१ माघ, २०८२ बिहीबार
Jan. 15, 2026

व्यावसायिक क्रिकेटको नयाँ युग : एनपिएल दोस्रो संस्करणले नेपालतर्फ तान्यो विश्वको नजर

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ ।

फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरूका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ ।



नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतिक्षाको संकेत मान्न सकिन्छ

नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतिक्षाको संकेत मान्न सकिन्छ । 



यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपविजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गाेर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ । यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । प्रतियोगिता ‘राउण्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ भने त्यसपछि हुने ‘प्ले अफ’ खेलहरूले प्रतियोगिताको नतिजा निर्धारण गर्नेछ ।

मार्की खेलाडीहरू 

यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरूमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गाेर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राईनोजका कुशल मल्ल, विराटनगर किङ्सका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् । मार्की खेलाडीहरूले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिँदैछ । टिममा परेका अन्य खेलाडीहरूलाई रु एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिनेछ ।

विदेशी खेलाडीहरूको सहभागिता 



एनपिएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरू एकै टिममा आबद्ध भई यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सहभागी आठवटै टिमले टेष्ट म्याच खेल्ने तथा एशोशिएट राष्ट्रका खेलाडी आ–आफ्नो टिममा भित्र्याउन ठूलो लगानी गरेका छन् । एनपिएल क्रिकेटमा भारत, अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका खेलाडीहरू विभिन्न नेपाली टिममा आबद्ध भएका छन् । क्यानले हरेक टिममा बढीमा चार विदेशी खेलाडी खेलाउन सक्ने अनुमति दिएको थियो । 

विदेशी प्रशिक्षक पनि 

केही टिमले विदेशी प्रशिक्षकलाई समेत टिममा अनुबन्धित गराएको छ । नेपाली स्पिनर सन्दिप लामिछानेको खेल जीवनमा महत्वपूर्ण भूमिका निभाएका श्रीलंकाली मूलका क्यानडाली प्रशिक्षक पुबुदु दशानायके यसपालि सन्दिप कप्तान रहेको विराटनगर किङ्गस टिममा मुख्य प्रशिक्षकको रुपमा आबद्ध रहेका छन् । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभव हासिल गरिसकेका उनको प्रशिक्षणमा गतबर्ष जनकपुर बोल्डस टिमले एनपिएल क्रिकेटको पहिलो संस्करण जितेको थियो । यसपालि जनकपुरले सिभनराइन चन्दरपललाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ । 

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक  बनिसकेका भारतीय नागरिक मोण्टी देसाई यसपालि काठमाडौँ गाेर्खाज टिमको प्रशिक्षणमा व्यस्त छन् । चितवन राइनोजले कलाम अली, पोखरा रेन्जर्सले राजीव कुमार, लुम्बिनी लायन्स टिमले टिनु योहान्नान जस्ता विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् ।

प्रतियोगिताका लागि नेपाली प्रशिक्षकले पनि टिम सम्हालिरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हालिसकेका जगत टमाटाले सुदूरपश्चिम रोयल्स तथा नेपाली क्रिकेट टिमको कप्तान तथा प्रशिक्षणको जिम्मेवारीमा रही कार्य गरिसकेका ज्ञानेन्द्र मल्लले कर्णाली याक्सको मुख्य प्रशिक्षकको रुपमा कार्य गरिरहेका छन् ।

नयाँलाई पनि अवसर 

एनपिएल क्रिकेटका आठवटै सहभागी टिमले आफ्नो क्षेत्रमा रहेका विभिन्न जिल्लामा प्रतिभाहरूको छनोट गरी प्रतिभाशाली खेलाडीहरूलाई टिममा समावेश गरेका छन् । उपयुक्त अवसर नपाएर स्थानीय तहमै सीमित रहेका युवा खेलाडीहरूले एनपिएल क्रिकेटमा नेपालका राष्ट्रिय खेलाडीहरूका साथै विदेशीसंग समेत एउटै टिममा खेल्न पाउनु उनीहरुको खेल जीवनकै महत्वपूर्ण अवसर हो ।

यस्ता प्रतियोगिताको माध्यमबाट उनीहरू भोलि राष्ट्रिय टिममा प्रवेश गर्न सक्नेछन्, प्रतिभाशाली खेलाडीलाई खेल जीवनमा छलाङ मार्ने प्रवेशद्वारका रुपमा यस प्रतियोगितालाई हेरिएको छ 

