मैले कहिल्यै सोचिनँ, जीवनले यत्तिको ठूलो चोट एकैसाथ दिइजान्छ भनेर ।
गत भदौ २३ गते साँझ म भारतको बैङ्ग्लोरमा साहूको घरमा भाँडा माझ्दै थिएँ । हतार–हतार दिनभरको काम पुरा गर्दै थिएँ । छोरासँग भोलिपल्ट कुरा गरुँला भन्ने मनमा थियो।
त्यही बेला बझाङबाट फोन आयो- आवाज काँपिरहेको थियो। ‘कैली, तेरो छोरा सुभाष… अब यो संसारमा रहेन।’
म त्यसपछि के–कसरी बसेँ, सम्झनै सक्दिनँ । हातमा रहेको गिलास पानीसँगै भुइँमा खसिगएछ । मेरो सासै कसैले चुँडेर लगेजस्तै भइगएछ । मलाई लाग्यो- म एउटी आमाको आधा जिन्दगी त्यही घडीमा सकियो ।
मेरा जेठो छोरा सुभाष काठमाडौँमा जेनजी आन्दोलन भइरहँदा लागेको गोलीले ढलेछ। मैले त उनलाई राम्रो पढोस्, राम्रो भविष्य बनाओस् भनेर घर छाडेर परदेशिएको थिएँ । म रोजगारीका लागि दश महिनाअघि बैङ्ग्लोर पुगेकी थिएँ।
त्यही परदेशमा बस्दा पनि म छोरासँग प्रत्येक दिन भन्थेँ- ‘दसैँमा घर फर्किन्छु है, भाइ सन्दीपलाई राम्ररी हेरिदेऊ ।’ भदौ २२ को रात हामी दुवैले मुस्कुराउँदै फोनमा यी कुरा गरेका थियौँ। त्यो नै अन्तिम कुराकानी रहेछ।
छोराको मृत्युको खबर सुन्येबित्तिकै संसार नै अन्धकार भयो । म काम गर्ने ठाउँमा कसरी सम्हालिए मलाई अहिले पनि थाहा छैन । पछिल्लो दिन त्यहाँका नेपालीहरूले पैसा मिलाइदिए। यही सहाराले म काठमाडौं आइपुगेँ।
अब म सिनामङ्गलको एउटा साँघुरो डेरामा कान्छो छरा सन्दीपसँग बस्दै छु । सन्दीप अहिले ९ कक्षामा पढ्दै छ। एउटा म्याडमले मन दिएर तीन वर्ष स्कुलमा पढाइदिन्छु भनेकी छिन्।
मलाई यत्रो आपतविपद् पर्दा पनि राज्यतर्फबाट कोही केही सोध्न–बुझ्न आएन। सञ्चो–विसञ्चो सोध्ने एउटा मान्छेसमेत आएन । मानौँ, सुभाषसँगै हाम्रो अस्तित्व पनि छायाँमा हरायो।
सन्दीप दिनभर गुम्सिएर बस्छ । कहिलेकाहीँ उसको आँखाबाट आँसुको वर्षा झर्छ, म लुकाएर पुछ्छु । म उसलाई सम्हालूँ कि आफूलाई सम्हालूँ- थाहा छैन।
डेराको भाडा महिनाको ६ हजार पर्छ। कान्छो छोरोलाई खान, बस्न, स्कुल पठाउन कसरी जोहो गर्ने ? दिमाग दिनभर यही चिन्ताले भरिन्छ।
गत वर्ष श्रीमान् दीपक हराउनुभयो। बैङ्ग्लोरमै मजदुरी गर्नुहुन्थ्यो। बझाङबाट धनगढी झरेपछि सम्पर्क नै टुट्यो।
दुई सन्तानको भविष्य बचाउनसोचेरै म बैङ्ग्लोर पुगेकी थिएँ । त्यहाँका घरघरमा भाँडा माझेर महिनामा २० हजार जति हात पर्थ्यो। दसैँमा घर आउँछु भनेर छोरालाई १० हजार पठाएकी थिएँ।
सुभाषले ‘आमा, केही दिनपछि पठाए हुन्छ’ भनेको आवाज अहिले पनि कानमा गुन्जिरहन्छ।
अहिले आएर बुझिरहेकी छु - जिन्दगीले कहिले, कुन भाग खोसेर लैजाँदो रहेछ ठेगान नहुनी । पहिले श्रीमान् हराए, जेनजी आन्दोलनको नाममा जेठो छोरो ढल्यो । म भने बाँच्न त बाँच्छु, तर कसरी? यही प्रश्नले दिनरात चिसो बनाउँछ।
यदि कुनै दिन सुभाष फर्किएर ढोकामा उभिएको देखेँ भने कति रोएर अँगालो हाल्थेँ हुँला… तर त्यो सपना अब सपनामात्रै हुनेछ, मन भने मान्दैन । सन्तान गुमाउनु भनेको आधा आत्मा गुमाउनु रहेछ।
छोरा गइहाल्यो । दुःखबिपत्तिमा साथ दिने कोही भएन । सुभाषले सहादत पाएपछि ‘तिम्रो हालखबर के छ?’ भनेर सोध्ने कोही भएन ।
राससका शेरबहादुर सिंहले जेनजी आन्दोलनका सहिद सुभाष बोहराकी आमा कैलीदेवी बोहरासँग कुरा गरेर तयार गरेको सामग्रीमा आधारित
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।