२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

७८ अर्बको क्षतिपछि निजी क्षेत्र ‘त्रसित’, सरकारको आश्वासन- पूर्ण सुरक्षा हुन्छ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । 

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो ।  निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए । 



हालैको जेनजी आन्दोलनले करिब ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक विवरणबाट देखिएको छ । देशभरका ५५ जिल्लामा करिब दुई हजार ९०० भवनहरू क्षतिग्रस्त भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब बराबरको स्रोत जुटाएको जनाउँदै अर्थमन्त्री खनालले उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरेका छन् ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।  



नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, असल नियतका भए पनि त्यस क्रममा उद्योगी–व्यवसायीका निजी तथा व्यावसायिक संरचनामा गरिएका आक्रमण अस्वीकार्य भएको बताए । उनले निजी क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, धन्दा बिगार्ने र आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन तत्काल तरलताको अवस्था सुदृढ गर्न प्रशस्त र उपयुक्त उपायहरूको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै ढकालले कानुनको कार्यान्वयन सही हिसाबले नभए लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित रहनेतर्फ चेतावनीसमेत दिएका छन् । यस वर्षको कर दिवस ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नारासहित मनाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।



  • प्रकाशित मिति : १ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया