२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

‘क्ल्याप’देखि ‘कट’सम्म : पर्दामुनि सहायक निर्देशकको भूमिका र सङ्घर्ष

चलचित्रमा पर्दामा देखिने कलाकारको अभिनयले दर्शकलाई मोहित बनाउँछ । तर, पर्दा पछाडि बसेर त्यही दृश्यलाई प्रभावकारी बनाउन खटिने प्राविधिक र सहायक निर्देशकहरूको योगदान भने प्रायः छायामा पर्छ ।

निर्देशकलाई चलचित्रको ‘कप्तान’ भनिए पनि यो यात्रामा साथ दिने सहायक निर्देशकहरू निर्देशककै दायाँ–बायाँ हातसरह हुन्छन् । उनीहरूकै योजनाबद्ध कामले छायाङ्कन सुचारु हुन्छ  । कलाकारको तालिमदेखि संवाद व्यवस्थापन, छायाङ्कन तालिका र दृश्यको निरन्तरतासम्म उनीहरूकै साथ हुन्छ ।



मुख्य सहायक निर्देशक फिरोज खड्काका अनुसार निर्देशक र कलाकारबीचको पुलको काम उनीहरूले गर्दै आएका हुन्छन् । फिल्म निर्माणमा खटिने प्राविधिक र सहायक निर्देशकहरूको योगदानबारे फिरोज भन्छन्, ‘सहायक निर्देशकको कामले चलचित्रको लय कायम राख्छ । हामी निर्देशकको भिजनलाई व्यवहारमा उतार्ने माध्यम हौँ ।’

डेढ दशकअघि ‘क्ल्याप ब्वाइ’बाट सुरु गरिएको यात्रामा खड्का अहिले चर्चित मुख्य सहायक निर्देशकको रूपमा परिचित छन्  । उनले ‘लूट’, ‘सेतो सूर्य’, ‘गुडबाइ काठमाडौँ’ र ‘राजगञ्ज’ जस्ता चलचित्रमा काम गरिसकेका छन् । पछिल्ला वर्षहरूमा उनी निर्देशक निश्चल बस्नेतको मुख्य सहायकको रूपमा निरन्तर काम गर्दै आएका छन् ।



‘राम्रो निर्देशकसँग काम गर्दा धेरै सिकिन्छ । हामीले हरेक सेटमा नयाँ कुरा बुझ्ने र आफूलाई परिपक्व बनाउने मौका पाउँछौं,’ फिरोज भन्छन् । 

डेढ दशकदेखि निर्देशन विभागमै सक्रिय अनिल खड्का पनि सहायक र मुख्य सहायक निर्देशकको भूमिकामा स्थापित नाम हुन् । फिरोजको जस्तै अनुभव उनीसँग छ । पर्दा पछाडि बसेर फिल्मलाई हिट बनाउने आफ्नो कामबारे उनी भन्छन्, ‘हामी निर्देशककै आँखा भएर काम गर्छौँ । कलाकार र निर्देशकबीच सहजता ल्याउने हाम्रो प्रमुख जिम्मेवारी हो । ’

हाल अनिल निर्देशनमा प्रवेश गर्ने तयारीमा छन् । तर आफूलाई सन्तुष्टि दिने कथा नपाएकाले अझ प्रतीक्षा गरिरहेको उनी बताउछन् । 

सहायक निर्देशकबाट निर्देशक बनेका वसन्त अधिकारीले उनकै शब्दमा ‘जानी नजानी’ चलचित्रमार्फत आफ्नो निर्देशन यात्रा सुरु गरेका थिए । तर, पहिलो चलचित्रपछि दोस्रो निर्देशन गर्न उनलाई पाँच वर्ष लागिसकेको छ । वसन्त भन्छन्, ‘पहिलो चलचित्रले दर्शकको मन जितेन भने दोस्रो मौका पाउन गाह्रो हुन्छ । सहायक निर्देशकहरूले प्रायः बजारमा आफूलाई प्रमोट गर्न सक्दैनन्, त्यसैले अवसर पाउन कठिन हुन्छ ।’



नेपालमा विदेशी चलचित्र उद्योगजस्तै निर्देशकहरूले आफ्ना सहायकलाई अघि बढाउने संस्कार अझै स्थापित हुन सकेको छैन । बलिउडमा सहायक निर्देशकहरूलाई नयाँ अवसर दिने चलन छ । तर नेपालमा लगानीको जोखिम लिन कोही तयार नहुने यो क्षेत्रकै कतिपयले बताउने गरेका छन् । 

यस्तै अनुभव सहायक निर्देशकहरू भद्र भुजेल, सम्राट शाक्य र मुस्कान ढकाललगायतका निर्देशकले पनि साटिरहेका छन् । उनीहरूका अनुसार सहायक निर्देशकबाट निर्देशक बनेपछि निरन्तरता दिन कठिन हुन्छ । सिनेमाको जगमा उभिएका यी ‘पर्दामुनिका नायक’हरूको योगदान निकै ठूलो छ । उनीहरूकै योजनाबद्ध मेहनतले निर्देशकको सपनालाई पर्दामा मूर्त रूप दिन सकिन्छ । तर, फिल्ममा चर्चा भने सधैँ पर्दाअगाडिका कलाकारमै सीमित छ ।  

  • प्रकाशित मिति : २९ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया