२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

नेपथ्यलाई जापानको नागोयामा भव्य स्वागत

सांगीतिक यात्राका क्रममा जापान पुगेको नेपथ्य ब्यान्डकाे समूहलाई जापानको नागोयामा भव्य स्वागत गरिएको छ ।  गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गी विरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई घण्टा लामो कन्सर्ट भर निरन्तर रह्यो ।

एक साताअघि मात्रै पोखराको रंगशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको छ । छेउछाउको ओसाकामा पहिले पनि प्रस्तुति दिइसकेको नेपथ्यले नागोयामा पहिलो पटक कन्सर्ट गरेको हो ।



जापानकै सबैभन्दा ठूलो बन्दरगाह अटाएको यस औद्योगिक सहरमा मुलुककै चौथो ठूलो जनसंख्या छ । यो सहर आगामी वर्ष बिसौँ एसियाली खेलकुद आयोजना गर्ने हतारोमा पनि जुटेको छ । त्यसैले अवसरको खोजीमा पुगेका नेपालीको बसोबास यहाँ उल्लेख्य संख्यामा छ ।

जापानका प्रमुख शहरहरूसँग तीव्र गतिका बुलेट ट्रेनले जोडिएको नगर पनि हो नागोया । त्यही बुलेट ट्रेनमा डेढ घण्टा लामो यात्रा गरेर नेपथ्य हेर्नकै लागि सिजोउकादेखि आएकी थिइन् मन्जिता राई ।



‘साथीहरुले सँगै हेरौँ भनेपछि म जीवनमै पहिलोपटक कन्सर्टको अनुभव लिन यहाँ आइपुगेकी हुँ,’ १० वर्षअघि इलामबाट जापान आएकी उनले भनिन्, ‘साथीहरूको बखान सुनेर मैले जे जस्तो कल्पना गरेकी थिएँ, कन्सर्टलाई  त्योभन्दा धेरै गुणा राम्रो पाएँ । एकदमै आनन्द आयो ।’

५० भन्दा बढी नेपाली रेस्टुरेन्ट भएको नागोयामा बर्सेनि नेपाल फेस्टिवल आयोजना हुने गरेको छ । पछिल्लो समय क्रिकेटले लोकप्रियता पाइरहँदा स्थानीय स्तरमा हुने प्रतियोगिताहरूमा यहाँका नेपाली टोलीले पनि सहभागिता जनाउने गरेका छन् ।

अध्ययनका लागि नागोया आएका नेपालीको संख्या उल्लेख्य मात्रामा बढेसँगै अतिरिक्त क्षेत्रमा पनि उनीहरूको सक्रियता देखिन थालेको हो । कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर देशप्रतिको दायित्व निभाइदिन अपिल गरे । नेपथ्यले अन्त्यमा ‘रातो र चन्द्रसुर्जे’ सुनाएर बिदा मागेको थियो ।



नागोयाको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापकको टोली अबको प्रस्तुतिका लागि राजधानी सहर टोकियो पुग्दै छ । जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा १८ नोभेम्बर मंगलबार नेपथ्य उभिनेछ । अन्तर्राष्ट्रिय पहिचान बनाएको यस हलमा ब्यान्ड दोसो पटक प्रस्तुत हुन लागेको हो । सात वर्षपहिले त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो ।

राजधानी सहरमा प्रस्तुत भएको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्डले ओसाका शहरका दर्शकलाई गीत सुनाउनेछ । दर्शक सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूको टिकट अनलाइनबाट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

 

  • प्रकाशित मिति : २९ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया