इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’को उज्यालोमा १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण भव्य रुपमा सुरु भयो ।
सोमबार कीर्तिपुर अन्तराष्ट्रिय रंगशालामा साँझ अबेरसम्म हजारौं समर्थक क्रिकेटको रौनकमा रमाइरहे । उद्घाटन खेलका लागि टिकट तीन दिनअघिनै ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि ठूलो संख्यामा दर्शकको भीड उस्तै थियो ।
नेपाली क्रिकेटको यो महाकुम्भ मेला यही मङ्सिर २७ गतेसम्म यसै गरी चल्नेछ । एनपिएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै दोस्रो संस्करण थप स्तरीय बनाइएको छ । पूर्वाधारका हिसाबले टियू मैदानलाई कायापलट गरिएको छ । एनपिएलको दोस्रो प्रतियोगिताका लागि लामो समयदेखि तयारी सुरु गरिएको थियो ।
विशेषगरी प्रतियोगिता स्थल कीर्तिपुर रंगशालामा निर्माण तथा मर्मतसम्भारका लागि केही महिनादेखि नै कार्य प्रारम्भ गरी सरकारी तबरबाटै अनुगमन गरिएको थियो । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सम्बन्धित ठेकेदारले जरिवाना समेत बेहोर्नुपरेको थियो । कीर्तिपुर रङ्गशाला निर्माणका लागि सरकारले राष्ट्रिय प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको मैदानका रूपमा परिणत गरेको छ ।
कीर्तिपुर रंगशालामा वर्षौंदेखि मानिसहरू घाँसे वा धुले मैदानमा बसेर वा रुखमा चढेर खेल हेर्ने गर्दथे । अब त्यो अवस्था रहेन । कीर्तिपुर रङ्गशाला पुनः निर्माणपछि दर्शकहरूले विभिन्न रंगिन सिटमा बसेर खेलको आनन्द लिन पाएका छन् । त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा मात्रै ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि ४२ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ ।
सरकारले कीर्तिपुर क्रिकेट रंगशालालाई अझ विस्तार गरी ठूलो बनाउन गुरुयोजना स्वीकृत गरिसकेको छ । गुरुयोजनाबमोजिम रङ्गशाला निर्माण गर्न करिब १० अर्ब लाग्ने अनुमान छ । हाल कीर्तिपुर रंगशालाको दर्शक क्षमता करिब १० हजार छ । गुरुयोजना अनुसार निर्माणपछि कीर्तिपुर रंगशालाको दर्शक क्षमता २५ हजार बनाइने लक्ष्य राखिएको छ ।

बदलिंदो क्रिकेट सपनासँगै टियू क्रिकेटको बदलिएको स्वरूपले अब नेपाली क्रिकेट नयाँ उचाइमा पुग्ने विश्वास राखिएको छ । कीर्तिपुर क्रिकेट रंगशालामा गरिएको लगानीले पनि खेलकुदमा आर्थिक स्रोतको सुनिश्चितता हुँदै गएको प्रस्ट हुन्छ । तर, खुसी हुनुपर्ने ठाउँ भने देखिँदैन ।
विसं २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागतरूपमा खेलकुद विकासको जग बसेको बताइन्छ । खेलकुद विकासको थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदको गति भने निकै सुस्त र निरस नै देखिन्छ । २१ औं शताब्दिसम्म आइपुग्दा पनि अझै नेपालमा सुविधा सम्पन्न स्तरिय रगंशालाहरू निर्माण हुन नसकेको अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा बताउँछन् ।
‘खेलकुद मनोरञ्जन मात्र होइन, देशको समग्र विकासको मेरुदण्ड पनि हो,’ उनी भन्छन्, ‘खेलकुदप्रतिको जनचासो, युवा सहभागिता र अन्तर्राष्ट्रिय पहुँच बढिरहेको समयमा सरकारले पूर्वाधार निर्माणलाई दीर्घकालीन रणनीतिक लगानीका रूपमा विकास गर्नुपर्छ ।’
अहिले नेपालमा धेरै खेलकुद पूर्वाधार जीर्ण, अधूरो वा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैनन् । खेलकुदलाई राष्ट्रिय विकासको प्रमुख स्तम्भको रूपमा स्थापित गर्न पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको उनी बताउँछन् । सरकारले सुविधा सम्पन्न रङ्गशाला, बहुउद्देश्यीय खेल मैदान, प्रशिक्षण केन्द्र, ट्रेनिङ सेन्टर लगायत निर्माणमा लगानी गर्दा खेलाडीको मात्र स्तर नउकासी देशकै प्रतिष्ठा, पर्यटन र रोजगारीमा महत्त्वपूर्ण प्रभाव पार्ने उनको भनाई छ ।

राम्रो पूर्वाधार भएको मुलुकमा अन्तर्राष्ट्रिय प्रतियोगिता आकर्षित हुन्छन्, जसले आन्तरिक तथा बाह्य पर्यटन बढाउँछ । जसले स्थानीय व्यवसाय चलायमान बनाउँछ र समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्छ । नेपालको हावापानीका हिसाबले यहाँ बाह्रै महिना खेल खेल्न सकिन्छ ।
नेपालको भौगोलिक अवस्था हेर्ने हो भने गर्मी र जाडो मौसममा समेत खेलकुद आयोजना गर्न सकिन्छ । नेपालको मौसम सबैलाई लोभ्याउने किसिमको छ । दक्षिण एसियासँगै अन्य राष्ट्रलाई नेपालमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गराउन सकिने पूर्वअध्यक्ष थापा बताउँछन् ।
‘नेपालले यदि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास गर्न सके, भारत–पाकिस्तान जस्ता ठूलो भिडन्तसम्म यहाँ आयोजना गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जसका लागि हामीले त्यही स्तरको पूर्वाधारमा लगानी गर्नुपर्छ । यहाँका होटल र सेवा सुविधा पर्याप्त राम्रा छन्, समस्या भनेको खेल पूर्वाधारमा मात्रै हो ।’
दर्जनौँ अन्तर्राष्ट्रिय किसिमका पूर्वाधार निर्माण गर्न सके नेपाललाई खेल आयोजक देशको रूपमा अगाडि बढाउन सकिने उनको भनाइ छ । यसै पनि नेपालमा क्रिकेट, फुटबल, भलिबल लगायत खेलको क्रेज राम्रो छ । अन्तर्राष्ट्रिय सहभागिता र घरेलु मैदानमा खेलकुदका कार्यक्रम आयोजना गरेर खेलकुदको माध्यमबाट अर्थतन्त्रलाई योगदान गर्न सकिन्छ ।
खेलकुदले राष्ट्रको गौरव बढाउँछ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले हाम्रो गरिमा अन्तर्राष्ट्रिय रूपमा नै फैलिन्छ । नेपालले खेलमार्फत विश्वमै पहिचान बनाउने हो भने सरकारले योजनाबद्ध रूपमा आधुनिक र दिगो खेल पूर्वाधारमा लगानी अनिवार्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।