नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रुपन्देहीले जनाएको छ ।
राजनीतिक अस्थिरता र नेताहरूको मनोमानीका कारण वाक्क भएका आम नागरिकहरूमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले राजनीतिक दल र ती दलमा आबद्ध नेताहरूप्रति थप वितृष्णा उपन्न गराएको छ । प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै पुराना दलहरु पुनः नेपाली जनताको साथ र विश्वास जित्ने प्रयास गरिरहेका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।
उनका अनुसार आजको जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् ।
यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरेका छन् ।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए ।
यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।