गर्मीमा एसी र कोल्ड ड्रिंक्सको आदत छ ? छ भने तपाईं आफ्नो हड्डी आफैँ खियाइरहनुभएको छ

बदलिँदो दुनियाँमा आधुनिक सुविधाको प्रयोग बढ्दो छ । अचेल हाम्रो जीवन प्राकृतिकभन्दा ज्यादा कृत्रिम वातावरणमा बित्न थालेको छ । 
गर्मीमा चौतारीमा बसेर चिसो हावा खाने दिन अब पुराना भइसके । 

अचेल हाम्रो अधिकांश समय कोठाभित्र बित्छ । टिभी, कम्प्युटर, स्मार्टफोनसँगै गर्मीमा एसी, पंखा र जाडोमा हिटर हाम्रा अभिन्न साथी बनेका छन् । तर, के यी सामग्रीले हामीलाई जस्तै हाम्रो स्वास्थ्यलाई पनि साथ दिइरहेका छन् त ? 

अहँ, पटक्कै छैनन् । 

इलेक्ट्रोनिक्स र मौसम अनुकूलताका लागि प्रयोग हुने कृत्रिम उपकरणले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानसिक स्वास्थ्यमा इलेक्ट्रोनिक्सले पार्ने असरबारे अलि धेरै चर्चा हुने गरेको छ । तर, शारीरका विभिन्न अंग तथा प्रणालीमा यसले पार्ने प्रभावबारे खासै चर्चा भएको पाइन्न । 

कमैलाई थाहा होला, एसीले हाम्रो शरीरको सबैभन्दा मजबुत हिस्सा हड्डीलाई नै कमजोर पारिदिन्छ । पछिल्लो एक अध्ययनले लामो समय एसीमा बस्दा एसीको हावाले विस्तारै हड्डीलाई कमजोर बनाउँदै लैजाने देखाएको छ । यसबाट कम उमेरमै हाडजोर्नीको समस्या देखा पर्ने सम्भावना ज्यादा रहन्छ । तपाईंमा हरसमय एसीको मजा लिने बानी छ भने सोच्नुहोस्, तपाईं आफ्नो हड्डी आफैँ खियाइरहनुभएको छ । 

तपाईं कम्प्युटर या टिभीको अगाडि लामो समयसम्म बस्नुहुन्छ, या एकैठाउँ घोत्लाएर मोबाइलमा गेम खेल्नुहुन्छ भने पनि तपाईंको हड्डीका लागि यो राम्रो होइन । लामो समय एकैठाउँ बसिरहँदा शरीर चलायमान हुँदैन, जसले हड्डीमाथि नराम्रो असर पर्छ । 



गर्मीमा हाम्रो अर्को नजिकको साथी हो, कोल्ड ड्रिंक्स । पछिल्लो पुस्तामा कोल्ड ड्रिंक्सको आदत अलि बढी नै छ । तर, यस्ता सोडायुक्त ड्रिंक्सको अधिक सेवन हड्डीका लागि खतरनाक हुन सक्छ । अध्ययनहरुले देखाएका छन् कि सोडा ड्रिंक्समा हुने फस्फोरसले हड्डीलाई नराम्रो असर गर्छ । 

जानकारहरुको भनाइमा पछिल्लो समय हड्डीका समस्या बढ्दै जानुमा मानिसमा दूधको सट्टा सोडायुक्त ड्रिंक्स पिउने आदत बस्नु एक मुख्य कारण हो । उसो त चिया या कफीको अधिक सेवन पनि हड्डीका लागि राम्रो होइन । चिया, कफीमा हुने क्याफिनले पनि हड्डीमा क्याल्सियमको मात्रा घटाउँछ, जसले हड्डीलाई कमजोर बनाउँछ । 



  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार २०:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया