१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

एनपिएल २०२४ का सर्वाधिक सफल तीन ब्याटर, यसपालि पनि पुरानै टिमबाट दोहोरिँदै

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन आउँदो १ मंसिरदेखि सुरु हुँदैछ । प्रतियोगिताका लागि क्रिकेट संघ नेपाल (क्यान)ले आवश्यक तयारी पूरा गरिसकेको छ ।


सहभागी टिमहरू प्रशिक्षण, रणनीति निर्माण र विदेशी खेलाडी भित्र्याउने प्रक्रियामा व्यस्त छन् । नयाँ सिजन नजिकिँदै जाँदा समर्थकले पहिलो सिजन अर्थात् एनपिएल २०२४ को प्रदर्शन पुनः स्मरण गरिरहेका छन् । 



यही पृष्ठभूमिमा आजको सामग्रीमा गत सिजनमा सर्वाधिक रन बनाउने तीन उत्कृष्ट ब्याटरको प्रदर्शनबारे समीक्षा गरिएको छ । 

लाहिरु मिलान्था 



यो सूचीको शीर्ष स्थानमा श्रीलंकनमूलका अमेरिकाका ओपनिङ ब्याटर लाहिरु मिलान्थाको नाम आउँछ । उनी एनपिएलको पहिलो सिजनमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । मिलान्थाले १० खेलमा २ अर्धशतकको मद्दतमा २ सय ९३ रन बनाए । 

जनकपुर बोल्ट्स एनपिएलको ट्रफी जित्ने पहिलो टोली बन्नुमा लाहिरुको ठूलो योगदान छ ।

उनी सुदूरपश्चिम रोयल्ससँगको फाइनल खेलमा ८७ रनको पारी खेलेर ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए  उनी एनपिएलको दोस्रो सिजन पनि जनकपुरबाटै खेल्दै छन् ।  

रवि बोपारा



इंग्ल्याण्डका रवि बोपारा नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर हुन् । चितवन राइनोजबाट पहिलो सिजन खेलेका उनी टिमका सबैभन्दा सफल खेलाडी हुन् । उक्त सिजनमा बोपाराले ८ खेलमा ४१ को औसतमा २ सय ८६ रन बनाए ।
 
उमेरले ४० कटेका बोपारा अझैं पनि क्रिकेटप्रति धेरै लगाव राख्छन् । चितवन राइनोजका लागि उनले पहिलो सिजनमा अप्ठेरो परिस्थितिमा आएर तीन महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए ।

बोपारा एनपिएलको दोस्रो सिजन पनि चितवनबाटै खेल्दै छन् । 

रोहितकुमार पौडेल

सूचीको तेस्रो स्थानमा नेपाली राष्ट्रिय क्रिकेट टिम तथा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् । उनले एनपिएलको पहिलो सिजनमा लुम्बिनी लायन्सका लागि उत्कृष्ट प्रदर्शन गरे ।

उक्त सिजनमा राेहितले ७ खेलमा २ सय ७९ रन बनाए, जहाँ उनको ब्याटबाट २ अर्धशतक पनि आएको थियो ।

एनपिएल २०२४ मा उनले व्यक्तिगतरूपमा उत्कृष्ट प्रदर्शन गरे पनि टोलीले भने अपेक्षाकृत नतिजा हात पार्न सकेन । यसपटक रोहित व्यक्तिगत प्रदर्शनमा थप सुधार गर्दै टिमलाई च्याम्पियन बनाउन पूरा कोसिस गर्ने छन् ।  

  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया