बुद्धिबहादुरको मःम पसलः जहाँ अहिले पनि पाइन्छ २५ रुपैयाँमा एक प्लेट मःम
फरकधार / ६ असार, २०७६

सहरमा चेन रेष्टुरेन्ट बढिरहेका छन् । एउटा सानो रेष्टुरेन्टबाट व्यवसाय सुरु गरेकाहरुले पनि अब सहरका तीन/चार ठाउँमा रेष्टुरेन्ट खोलिसकेका छन् । नेपालका यी रेष्टुरेन्टहरुमा सबैभन्दा बढी बिक्री हुन्छ– मःम ।

यो सहरमा सबैभन्दा बढी खपत हुने मःम मात्र बेच्ने रेष्टुरेन्टहरु पनि अब चेनका रुपमा विस्तारित हुँदैछन् । तर, वसन्तपुरमा बुद्धिबहादुर बलामीको मःम पसल छ, जसको चेन होइन, ग्राहक बढिरहेका छन् । त्यसैले पनि बुद्धिबहादुरलाई पसलमा आएका ग्राहकलाई मःम दिन भ्याइ/नभ्याइ हुन्छ । वसन्तपुरको चौकैबाट केही अगाडि बढेपछि प्याफल गल्ली पुगिन्छ ।

हाेटलकाे नाममा कुनै बाेर्ड नभएकाे एउटा सानाे ढाेकामा मान्छेहरुकाे भीड निकै हुन्छ । त्यहाँ पुग्दा भित्र स्टोभ भ्यारभ्यार गरिरहेकाे सुनिन्छ । दिउँसो २ बजे ग्यास अन भएपछि साँझसम्म अफ नहुने याे एउटा रेष्टुरेन्ट हाे जहाँ पाक्छ दैनिक ३ सय प्लेट बफ म:म । अनि बुद्धिबहादुर त्यहाँबाट तातोतातो बफ मःम बेच्छन्, प्रति प्लेट २५ रुपैयाँमा ।

सुन्दा अचम्म लाग्न सक्छ, बजारमा औसतमा एक सय रुपैयाँ पर्ने मःम २५ रुपैयाँमा ! तर, यो मोल राखेर बुद्धिबहादुरले मःम बेच्न थालेको अब तीन वर्षभन्दा बढी भइसकेको छ । त्यसभन्दा अगाडि त झन् बुद्धिबहादुरले एक प्लेट मःमको २० रुपैयाँमात्र लिन्थे । तर, यति सस्तोमा मःम बेच्न बुद्धिबहादुरले साना दुःख भोगेका छैनन् । खासमा कुनै सपना नबनाइ मकवानपुर चित्लाङबाट भागेर काठमाडौं आएका हुन् बुद्धिबहादुर । भागेर काठमाडौं आउँदा बुद्धिबहादुर १३ वर्ष पनि पुगेका थिएनन् । उनीसँग जे थियो, नाममा मात्र थियो ।

त्यही नामको बुद्धि र बहादुरलाई उनले जीवनको एकमात्र सुत्र बनाए र अगाडि बढे । सानै भए पनि बुद्धिबहादुरले आफ्नो बल प्रयोग गरेर सुरुमा काम गर्न थाले । काठमाडौंका गल्लीहरुमा दुई छाक खानका लागि उनले भारी बोके, ज्यामी काम गरे । अनि होटलमा काम गर्न थाले बुद्धिबहादुरले । रन्जना गल्लीमा एउटा होटल थियो । मारवाडीको मिठाई पसल । बुद्धिबहादुर त्यहाँ भर्ती भए । उनको काम थियो– भाँडा माझ्ने । महिनाभर काम गरेर उनले १० रुपैयाँ पाउँथे । १२ वर्षसम्म त्यहाँ भाँडा माझ्ने काम नै गरे बुद्धिबहादुरले । एक दशकभन्दा बढी काम गर्दा पनि उनको बढुवा भएन । काम गर्ने ठाउँमा ‘पदको बढुवा’ नभए पनि उनको दिमागले नयाँ कुरा सोच्न थालिसकेको थियो ।

त्यही सोचको परिणाम उनले सुरु गर्ने भए आफ्नै नयाँ पसल । मारवाडीकै पसलमा काम गरेकाले बुद्धिबहादुरले त्यही पसलको ‘फोटोकपी’ गरे । मिठाई पसल खोल्न बुद्धिबहादुरले नरदेवीमा ठूलो सटर भाडामा लिए । कर्मचारी खोजे । काम गर्ने मान्छेहरु पनि पाए । सुरुमा पसल नचलेपनि विस्तारै चल्छ भन्नेमा थिए बुद्धिबहादुर । तर, पसल चलेन । सोचेको जस्तो नाफा गरेन । उल्टो पसलले बुद्धिबहादुरलाई घाटा पुर्यायो ।

‘कामदारले ठगे नि,’ उनी अहिले त्यो पसल गर्दाको दिनमा फर्किन्छन्, ‘उनीहरुले नै बैमानी गरेपछि पसल चलेन, बन्दै गर्न पर्यो ।’ पसल बन्दमात्र भएन, बुद्धिबहादुरलाई त्यसले ठूलो समस्यामा पनि पार्यो । उनी थला परे, स्वास्थ्य कमजोर हुँदै गयो । त्यसपछि उनले सोचे– अब नामको बहादुरले काम गर्दैन, बुद्धिलाई बढी चलाउनु पर्छ । त्यसैले पनि जीवनको पहिलो बिजनेस असफल हुँदा पनि बुद्धिबहादुरले हिम्मत हारेनन् । अनि आफैंले जानेको पेसालाई फेरि रोजे । उनले अब चिया पसल खोले । यो दस वर्षअघिको कुरा हो ।

मिठाई पसलबाट ‘चेत खुलेका’ले चिया पसलमा बुद्धिबहादुरले नयाँ मान्छे भर्ना गरेनन्, चिया पसलमा आफैं खटे । अनि थोरै तिनो सहयोग चाहिँ घरपरिवारबाट लिए । चिया पसल चलाइरहे पनि त्यसैमा सन्तुष्ट भएर अडिएनन् बुद्धिबहादुर । काठमाडौंमा मःमको प्रख्याति दिन प्रतिदिन बढ्दो थियो । खाजा खान मःमको विकल्प हुनै छाडेको जस्तो भयो । ‘अनि मैले पनि मःम बेच्न सुरु गर्ने निक्र्योल गरेँ,’ बुद्धिबहादुर फेरि दस वर्षअघि पुगे, ‘मःम खानु मानिसको प्रतिष्ठाजस्तो गर्न थालियो, त्यसैले मैले पनि चिया पसललाई बढाएर मःम पसल बनाउने निणर्य गरेँ ।’

एउटा ठेलाले काम गरिरहेको चिया पसलमा अर्को ठेला थपेपछि ‘एक्सपान्ड’ भयो र सुरु भयो बुद्धिबहादुर बलामीको मःम पसल । मःम पसल खोल्ने निर्णय बुद्धिमानी भएको ठहर गरेका छन्, बलामीले । किनकि ठेलालेमात्र उनको व्यापार धान्न सकेन, उनी सटर खोज्न थाले । वसन्तपुरको प्याफल गल्लीमा सटर पनि भेटाए उनले । त्यसपछि उनको व्यावसायमा बहार छायो । र, त्यो खुसीयाली विस्तारै उनको जीवनमा पनि जोडियो । मःम बेच्न सटरमात्र भेटेको केही समयमा नै बुद्धिबहादुरले जीवनलाई थप ऊर्जावान बनाउन जीवनसंगिनी पनि भेटे ।

त्यसपछि बुद्धिबहादुर पछाडि फर्केर हेर्नु परेन । ‘सुरुका वर्षमा मैले एक प्लेट मःमको मूल्य तीन रुपैयाँमात्र राखेको थिएँ,’ उनको अनुहारमा खुसी देखिन्छ, ‘खर्चले धान्नै नसक्ने भएपछि २० रुपैयाँ प्लेट पुर्याएँ, तर एक प्लेटमा १२ वटा मःम दिन थालेँ ।’ अहिले बलामीको मःम पसलमा दिउँसो २ बजेपछि मःम खानेहरुको भीड लाग्छ । अनि त्यहाँ मःम खानेहरुले नै बेलाबेला बुद्धिबहादुरलाई सल्लाह दिन्छन्– ठाउँ थप्न पर्यो, पसल अझ ठूलो बनाउन पर्यो ।

तर, बुद्धिबहादुर पसल अझ एक्सपान्ड गर्ने पक्षमा छैनन् । किनकि उनलाई डर छ, ठाउँ ठूलो बनाए २५ रुपैयाँमा नै मःम बेच्न धौधौ पर्ने छ । ‘ठूलो ठाउँ बनायो भने मान्छे थप्नुपर्ला, पैसा धेरै लाग्ला, अनि मःमको पनि पैसा बढ्ला भन्ने डर छ नि,’ उनले भने । बुद्धिबहादुर किन पनि २५ रुपैयाँमा नै मःम बेच्ने पक्षमा छन् भने उनको पसलमा पैसा हुनेहरु मात्र मःम खान आउँदैनन् । ‘कोही बच्चाहरु आउँछन्, कोही भोकाएका काम गर्ने मान्छेहरु,’ उनले भने, ‘ती मानिसहरुसँग धेरै पैसा लिएँ भने मलाई डर छ, उनीहरुले तिर्न सक्दैनन् र भोकै बस्नुपर्छ ।’

त्यसैले पनि बुद्धिबहादुरले व्यावसायसँगै अर्को मन सोचेका छन्, कोही पनि भोकै बस्न नपरोस् ! यही कुराले पनि बुद्धिबहादुरलाई आफूसँगै व्यापार गरेकाहरुले गरेका प्रगतिले ठूलो समस्यामा पार्दैन ।

