७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

एनपिएल-२ मा कुन देशका खेलाडी कति ?

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन सोमबारदेखि सुरु हुँदैछ । दोस्रो संस्करण गत सिजनभन्दा थप भव्य हुनेछ ।

यसपालि क्रिकेट मैदानले रंगशालाको आकार लिएको छ । दर्शकले कुर्सीमा बसेर आरामले खेलको आनन्द उठाउने छन् । साथै केही म्याच रातिको समयमा खेलाइने छ ।



यस्तै, एनपिएलको दोस्रो सिजनमा थप चर्चित विदेशी खेलाडी अनुबन्ध भएका छन् ।



एनपिएलको नियमअनुसार प्रत्येक टोलीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । र, उनीहरूमध्येबाट चार खेलाडीले प्लेइङ–११ मा मौका पाउने छन् ।

एनपिएल २०२५ मा अनुबन्ध भएका विदेशी खेलाडी :

यसपालिको एनपिएलमा लोकप्रिय स्टार विदेशी खेलाडी भित्र्याउने सूचीमा विराटनगर किंग्स शीर्ष स्थानमा रह्यो, उसले दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसलाई अनुबन्ध गरेर एनपिएलको चर्चा ह्वात्तै बढाएको छ ।

फाफ पहिलोपटक एनपिएलमा जोडिन लागेका हुन् ।



विराटनगरले उनीसहित न्यूजिल्याण्डका स्टार मार्टिन गप्टिल, स्कटल्याण्डका जर्ज मुन्सी, दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्गे, अस्ट्रेलियाका साम हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई विदेशी कोटाबाट भित्र्याएको हो ।

फाफ डुप्लेसिस

उनीहरूमध्ये गप्टिलले गत सिजनमा पनि विराटनगरका लागि खेलेका थिए । चर्चित विदेशी खेलाडी भित्र्याएको विराटनगर यसपालि उपाधि दाबेदार टोलीको सूचीमा अंग्रपङ्तिमा छ ।

दोस्रो सिजनको एनपिएलमा पोखरा एभेन्जर्स पनि विदेशी स्टार भित्र्याउने मामलामा अगाडि छ । उसले यसपटक विदेशी कोटाबाट न्यूजिल्याण्डका स्टार जिमी नीशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिङ्टन, ड्यानडौथवेट र वेस्ट इण्डिजका रेयमन रेइफरलाई अनुबन्ध गरेको छ ।

उनीहरूमध्ये रोय र रोसिङ्टनले पहिलोपटक एनपिएल खेल्न लागेका हुन् । विदेशी खेलाडी अनुबन्धपछि पोखराको टोली सन्तुलित देखिएको छ । ऊ यसपटक गत सिजनको प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने योजनामा छ । 

जेसन रोय

एनपिएल २०२४ को उपविजेता टोली सुदूरपश्चिम रोयल्सले पनि यसपालि स्टार खेलाडी भित्र्याएको छ । उसले विदेशी खेलाडीको रूपमा अस्ट्रेलियन आक्रामक ब्याटर क्रिस लिन र जोस ब्राउन तथा न्यूजिल्याण्डका अलराउन्डर स्कट कुग्लाइन र अमेरिकाका हरमित सिंहलाई भित्र्याएको हो ।

उनीहरूमध्ये क्रिस लिन र जोस ब्राउन पहिलोपटक एनपिएलमा देखिने छन् । 

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले पनि उपाधि रक्षा गर्न चर्चित विदेशी खेलाडी अनुबन्ध गरेको छ । उसले दक्षिण अफ्रिकाका स्टार इमरान ताहिर, वेन पार्नेल, श्रीलंकाका लाहिरु मिलान्था, लाहिरु समरकून, संगीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई अनुबन्ध गरेको हो ।

इमरान ताहिर

यसपालि जनकपुरले सात विदेशी खेलाडी भित्र्याएको छ । इरान ताहिर पूरा सिजन उपलब्ध नहुने भएकाले जनकपुरले सात विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

चितवन राइनोज पनि चर्चित विदेशी खेलाडी भित्र्याउने मामलामा अगाडि छ । उसले दोस्रो सिजनका लागि इंग्ल्याण्डका रवि बोपारा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानका सोहेल तनवीर र युगान्डाका अल्पेस रामजानीलाई अनुबन्ध गरेको हो । 

उनीहरूमध्ये रवि र सोहेलले गत सिजनको एनपिएल पनि चितवनको जर्सीमा खेलेका थिए । अनुभवी खेलाडी अनुबन्ध गरेको चितवन यसपालि सुधारिएको प्रदर्शन गर्दै उपाधि जित्ने रणनीतिमा छ । 

रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी लायन्सले पनि एनपिएल २०२५ मा स्टार विदेशी खेलाडी भित्र्याएको छ । उसले विदेशी कोटाबाट अस्ट्रेलियाका डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितलाई अनुबन्ध गरेको हो । 

डार्सी सर्ट

उनीहरू सबैले पहिलोपटक एनपिएल खेल्न लागेका हुन् । गत सिजनमा निकै खराब प्रदर्शन गरेको लुम्बिनी यसपालि सानदार पुनरागमनको खोजीमा छ ।

यस्तै, पहिलो एनपिएल उपाधिको खोजीमा रहेको अर्को टोली काठमाण्डु गोर्खाजले पनि केही चर्चित विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

उसले यसपालि विदेशी कोटाबाट इंग्ल्याण्डका जोन सिम्पसन, बेन चार्ल्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारतका सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको हो ।

उनीहरूमध्ये इरास्मसले मात्र गत सिजनको एनपिएल खेलेका थिए ।

Gerhard Erasmus

त्यस्तै, एनपिएलको अर्को टोली कर्णाली याक्सले पनि विदेशी कोटाबाट अधिकतम् ६ खेलाडी अनुबन्ध गरेको छ । उसले अस्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पान्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो । 

गत सिजनमा तेस्रो स्थान हासिल गरेको कर्णाली यसपालि उपाधि जित्ने लक्ष्यमा छ ।

  • प्रकाशित मिति : ३० कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया