६५ क्षेत्रमा उसको अग्रता कायमै छ ।
२४३ सदस्यीय सभामा बहुमत पुग्न आवश्यक १२२ सिटको सीमारेखा पार गरिसकेको एनडिए दुईतिहाइको नतिजातर्फ उन्मुख देखिएको विश्लेषण बाहिर आएका छन् ।
अग्रता र जित दुवैलाई समेटेर हेर्दा गठबन्धनको सिट संख्या करिब २०५ पुग्ने प्रारम्भिक आकलन भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको छ ।
तेजस्वी यादवलाई मुख्यमन्त्रीको उमेदवार बनाएर चुनावी अभियान अघि बढाएको महागठबन्धन भने अपेक्षाकृत कमजोर परिणामतर्फ झरेको छ ।
अहिलेसम्म महागठबन्धनले २१ सिट जितेको छ । ११ क्षेत्रमा मात्र उसको अग्रता कायम छ, जसअनुसार महागठबन्धनले करिब ३२ सिटमा सीमित हुने संकेत देखिएको छ ।
यता अन्य राजनीतिक दलका ५ उम्मेदवार विजयी भएका छन् । यो परिणामले जेडियू नेता नितिशकुमार दसौँ कार्यकालका लागि बिहारको मुख्यमन्त्री बन्ने बाटो पूर्णरूपमा खुलेको छ ।
।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।