दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज खेल्ने तालिका छ ।
यी दुई टोलीबीचको खेल सोमबार अपरान्ह ४ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंशगालामा सुरु हुनेछ ।
जनकपुर र काठमाण्डु जितका साथ लिगको सुरुवात गर्ने योजनामा छन् ।
गत सिजनको प्रदर्शनको कुरा गर्दा काठमाण्डुविरुद्ध जनकपुरले ५ विकेटको सहज जित निकालेको थियो । उक्त म्याचमा पहिला ब्याटिङ गरेको काठमाण्डु १९.३ ओभरमा १०१ रनमै अलआउट भयो ।
काठमाण्डुलाई सस्तैमा रोक्न स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले त्यस खेलमा चार ओभरमा २ मेडनसहित ८ रन मात्र दिएर तीन विकेट लिए । जनकपुरले १०५ रनको लक्ष्य १५.५ ओभरमा पूरा गरेको थियो ।
ऊ यसपालि पनि काठमाण्डुविरुद्धको जित यात्रा जारी राख्न चाहन्छ । यता काठमाण्डु गत हारको बदला लिँदै जनकपुरलाई स्तब्ध पार्ने दाउमा छ । काठमाण्डुले गत संस्करणको एनपिएलमा सातमध्ये चारमा जित र तीन खेलमा हार बेहारेको थियो ।
ऊ नेट रन रेटमा पछि पर्दा प्लेअफमा पुग्न असफल भयो । जनकपुरले भने सानदार प्रदर्शन गर्दै उपाधि नै जित्यो । ऊ यसपालि उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।