दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स पनि उपाधि जित्ने लक्ष्यका साथ तयार भएको छ । स्टार विदेशी खेलाडी टिममा जोडिएपछि लुम्बिनी उपाधि दाबेदारको सूचीमा देखिएको हो ।
गत संस्करणमा कमजोर प्रदर्शन गरेका कारण लुम्बिनी यसपालि सचेत देखिन्छ । र, उसले सोहीअनुसार विदेशी कोटाबाट खेलाडी भित्र्याएको छ । एनपिएलको पहिलो सिजनमा लुम्बिनी तालिकाको पुछारमा थियो । उसले लिग चरणको सातमध्ये ६ मा हार तथा एक खेलमा मात्र जित निकाल्यो ।
लुम्बिनी यसपालि त्यो खराब नतिजा बिर्सिँदै नयाँ अध्याय लेख्ने योजनामा छ ।
एनपिएल-२ मा लुम्बिनी कति बलियो ?
दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनीको ब्याटिङ लाइनअप गत संस्करणभन्दा केही बलियो बनेको छ । लुम्बिनीमा ओपनिङ ब्याटरको विकल्पमा अस्ट्रेलियाका डार्सी सर्ट, नेपालका सुमित महर्जन र दिलिप नाथ जोडिएका छन् । गत सिजनमा सुमित काठमाण्डु गोर्खाज तथा दिलिप पोखरा एभेन्जर्समा थिए । डार्सी भने पहिलोपटक एनपिएल खेलिरहेका हुन् ।
आइपिएल, बिबिएल, सिपिएलजस्ता प्रतिष्ठित लिगको अनुभव हासिल गरिसकेका उनले हालसम्म टी–२० मा १८० म्याच खेल्दासम्म ३९ अर्धशतक र दुई शतकको मद्दतमा करिब साढे ५ हजार रन बनाएका छन् । डार्सीले अस्ट्रेलियाका लागि २३ टी–२०आई र आठवटा ओडिआई खेलेका छन् । उनी पार्टटाइम बलिङ पनि गर्छन् । डार्सीको आगमनपछि लुम्बिनीको शीर्षक्रमको ब्याटिङ बलियो बनेको छ ।
यसपालि लुम्बिनीले सन्दीप जोरालाई पनि ओपनिङमा प्रयोग गर्न सक्छ । उनले हालै हङकङ सिक्सेसमा यो भूमिकामा रहेर सानदार ब्याटिङ गरेका थिए । सन्दीप र डार्सीले ओपनिङ गरेमा दिलिप र सुमित मध्यक्रमको जिम्मेवारी पाउन सक्छन् ।
मध्यक्रममा लुम्बिनी बलियो देखिन्छ । उससँग यो भूमिकाका लागि कप्तान रोहितकुमार पौडेल, जेजे स्मित, आदिल खान र समीर अली रहेका छन् । गत संस्करण मध्यक्रममा रोहितले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले सात खेलमा २ अर्धशतकको मद्दतमा २ सय ७९ रन बनाए । यसपालि पनि रोहित सोही प्रदर्शन दोहोर्याउँदै लुम्बिनीलाई उपाधि दिलाउन पूरा कोसिस गर्ने छन् ।
लुम्बिनीसँग तल्लोक्रमको ब्याटिङका लागि भने पर्याप्त विकल्प छैन । उसँग यो भूमिकाका लागि अफगानिस्तानका गलुबदिन नाइब छन् । उनी पहिलोपटक एनपिएल खेल्न लागेका हुन् ।
गत सिजनमा लुम्बिनीका लागि तल्लोक्रममा विवेककुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । यसपालि उनले चोटका कारण एनपिएल गुमाउने छन् । एनपिएलको दोस्रो सिजनमा लुम्बिनीसँग ब्याटरभन्दा बलरको विकल्प धेरै छन् ।
यसपालि लुम्बिनीसँग फास्ट बलरको रूपमा दिनेश अधिकारी, विशाल पटेल, दुर्गेश गुप्ता, थोमस ड्राका, गुलबदिन नाइब, रुबेन ट्रम्मपलम्यान र जेजे स्मित र रहेका छन् ।
यस्तै, दोस्रो सिजनमा लुम्बिनीको स्पिन विभागको जिम्मेवारी शेर मल्ल, अभिशेष गौतम र तिलकराज भण्डारीले सम्हाल्ने छन् । यस्तै, डार्सी सर्ट र कप्तान रोहितकुमार पौडेल पनि पार्ट टाइम बलर हुन् ।
गत संस्करणमा रोहितले ६ इनिङमा ५.६३ को उत्कृष्ट इकोनमीमा ८ विकेट लिएका थिए । टियूको पिच स्पिनअनुकूल भएकाले यसपटक पनि उनले केही ओभर बलिङ गर्ने छन् । यसरी हेर्दा लुम्बिनी बलिङमा युवा खेलाडीमा निर्भर देखिन्छ ।
ब्याटिङतर्फ उसको शीर्ष र मध्यक्रम बलियो छ । यसपालि लुम्बिनी गत सिजनको गल्ती सुधार गर्दै नयाँ रणनीतिका साथ मैदान उत्रने तयारीमा छ । उसले जारी संस्करणको पहिलो खेलमा बिहीबार चितवन राइनोजको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।