बरु कहिलेकांही बुद्धिबहादुरलाई नयाँ ग्राहकले आशंका व्यक्त गर्छन्, ‘यति सस्तोमा मःम बेचेको छ, केही नराम्रो पो हुने हो कि ?’ यस्तो प्रश्न आउँदा बुद्धिबहादुर फिस्स हाँस्छन्, नजिकैका अर्का ग्राहकलाई देखाउँछन् र प्रश्नकर्तालाई भन्छन्– ऊ, उहाँसँग सोध्नुस् न, यहाँको मःम कस्तो छ । पैसामा सस्तोमात्र होइन, गुणस्तरमा पनि ध्यान दिने भएकाले बुद्धिबहादुरको मःम पसलमा दिनदिनै भीड बढ्दो छ । कुराकानीकै क्रममा एक ग्राहकले बुद्धिबहादुरलाई भने– मैले त युट्युबमा देखेको थिएँ, त्यसैले आएँ ।

यसरी साथीभाइको सिफारिसमा र युट्युबजस्ता प्लेटफर्ममा देखेर बुद्धिबहादुरकोमा आउने ग्राहक अहिले निकै बढिसकेका छन् । आजभोलि उनी दैनिक कम्तिमा पनि ३ सय प्लेट मःम बेच्छन् । दिउँसो २ बजे पसल खोलेपछि उनी रातीको नौ बजे पसल बन्द गर्छन् । मःम पसलले दिएको खुद नाफाका कारण मात्र होइन, आफ्नै घरकालाई रोजगारी सिर्जना गरेकाले पनि बुद्धिबहादुरलाई अझ खुसी बनाएको छ ।

‘हाम्रो घरका सबैको जागिर नै यहाँ छ,’ उनले मुस्कुराउँदै भने, ‘दुई छोरा–बुहारी दिनभर यहाँ नै व्यस्त छन् । घरपरिवार मिलेर मःम पसल चलाउँदा निकै सजिलो भएको छ ।’ दिनहुँ पसलले राम्रो गर्नु र आफ्नो पसलको मःमले चर्चा पाउनुले पनि हुनुपर्छ, बुद्धिबहादुर सात दशकका वसन्त पार गरिसक्दा पनि उस्तै जोश र जाँगरका साथ बिहानै देखि पसलमा व्यस्त हुन्छन् । प्रत्येक बिहान छ बजे उनी मःम पसलका लागि घरबाट बाहिरिन्छन् । मासु लिन नरदेवी पुगेपछि उनी आफैं मासुलाई पेलेर किमा बनाउँछन् । पहिलो लटको मःम बनाउन बुद्धिबहादुर आफैं सरिक हुन्छन् ।

पसल खोलेर पहिलो लट स्टिम गर्न थालेपछि चाहिँ उनी ग्राहकलाई मःम दिन र पैसा लिनमा नै व्यस्त हुन्छन् । मःमका डल्ला तयारी चाहिँ उनी पसल भएकै ठाउँमा गर्दैनन् । ‘यहाँ त ठाउँले नै पुग्दैन,’ उनले औंलाले देखाए, ‘त्यसैले मःम तयारी चाहिँ ऊ त्यो परको घरमा हुन्छ ।’ जब पसलमा मःम सकिन्छ, उता मःम तयार पारिरहेका छोरा बुहारीलाई उनी मोबाइलमा कल गर्छन् ।

मोबाइलमा एक रिङ दिएपछि उनका छोराबुहारीले बुझ्छन्– पसलमा मःम लिएर जानु पर्ने भयो । दिउँसो दुई बजेदेखि राती नौ बजेसम्मको बुद्धिबहादुले छोरा बुहारीलाई एक घन्टी दिनु भनेको मःम ल्याउनु भन्ने संकेत गर्नु हो । केहीअघि बुद्धिबहादुरको पसलमा पुग्दा भीड निकै थियो । त्यहाँ पुगिसकेपछि मैले बुद्धिबहादुरसँग अनुरोध गरेँ– एकैछिन कुरा गर्नु थियो ।

पसलमा आउने सबैलाई ग्राहक सोच्छन् बुद्धिबहादुर । तर, मैले कुरा गर्ने भनेपछि उनी एकैछिन अकमकिए । उनीसँग कुराकानी गर्नु पर्ने कारण बताएको एक घन्टामा बल्ल कुराकानी गर्ने मेसो जुर्यो । उनले भने– छिटो गरौँ, छोटो गरौँ है ! नयाँ लट मःम स्टिमरमा राखेपछि कुराकानी सुरु भयो हाम्रो । त्यो मःम सर्भ गर्न तयार भएपछि बुद्धिबहादुरले मःम प्लेटमा हाल्न व्यस्त भए ।

अघिदेखि एक जना सानी बहिनी हातमा ७५ रुपैयाँ लिएर तीन प्लेट मःम प्याक गरिदिनु नै भन्दै थिइन् । त्यहाँबाट केही पाइला अगाडि आएर पछाडि फर्किदाँ ती बहिनी एउटा प्लास्टिकको झोला हातमा झुन्ड्याएर कतै लम्किँदै थिइन्, २५ रुपैया प्रति प्लेट मःम लिएर ।

  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार ३:४२:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया