राजपा–समाजवादी एकताकाे गाँठाे, तत्काल सम्भव छ एकता ?

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच पार्टी एकताको कुरा दुई महिनाअघि सतहमा आएको थियो । पार्टी एकताका लागि भनेर यी दुई पार्टीले वार्ता समितिसमेत बनाइसकेका थिए । तर, फोरम सरकारबाट नबाहिरिएसम्म एकता नगर्ने भनेर राजपा यसै पछि हट्यो ।

संविधान जारी भएसँगै संशोधनको माग राख्दै मधेसवादी दलहरुले संयुक्त मोर्चा बनाएर नाकाकेन्द्रित आन्दोलन थालेका थिए । सोही आन्दोलनको बहानामा भारतले नेपालमाथि ६ महिना लामो अघोषित नाकाबन्दी गर्यो । आन्दोलन लामै समय चल्यो, तर संविधान संशोधन भएन ।

पछि, मोर्चामा रहेका दलहरुले पार्टी एकता गर्ने निर्णय गरे । एकता पनि भयो । ६ पार्टी मिलेर राजपा बन्यो । तर, उपेन्द्र यादव एकतामा सरिक भएनन् । प्रतिनिधिसभा निर्वाचनमा एक्लै सहभागी भएको उपेन्द्र यादव नेतृत्वको फोरमले राजपाले भन्दा बढी सिट ल्यायो ।

फोरमको शक्ति देखेर राजपाले त्यतिवेलै एकताको प्रयास गरेको थियो । फोरमले इच्छा नदेखाएपछि तत्कालका लागि एकता टर्यो । संविधान संशोधनको आश्वासन देखाएर केपी ओलीले यी दुवै पार्टीको समर्थन लिए । फोरम सरकारमा सहभागी भयो, राजपाले बाहिरबाट सघायो । सरकारमा बसेर निरन्तर दबाब दिँदा पनि प्रधानमन्त्री ओलीले संविधान संशोधनमा चासो देखाएनन् । संविधान संशोधन, रेशम चौधरी प्रकरणलगायत आधा दर्जन विषयमा असहमति जनाउँदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । अहिले राजपा सत्ताबाहिर बसेर संशोधनको आवाज उठाइरहेको छ ।

यसैबीच, तत्कालीन नयाँ शक्ति, फोरम र राजपाबीच पार्टी एकताको हल्ला चल्यो । तर, एकता फोरम र नयाँ शक्तिबीच मात्र भयो । २३ वैशाखमा पार्टी एकता घोषणासभाबाट बाबुराम र उपेन्द्रले राजपालाई एकताको निम्तो दिए । लामाे छटपटाहटका बाबजुद सत्ताको चास्नीबाट फुत्कन नसकिरहेकाे 'सरकारभित्रकाे प्रतिपक्ष'सँग एकता गर्न राजपाले भने खासै रुचि देखाएन ।

नयाँ शक्ति र फोरम मिलेर बनेको समाजवादी पार्टीले ३० जेठमा निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । यतिखेरै पनि समाजवादीले सरकार छाडेर सडकमा आए एकता गर्न सकिने राजपा स्रोत बताउँछ । समाजवादीले भने संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने र नभए सडक संघर्ष गर्ने बताउँदै आएको छ ।



समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी तत्काल एकताको विषयमा कुराकानी नबढेको बताउँछन् । ‘अहिले यो विषयमा कुराकानी अगाडि बढेको छैन । पूर्व संघीय समाजवादी र पूर्व नयाँ शक्ति मिल्दा उहाँहरु (राजपा) ले कुरा गर्नुभएको थियो,’ बिहीबार फरकधारसँग कुरा गर्दै उनले भने, ‘तर, उहाँहरु एकतामा जोडिने कुरा गर्नुभएको छ । एकतासँग जोडिएर ठ्याक्कै वार्ताचाहिँ भएको छैन । भविष्यमा होला ।’

उपाध्यक्ष सुवेदी समाजवादी पार्टी सरकारमा सर्तसहित बसेको बताउँछन् । उनको भनाइमा संविधान संशोधनका निम्ति सरकार तत्पर नभए समाजवादी पार्टी सरकारबाट बाहिरिनेछ ।



सुवेदीको भनाइमा संविधान संशोधन नभए फेरि अर्को कोर्स हुन्छ । ‘समाजवादी पार्टी अहिले सर्तसहित सरकारमा बसेको हो,’ उनी थप्छन्, ‘संविधान संशोधनका निम्ति सरकार तत्पर रहेन भने बाहिरिने कुरा हुन्छ ।’

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो समाजवादी पार्टीले सरकार छोडेर आए आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताउँछन् । ‘पहिले त सरकार छोड्ने कुरा गर्नुपर्यो नि !’ फरकधारसँग महतो भन्छन्, ‘सरकार छोडेर आउनुभयो भने हामी कुरा गर्छौं ।’

समाजवादीले सरकार छोडेर आए पनि, नआए पनि महतो संविधान संशोधनका लागि संघर्षको विकल्प देख्दैनन् । ‘समाजवादी पार्टी सरकार छोडेर आयो भने एकताबद्ध भएर अगाडि बड्ने हो । संघर्षको विकल्प छैन । हामी त्यसैको तयारीमा लागिरहेका छौं,’ उनी भन्छन् ।

समाजवादी पार्टीका प्रेस सहयोगी विश्वदीप पाण्डे तत्कालीन माओवादीलगायत सबैलाई एकतामा आउन आह्वान गर्छन् । हिमाल, पहाड र तराई–मधेस जोड्ने, मुलुकको सप्तरंगी विविधतालाई आत्मसात गर्ने, मुलुकलाई दिगो विकास र समृद्धिको दिशामा अघि बढाउने सशक्त राजनीतिक शक्ति निर्माणको लागि नयाँ शिराबाट बहस र संवाद गर्नुपर्ने वेला आएको उनको बुझाइ छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम हेर्दा संघीयतालगायत सबै अग्रगामी राजनीतिक उपलब्धि संस्थागत गर्न र तिनको रक्षाका लागि एकता र रुपान्तरण अत्यावश्यक देख्छन् उनी । ‘अबको समय भनेको २०५२ सालपछिका सबै क्रान्तिकारी, अग्रगामी, प्रगतिशील राजनीतिक शक्तिबीचको एकता र रुपान्तरणको समय हो,’ पाण्डे भन्छन्, ‘कुनै आग्रह–पूर्वाग्रहविना, कुनै संकोचविना, राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाललाई उन्नतिको बाटोमा लम्काउने लक्ष्यसहित संवादहरुको थालनी किन नगर्ने ? परिवर्तनप्रति प्रतिबद्ध शक्ति र समूहहरु एकठाउँ किन नउभिने ?’

जे होस्, एकता गर्ने कुरामा दुवै पार्टी इच्छुक र सकारात्मक देखन्छिन् । तर, राजपा नेताहरुको भनाइमा समाजवादी पार्टी सरकारमा रहुन्जेल एकता सम्भव छैन । समाजवादी पार्टीले तत्काल सरकार छाड्ने संकेत देखिन्न । यस्तोमा कुनै 'पुसिङ फ्याक्टर'ले काम नगरेसम्म यी दुई दलबीच एकता भइहाल्ने स्थिति नबन्ला । 

  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १३:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया