प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरिन् ।
वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई २४ भदौमा सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा गुमाएका छन् ।
उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्याउनेमाथि कारबाही हुनुपर्ने माग गरे । उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गरे ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस् ।’
अस्पतालमा श्रीमती निर्मला र अन्य आफन्तहरू पनि थिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।