यही प्रतियोगिता सिक्ने तथा आफ्नो खेल कौशल देखाउने महत्वपूर्ण मौका हो । यस्ता प्रतियोगिताको माध्यमबाट उनीहरू भोलि राष्ट्रिय टिममा प्रवेश गर्न सक्नेछन् । प्रतिभाशाली खेलाडीलाई खेल जीवनमा छलाङ मार्ने प्रवेशद्वारका रुपमा यस प्रतियोगितालाई हेरिएको छ । 

ठूलो पुरस्कार राशि 

एनपिएल प्रतियोगिताको विजेता टिमले गत वर्ष जस्तै रु एक करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले रु ५१ लाख, तेस्रो हुने टिमले रु २५ लाख तथा चौथो हुने टिमले रु १५ लाख रकम पुरस्कार पाउने छन् । यस्तै विभिन्न विधाका खेलाडीलाई नगद तथा मोटरसाइकल आदि पुरस्कार प्रदान गरिनेछ । पुरस्कारहरू अझै घोषणाको क्रममै रहेका छन् ।  

विश्वकपको तयारी 

एनपिएल क्रिकेट प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि आगामी विश्वकपको तयारीको महत्वपूर्ण अवसरका रुपमा पनि हेरिएको छ । सन् २०२६ मा भारत तथा श्रीलंकामा आयोजना हुने टि–ट्वाण्टी विश्वकपको छनोट चरणमा अपराजित हुँदै समूह विजेताका रुपमा तेस्रोपटक विश्वकपमा प्रवेश गर्न सफल नेपाली टिमका सबै जसो खेलाडी विभिन्न टिमका तर्फबाट एनपिएल क्रिकेटमा मैदानमा उत्रिंदैछन् । 

करिब एक महिनासम्मको अवधिमा एनपिएल क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरूले स्वदेशी तथा विदेशी खेलाडीहरूसंग अभ्यास गर्नुका साथै खेल कौशल सिक्ने अवसर पाउने छन् । केही महिनादेखि नै अत्यन्त व्यस्त तालिकामा रहेको नेपाली राष्ट्रिय टिमलाई एनपिएल लगत्तै टेस्ट खेल्ने राष्ट्रसँग दुई देशीय वा त्रिदेशीय श्रृङ्खला खेलाएर थप अभ्यास गराउने लक्ष्य क्यानले राखेको छ । यसका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हालै भारतको नयाँ दिल्लीमा इण्डियन क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष जय शाहसँग भेट गरेका थिए ।

सरकारको प्राथमिकतामा क्रिकेट

एनपिएलको दोस्रो प्रतियोगिताका लागि लामो समयदेखि तयारी सुरु गरिएको थियो । विशेषगरी प्रतियोगिता स्थल कीर्तिपुर रङ्गशालामा निर्माण तथा मर्मत सम्भारका लागि केही महिनादेखि नै कार्य प्रारम्भ गरी सरकारी तबर बाटै अनुगमन गरिएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सम्बन्धित ठेकेदारले जरिवाना समेत ब्यहोर्नु परेको थियो । क्रिकेट सुरु हुने अन्तिम चरणमा समेत काम भइरहेको कीर्तिपुर रङ्गशालामा निर्माणका लागि नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरी अन्तर्राष्ट्रियस्तरको मैदानका रुपमा परिणत गर्ने प्रयास गरेको छ । 

क्रिकेट सुरु हुने अन्तिम चरणमा समेत काम भइरहेको कीर्तिपुर रङ्गशालामा निर्माणका लागि नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरी अन्तर्राष्ट्रियस्तरको मैदानका रुपमा परिणत गर्ने प्रयास गरेको छ

कीर्तिपुर रङ्गशालामा वर्षौदेखि मानिसहरू घाँसे वा धुले मैदानमा बसेर वा रुखमा चढेर खेल हेर्ने गर्दथे । अब त्यो अवस्था रहेन । कीर्तिपुर रङ्गशालामा पुनः निर्माणपछि दर्शकहरुले विभिन्न रङ्गिन सिटमा बसेर खेलको आनन्द लिन पाउने भएका छन् । कीर्तिपुर रङ्गशालाको दर्शक क्षमता करिब १० हजार रहेको छ । यसपालि एनपिएल क्रिकेट प्रतियोगिताका बेला प्रत्येक खेलमा करिब आठ हजार टिकट बिक्री गरिदैं छ ।

सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालालाई भविष्यमा अझ विस्तार गरी ठूलो बनाउनका लागि गुरु योजना स्वीकृत गरिसकेको छ । गुरु योजना बमोजिम रङ्गशाला निर्माण गर्न करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ । गुरु योजना अनुसार निर्माणपछि कीर्तिपुर रङ्गशालाको दर्शक क्षमता २५ हजार बनाइने लक्ष्य राखिएको छ । 

पहिलो खेल रातीमा 

नेपालको क्रिकेट इतिहासमा पहिलोपटक रातिको समयमा फ्लडलाइटमा खेल हुँदैछ । एनपिएल क्रिकेटका खेलहरू दिउँसो तथा रातिको समयमा सञ्चालन गरिँदैछ । कीर्तिपुर रङ्गशालामा छ वटा पोलमा जडान गरिएका फ्लडलाइटका टावरहरूबाट उज्यालो भएपछि नेपाल पनि अब राति पनि क्रिकेट प्रतियोगिता गर्न सक्षम भएको छ ।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

यसपालि एनपिएल क्रिकेटका खेलहरू स्टार स्पोर्ट्स टेलिभिजनमार्फत विभिन्न मुलुकमा हेर्न सकिने भएको छ । यसैगरी नेपाली च्यानलले पनि क्रिकेटको प्रत्यक्ष प्रसारण गर्दैछन् । नेपाल प्रिमियर लिग अन्तर्गतको जति पनि विज्ञापन दाता तथा प्रायोजकको विज्ञापन नेपाली च्यानलमा मात्र आउने व्यवस्था मिलाइएको छ । स्टार स्पोर्टसको प्रत्यक्ष प्रसारणमा भने गत वर्ष जस्तै विज्ञापन रहित क्लिन फिड दर्शकहरुले देख्न सक्नेछन् । यस्तै ओटिटी तर्फ डिजिटल फर्ममा क्लिन फिड आउने भएको छ ।

प्रख्यात कमेण्टेटरहरु पनि 

नेपाली क्रिकेटप्रेमीहरु माझ लोकप्रियता कमाएका क्रिकेट कमेण्टेटर एण्ड्रु लियोनार्डले यसपालि एनपिएल क्रिकेटमा टेलिभिजन कमेण्टेटरको भूमिका निभाउँदैछन् । नेपाललाई आफ्नो दोस्रो घर भनेर बनाउने एण्ड्रुले केही वर्षदेखि नेपालले खेलेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारणमा उद्घोषण गरेका छन् । उनको विशेषता भनेको प्रत्यक्ष प्रसारणको क्रममा नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको प्रशंसा गर्नु हो ।

यस्तो कार्यबाट मुलुकमा नयाँ पर्यटकहरू भित्र्याउन निकै सहयोग पुग्ने जाने अपेक्षा गर्न सकिन्छ । इण्डियन प्रिमियर लिग एपिएल क्रिकेटमा टेलिभिजन कमेण्टेटरका रुपमा संलग्न भएका भारतीय सञ्चारकर्मी आकाश चोपरा एनपिएलको टेलिभिजन प्रत्यक्ष प्रसारणमा कमेण्टेटरको रुपमा संलग्न हुँदैछन् । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एचडी एकरमान, इङ्ग्ल्यान्डका पूर्व फास्ट बलर डारिन गोह पनि टेलिभिजन कमेण्टेटरका रुपमा नेपाल आउँदैछन् । 

रु ४० करोड आम्दानीको लक्ष्य 

यसपालि एनपिएलबाट क्यानले करिब रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानले आठ वटा टिमसँग १० वर्षको सम्झौता गरेको छ । यसपटक ती सबै टिमबाट रु नौ करोड प्राप्त हुने क्यानले जनाएको छ । एनपिएलका लागि विभिन्न प्रायोजकसँग रु १५ करोड ४० लाखको सम्झौता गरिएको छ । क्यानले नयाँ प्रयोगमा ल्याएको डिजिटल प्लेटफर्मको ओटिटीबाट रु पाँच करोड ३० लाख प्राप्त गर्नेछ । यसपालि घरेलु प्रसारणबाट रु एक करोड प्राप्त हुनेछ । गत वर्ष घरेलु टेलिभिजनमा क्रिकेट प्रसारण गरिएको थिएन । यसपटक आठ देखि १२ करोड टिकट बिक्रीबाट आए हुने अनुमान गरिएको छ ।  

ट्रफी परिक्रमा 

एनपिएल क्रिकेटको प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिताको विजेताले जित्ने ट्रफीलाई नेपालका विभिन्न शहरमा परिक्रमा गराइएको थियो । तर गत वर्षको तुलनामा यसपालि ट्रफी परिक्रमा त्यति भव्य रुपमा आयोजना गरिएन । मुलुकको पछिल्लो विकसित घटनाक्रमको कारण ट्रफी परिक्रमा कार्यक्रम भव्य रुपमा आयोजना नगरिए पनि परिक्रमामा नेपालको क्रिकेट तथा अन्य खेलका स्थापित खेलाडीहरूको समेत संलग्नता रहेको थियो ।

यस्तै कार्यक्रममा स्थानीय वासिन्दाहरुको समेत सहभागिता रहेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिक पर्ने कालापत्थरबाट ल्याइएको ढुङ्गा उक्त ट्रफीमा जडान गरिएको छ । ट्रफीको तौल तीन किलो रहेको छ । यस बाहेक यसपटक डिजिटल प्रवर्द्धनमा पनि क्यानले जोड दिएको छ । 

‘म्याच–फिक्सिङ’प्रति सचेतता

गत वर्ष जस्तै यो वर्षपनि क्यानले नेपाल प्रहरीको सीआइबी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसिसँग सिधै समन्वयमा रहेको एण्टी करप्सन युनिटसँग सहकार्य गरेर ‘म्याच फिक्सिङ’प्रति सचेतता अपनाएको छ । प्रतियोगितामा सहभागी रहेका आठवटै टिममा प्रहरी निरीक्षक तहको प्रहरी अधिकृत संलग्न रही खेलाडी तथा खेलसँग सम्बन्धित सबैलाई २४ घण्टा नै निगरानी गरिने व्यवस्था मिलाइएको छ । गतवर्ष जस्तै यसपालि पनि मैदान तथा दर्शकदिर्घाको निगरानीका लागि छुट्टै टिम खटाइएको छ । 

आइसिसिले कुनै पनि क्रिकेट प्रतियोगिताको मूल्याङ्कन नै एण्टी करप्सन युनिटमार्फत गर्ने गरेको छ । क्रिकेट मैदानभन्दा बाहिर हुने गतिविधिको जिम्मेवारी लिन कठिन भए पनि मैदानभित्र गर्नुपर्ने सबै व्यवस्थापनको जिम्मेवारी आयोजकको हुन्छ । क्यानको एण्टी करप्सन युनिटले आठवटै टिममा खटिएका सुरक्षा अधिकृतलगायत सबैको दैनिक प्रतिवेदन आइसिसिमा पठाउने व्यवस्था मिलाएको छ । एनपिएल क्रिकेट प्रतियोगिताको आयोजनाको सफलताको आधारमा नै आइसिसीले  नेपालमा आगामी महिलाको विश्वकप छनोट चरण आयोजनाका लागि अनुमति दिने भएको छ । एनपिएल क्रिकेट भव्य रुपमा सम्पन्न गर्नु पर्ने दायित्व क्यानका साथै सम्पूर्ण नेपालकै रहेको छ । 

नेपालमा सन् २०१० मा क्रिकेट प्रतियोगिता हुँदा ढुङ्गा मुढा भएपछि नेपाल दुई वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बञ्चित भएको थियो । गत वर्ष एनपिएल क्रिकेटको पहिलो दिनमै ठूलो सङ्ख्यामा दर्शकहरू कीर्तिपुर रङ्गशालामा उपस्थित भएपछि आयोजकहरूलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो । यसपालि नेपालमा राजनैतिक परिस्थिति परिवर्तन भएको तथा बेलाबेलामा विभिन्न आन्दोलन तथा प्रदर्शन भैरहेकाले आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनु जरुरी छ । 

राति पनि खेल हुने भएपछि सुरक्षातर्फ विशेष सतर्कता अपनाउनु पर्ने देखिएको छ । नेपालको छवि उजिल्याउन भइरहेको महत्वपूर्ण प्रयासमा हातेमालो गर्नु आज सम्पूर्ण नेपालीहरूको कर्तव्य हो । एनपिएल क्रिकेट प्रतियोगिताले विश्वलाई नेपाल अब विगतको सामान्य अवस्थामै फर्किएको सन्देश दिन सफल हुने अपेक्षा गरिएको छ ।

  • प्रकाशित मिति : १ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया