पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सको प्रदर्शन निकै कमजोर रह्यो । उसले लिग चरणमा सात म्याचमध्ये पाँचमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो ।
पोखरा गत सिजनमा अंक तालिकाको सातौं स्थानमा सीमित भयो । पहिलो संस्करणको खराब नतिजाबाट पाठ सिकेको पोखरा बलियो टिमका साथ लिगमा फर्किँदै छ ।

विदेशी खेलाडी अनुबन्धपछि पोखरा कति बलियो ?
विश्वप्रसिद्ध विदेशी खेलाडीलाई भित्र्याएसँगै पोखरा एभेन्जर्स अहिले चर्चामा छ ।
इंग्ल्याण्डका विस्फोटक ओपनर जेसन रोय र एनपिएलको पहिलो सिजनका विजेता न्यूजिल्याण्डका अलराउन्डर जिमी निशमलाई टिममा समावेश गरेपछि त धेरैले पोखरालाई उपाधि दाबेदारको रूपमा हेर्न थालेका छन् ।
रोय र नीशमको आगमनपछि पोखराको ब्याटिङ बलियो देखिएको छ । इंग्लिस स्टार रोय विश्वकप विजेता खेलाडी हुन् ।
इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकप जित्नुमा उनले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस विश्वकपको सेमिफाइनलमा रोयले अस्ट्रेलियाविरुद्ध ६५ बलमा ८५ रनको सानदार पारी खेल्दै इंग्ल्याण्डलाई फाइनल पुर्याए ।

उनले इंग्ल्याण्डसहित विश्वका दर्जनौं चर्चित लिग पनि खेलिसकेका छन् । रोयले हालसम्म समग्र टी–२० करियरमा साढे १० हजार रन बनाएका छन् । उनी अब एनपिएलमा पनि आफ्नो प्रभाव छाड्ने पूरा कोसिस गर्ने छन् ।
रोयले एनपिएल खेल्ने भएपछि पोखराको टोलीमा ओपनिङ ब्याटरको विकल्प बढेका छन् । ताजा अवस्थामा उससँग ओपनरको विकल्पमा जेसन रोय, एडम रोसिङ्टन, कुशल भुर्तेल, दिनेश खरेल, तृतराज दास र अर्जुन कुमाल रहेका छन् ।
यदि पूरा सिजन उपलब्ध भएमा यसपटक रोसिङ्टन र रोय प्रमुख ओपनर हुने छन् । रोसिङ्टनले इंग्ल्याण्डको घरेलु प्रतियोगितामा आक्रामक ब्याटिङ गर्दै आएका छन् । उनले पाकिस्तानको पिएसएल, दक्षिण अफ्रिकाको एसए टी–२० देखि विश्वका चर्चित लिग खेलिसकेका छन् ।
रोसिङ्टन विकेटकिपिङ पनि गर्छन् । यसपालि पोखरा मध्यक्रमको ब्याटिङमा भने त्यति बलियो छैन । उसँग यो भूमिकाका लागि किरण ठगुन्ना, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप क्षेत्री, डान डौथवेटलगायत खेलाडी छन् ।

पोखराको टिम फिनिसिङमा भने बलियो देखिन्छ । उसँग यो भूमिकाका लागि न्यूजिल्याण्डका जिमी नीशम र वेस्ट इण्डिजका रेमन रेफरजस्ता हार्डहिटर टन् ।
गत सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन नीशमले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।
उनले ब्याटिङमा २ सय ४७ रन बनाउनुका साथै सात विकेट लिए । नीशमबाट यसपालि पोखरा पनि यस्तै प्रकारको प्रदर्शनको अपेक्षामा छ ।
विदेशी ब्याटरले भरिभराउ पोखरा बलिङमा केही कमजोर देखिन्छ । पहिलो सिजनमा पनि उसको ठूलो कमजोरी बलिङ नै थियो । पोखरा यसपालि फास्ट बलरको रूपमा अलराउन्डरमा भरपर्ने देखिन्छ ।

उसँग यो भूमिकाका लागि वेस्ट इण्डिजका ३४ वर्षीय रेमन रिफर, नेपालका आकाश चन्द, न्यूजिल्याण्डका जिमी नीशम तथा इंग्ल्याण्डका म्याट टेलर रहेका छन् ।
पोखरासँग यसपटक स्पिनरको रूपमा सागर ढकाल र विपिन खत्री मात्र रहेका छन् । यस्तै, कुशल भुर्तेलले पनि एनपिएल–२ मा बलिङ गर्ने सम्भावना छ । उनले पछिल्लो समय राष्ट्रिय टिमका लागि नियमित बलिङ गर्दै आएका छन् ।
समग्रमा पोखरा ब्याटिङमा अब्बल र बलिङमा अझै बलियो देखिएको छैन । ऊ यसपालि खेलमा त्यो सन्तुलन कसरी मिलाउँछ, हेर्नलायक हुनेछ ।
पोखराले आफ्नो पहिलो म्याचमा मंगलबार विराटनगर किंग्सको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।