शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श व्यवसाय संस्थालाई नवीकरण प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले आगामी १८ गतेसम्म नवीकरणका लागि सबै कागजात पूरा गरेर निवेदन दिन अनुरोध गरेको हो ।
मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त गरी आर्थिक वर्ष २०८२/०८२ का लागि नवीकरण भएका र नवीकरणका लागि अनलाइन एप्लिकेसनमा आबद्ध भएका तर तोकिएका कागजात संलग्न राखी मन्त्रालयमा फाइल बुझाउन बाँकी भइ नवीकरण पत्र प्राप्त गर्न नसकेका संस्थालाई आ.व २०८२/०८३ का लागि नवीकरण गर्न निवेदन आह्वान गरेको छ ।
त्यसरी फाइल बुझाउन बाँकी संस्थाहरूलाई तोकिएको म्याद नाघेर दिएका निवेदनमाथि कुनै कारबाही नहुने पनि शिक्षा मन्त्रालयले जनाएको छ । नवीकरणका लागि निवेदन नदिने संस्थालाई आर्थिक वर्ष २०८२/०८३ का लागि सेवा सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाहरूको सूचीबाट हटाउने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
आ.व २०८१/०८२ सम्मका लागि नवीकरण भएका ७२० वटा संस्थाहरूको हकमा मन्त्रालयको वेब एप्लिकेसन (cims.moest.gov.np) मा संलग्न भएका विवरणहरूमध्ये शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका (पहिलो संशोधन) को अनुसूचीमा उल्लेख भएका विवरणमा परिवर्तन भइएको अवस्थामा आ.व २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अद्यावधि, आ.व २०८१/०८२ मा गरेको वार्षिक कामको विवरण, मन्त्रालयले दिएको नवीकरण पत्रको प्रतिलिपि र स्वीकृति नवीकरण दस्तुर बुझाएको भौचर समेत समावेश गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी सञ्चालनको अनुमति पाएका संस्थाहरूको विवरण र आधिकारिक प्रतिनिधि भएका मुलुकहरूको विवरण र प्रतिनिधि पत्र पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि नवीकरण गर्न मन्त्रालयबाट सूचना भए बमोजिम अनलाइन एप्लिकेसन मार्फत निवेदन गरेको तर नवीकरण दस्तुरसहित माग भएका कागजात फाइल बुझाउन नसकेका संस्थाहरूलाई पनि मागि उल्लिखित बमोजिम रितपूर्वक सबै कागजात तयार गरेर अनलाइन आवेदन पेश गरी सोको कायल मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा पेश गर्न अनुरोध गरिएको छ ।



फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।