नाम: सुरेश, उमेर: २० वर्ष, काम: कवाडी संकलन

नामः सुरेश चौधरी

घरः झापा

अहिलेको बसोबासः कुनै टुङ्गो छैन 

वर्षः २० 

सहरमा पात्रहरु बर्गेल्ती भेटिन्छन् । झन्, अहिले त मिडियामा छाउने परम्परामा अनेक पात्रहरु अनेक हत्कन्डा गरिरहेका हुन्छन् । 

तर, सुरेश सितिमिति सबैको नजरमा पर्ने पात्र होइनन् । उनी आफैं पनि मिडियासँग गफिन खासै चाहँदैनन्, मिडियाले पनि उनलाई स्पेस दिने कुरै भएन । 



२० वर्षे यी युवा कुनै उद्यम गरिरहेका छैनन्, कुनै उदाहरणीय काम गरिरहेका छैनन् । तर, उनकै शब्दमा भन्ने हो भने उनी बिन्दास जीवन बाँचिरहेका छन् । यसको अर्थ उनको सिको गरेर बिन्दास जीवन बाँचौँ भन्ने पनि होइन ।

झापामा जन्मिएका सुरेश २०६५ सालमा काठमाडौं आए । काठमाडौंमा आइपुगेपछिको उनको जीवनमा खासै कथा भेटिँदैन, उनले केही गरेका छैनन् । उनी त केवल दिनहरु बिताइरहेका छन् । 



तर, काठमाडौंको त्यो यात्राभन्दा अगाडि सुरेशको परिवारको कथा अरु नेपाली परिवारसँग पनि मेल खान सक्छ ।

खासमा सुरेशका बाबु ‘जँड्याहा’ थिए । उनलाई दैनिक रक्सी चाहिन्थ्यो । मदिरा पिएर घर आएपछि सुरेश र सुरेशकी आमामाथि उनी जाइलाग्थे । सुरेशका दाइभाइहरु पनि उनका बाबुको शिकार बन्थे ।

बाबुको लगातार ‘टर्चर’का कारण सुरेशले झापा छाडे । स्कुल त जान थालेका थिए सुरेश, तर उनको पढाइ खासै गतिलो तरिकाले अगाडि बढेको थिएन । दुई कक्षा पढिसकेपछि घरको माहोलले गर्दा सुरेश चोरीचकारीमा लागे ।

काठमाडौं आएपछि चाहिँ उनले चोर्न छाडे । तर, हातमुख त जोड्नै पर्यो । सुरेशले पानीका बोतल, फोहोरमा फालिएका रिसाइकल हुनसक्ने सामाग्री संकलन गर्न थाले । उनको नयाँ परिचय बन्यो– कवाडी ।

बुधबार माइतीघर मण्डलमा हजारौँ मानिस भेला भएका थिए । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा हजारौँले माइतीघरमा पानी पिए, बोतल यसै फालिदिए । तिनै बोतल संकलन गर्दा गर्दै भेटिएका थिए, सुरेश । 

‘आजको यहाँको र्यालीले मलाई चाहिँ निकै फाइदा भयो,’ उनले भने, ‘यो बोरा भरिएपछि म यहाँबाट जान्छु ।’ 

तर, यतिमात्र होइन, सुरेशलाई थाहा रहेछ, त्यहाँ बुधबार गुठी विधेयकको विरोध भइरहेको थियो । ‘गुठीको विरोध हो रे,’ उनले भने, ‘मलाई त यस्ता कुराहरुसँग कुनै सरोकार छैन ।’

आज कति किलो बटुल्नुभयो त ? हामीले यत्तिकै सुरेशलाई प्रश्न गर्यौँ । 

‘२० किलो त पुग्छ होला,’ उनले भने, ‘यसले मेरो आजको छाक टर्छ ।’

त्यसपछि बल्ल खुल्न थाले सुरेश । सुरेशको यो कथा धेरैलाई पट्यार लाग्न सक्ने कथा हुनसक्छ । 

तर, हामीले भारतीय पत्रकार विनोद मेहतालाई सम्झियौँ । मेहताले बेलयातमा अध्ययन सकेर फर्किएपछि मुम्बइमा कामको खोजी गरिरहेका थिए । एकदिन उनको दिमागमा फुर्यो– एउटा सामान्य मानिसको आत्मकथा लेखूँ । 

उनले लेखे । त्यो आत्मकथा हिट भयो । खासमा उनले त्यसबाट समाजलाई बुझाउन खोजेका थिए, समाजमा ससाना काम गरिरहेका मानिसहरुको पनि उत्तिकै महत्व हुन्छ । 

सुरेश पनि ‘सानो’ काम गर्छन्, सडकमा फालिएका खाली बोतल र प्लास्टिक बटुल्छन् । तर, यो उनको समाजका लागि राम्रो योगदान हो । समाजमा यस्ता पात्रको आवश्यकता नहुँदो त समाज झन् सुन्दर हुने थियो । तर, जब हाम्रो जस्तो समाज फोहोरबाट प्रताडित भइरहेको हुन्छ, त्यस्ता क्षणमा सुरेशहरुको योगदान पनि चर्चा गर्नु पर्ने हुन्छ ।

सुरेशहरु हुँदैनथे भने काठमाडौंका गल्लीहरुमा फोहोर डङ्गुर थुप्रिने थियो । काठमाडौंका गल्लीहरुलाई हिँड्न लायक बनाउन दुई कुराको आवश्यकता छ । पहिलो हो, आम मानिसमा जागरुकता । हामीले आफूले प्रयोग गरेको सामानबाट निस्किने फोहोर कहाँ र कसरी फाल्दैछौँ भन्ने कुरामा सचेत हुन जरुरी छ । यो सचेतताको अभाव हुँदा सुरेशहरुको आवश्यकता झल्किन्छ । 

हुन त बुधबारको विरोध र्यालीमा अन्यले पनि त्यस ठाउँ सरसफाइ गरेका थिए, तर सुरेशले त्यसमा थप सहयोग गरे । त्यसैले पनि उनी हाम्रो नजरमा परे, उनीसँग कुरा गर्न हामीले केही समय निकाल्यौँ । 

‘एउटा दाइले भनेर काठमाडौं आएको,’ उनले भने, ‘त्यति बेला म नौ वर्षको मात्र थिएँ, दुई कक्षा पढेको थिएँ । घरमा पढ्ने होइन, बस्ने माहोल पनि थिएन ।’

राती झापाबाट बस चढेका सुरेशलाई बिहान बसले बसपार्कमा झारिदियो । त्यसपछि काम खोज्न हिँडे सुरेश । 

पहिले होटलमा गरे, त्यहाँ उनले झन् ठूलो मानसिक दबाब झेले । त्यसपछि भवनहरुमा रंगरोगन गर्न थाले, मजदूरी गरे । 

‘ती सब काम मन परेनन्,’ उनले भने, ‘अहिले कवाड खोज्छु, यसमा खुसी छु ।’

अरु सब काम गर्दा सुरेश बेलाबेलामा भोकै हुन्थे । तर, जब कवाड संकलन गर्न थाले, उनले कुनै पनि रात भोकै सुत्नु परेको छैन । ‘भोकै सुत्न नपरेपछि भइहाल्यो नि,’ उनले भने, ‘अरु काममा साहुले पेल्छन्, राती भोकै सुत्नुपर्छ, यो त आफ्नै बलले गर्ने काम हो, कसैले पेल्दैन र राती भोकै सुत्नु पर्ने अवस्था पनि आउँदैन ।’

त्यसो त योबीचमा केही मानिसहरुले सुरेशलाई अफर गरेका छन्– काम गर्न आउनू । 

‘यहाँ ठूला बिल्डिङ भएका मान्छेको मन सानो छ,’ उनले यो समाजलाई पनि आफ्नै तरिकाले बुझेका छन्, ‘मलाई त्यसरी काम गर्न मनै छैन, मेरो बानीले अब त्यस्तो काम गर्न पनि दिँदैन ।’ सुरेशले के स्वीकारेका हुन् भने उनी नराम्रो लतमा फँसिसकेका छन् । 

त्यसैले त उनी यही लतमा लागिरहेका छन्, यही काममा लागिरहेका छन् । उनी घर फर्किएर जान पनि चाहँदैनन् । 

‘एकपटक मेरो दाइसँग अचानक बाटोमा भेट भयो,’ उनले भने, ‘बानेश्वरमा, घरमा जाम भनेको थियो तर म गइनँ । घर गएर के गर्ने ? आफ्नो बानी अर्कै भइसक्यो ।’

यसको अर्थ के होइन भने सुरेश घरलाई सम्झिँदैनन् । उनको मनमा त आमाले गर्ने माया स्थिर तलाउमा ढुङ्गा फाल्दा निस्कने तरङ्गजस्तै बारम्बार हल्लिरहन्छ । ‘आमाको याद त आउँछ,’ उनी भन्छन्, ‘आमाको माया त थाहा छ, तर फोन नम्बर थाहा छैन । मसँग पनि फोन छैन ।’

त्यसपछि सुरेशले आफैं थपे, ‘मेरो यो दुनियाँमा फेरि आमा नै चाहिँदैन ।’

अब सुरेश आफूले बटुलेका बोतलको थैलो लिएर हिँड्न थाले । 

कहाँ जाने ? हाम्रो अन्तिम प्रश्न उनीमाथि थियो । 

‘यो बेच्ने,’ उनले छिटोछिटो भने, ‘अनि आफ्नै दुनियाँमा ।’

  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १९:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया