३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

सम्पादकीय
केपी ओलीको सती नजाओस् कांग्रेस

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा १० कात्तिकमा सिंगापुरमा ‘उपचार’ गरेर पत्नी आरजु राणा देउवासहित नेपाल फर्किएको सोमबार पाँच दिन भएको छ । देउवाले त्यसअघि आफ्ना विश्वासिला पात्र उपसभापति पूर्णबहादुर खड्कालाई  कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए ।

धेरैले देउवाले अब सक्रिय राजनीतिबाट बिदा लिएको अर्थमा त्यो मन्तव्यलाई बुझे । देउवाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक समक्ष २८ भदौमा दिएको मन्तव्यको निकै प्रशंसा भएको थियो । त्यो किन पनि भयो भने देउवाका पूर्वसत्ता साझेदार एमाले अध्यक्ष खड्गप्रसाद ओलीले २३ र २४ भदौमा भएको घटनाको जिम्मेवारी लिएनन् ।



उल्टो उनी गुण्डुमा महेश बस्नेतको संरक्षणमा बसेर जनताको आम भावना विपरीत बोले । बोल्दै छन् । तर, देउवाले त्यस्तो गरेनन् । त्यो उनको स्वभाव पनि होइन । तर, देउवाको खराब स्वभाव पनि छ ।

देउवा अहिले कांग्रेसभित्रको विवादलाई सुल्झाउने सूत्रमा खटिरहेका छन् । पार्टीभित्र आफ्ना र इतर पक्षका नेताहरूसँग भेटघाट गरिरहेका छन् । किनकि कांग्रेसमा अहिले फागुन २१ मा हुने भनिएको निर्वाचनअघि विशेष वा नियमित महाधिवेशन गर्ने कि निर्वाचनपछि गर्ने भन्ने बहस तीव्र छ ।



आफ्नो राजनीतिक महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि पर्दापछाडि बसेर गोटी चाल्ने मामिलामा देउवालाई कसैले माहिर खेलाडी भन्छ भने उसले गलत भनिरहेको हुँदैन ।    

देउवा अहिले कांग्रेसभित्रको विवादलाई सुल्झाउने सूत्रमा खटिरहेका छन् । पार्टीभित्र आफ्ना र इतर पक्षका नेताहरूसँग भेटघाट गरिरहेका छन् । किनकि कांग्रेसमा अहिले फागुन २१ मा हुने भनिएको निर्वाचनअघि विशेष वा नियमित महाधिवेशन गर्ने कि निर्वाचनपछि गर्ने भन्ने बहस तीव्र छ ।

यो कांग्रेसको आन्तरिक कुरा भयो । तर, डर कहाँ छ भने नेपाली राजनीतिका ‘छट्टु खेलाडी’ ओलीले संसद् पुनः स्थापनाको पक्षमा वकालत गर्दै आएका छन् । यसका लागि उनले न्वारनदेखिको बल लगाएर आफ्नो पार्टी संयन्त्रलाई सडकमा उतार्न थालेका छन् । अर्थात्-ओलीलाई तत्कालका लागि निर्वाचन चाहिएकै छैन ।

अहिलेको स्थितिमा के मुख लाएर निर्वाचनमा जाने र जाँदा त्यसको परिणाम के होला भन्ने कुरा ओलीले नबुझ्ने कुरै भएन । तर, एमालेभित्रको ओली गुटबाहेक कांग्रेस, माओवादी, रास्वपा, राप्रपालगायतका जति पनि दलहरू छन्, उनीहरू सबैले फागुन २१ को निर्वाचनलाई स्वागत मात्र गरेका छैनन्, त्यसलाई स्वीकार पनि गरेका छन् । तयारी पनि थालेका छन् । 



यदि एमालेबाहेक अन्य सबै दलहरू निर्वाचनको पक्षमा एक ढिक्का भएको स्थितिमा ओली एक्लिने मात्र छैनन्, एमाले पङ्क्तिले उनलाई निर्वाचनमा जान दबाब दिने निश्चित छ । यदि ओली र देउवा फेरि एक पटक सत्ता साझेदारीका लागि संसद् पुनः स्थापनाको पक्षमा आए भने त्यसले मुलुकलाई झनै भड्खालोमा पार्ने छ ।

बिर्सन नहुने कुरा के हो भने सुशीला कार्कीको यो सरकार २३ भदौको आन्दोलनको जगमा उभिएको हो । यसलाई नजरअन्दाज गर्दै संसद् पुनः स्थापनाको बाटोमा ओलीजस्तै देउवा पनि हिँड्ने त होइनन् ? 

ओलीले फुस्ल्याएकै भरमा देउवा फेरि आलोपालो सत्ताको रथमा बस्ने ध्याउन्नमा छन् भने त्यसले मुलुकमा आन्दोलनले अर्को आँधी तुफान ल्याउने छ

यदि ओलीले फुस्ल्याएकै भरमा देउवा फेरि आलोपालो सत्ताको रथमा बस्ने ध्याउन्नमा छन् भने त्यसले मुलुकमा आन्दोलनले अर्को आँधी तुफान ल्याउने छ । किनकि ओलीले सार्वजनिक रूपमै देउवा सिंगापुरबाट फर्किएपछि कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गर्दै आएका छन् ।  

के ओलीको दाबी सत्य हो ? कांग्रेस पनि ओली हिँडिरहेको बाङ्गो बाटो हिँड्ला ? यदि यस्तो भयो भने कांग्रेस ध्रुवीकृत त हुन्छ नै, यो उसका लागि घातक पनि हुन्छ । 

अहिले डर यही हो, कतै ओली र देउवा संसद् पुनः स्थापनाको पक्षमा उभिए भने के होला ?

सायद देउवाले यो गल्ती नगर्लान् ।

यो बेग्लै कुरा हो कि अदालतमा पुगेको संसद् पुनः स्थापना मुद्दाको सम्बन्धमा कस्तो निर्णय आउँछ त्यसले पनि मुलुकको अबको राजनीति कता जान्छ भन्ने निर्क्योल गर्नेछ ।  

  • प्रकाशित मिति : १ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया