२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

चन्दाको भरमा ‘देश बनाउन’ खोज्दा डुबेका धुर्मुस

कुनै बेला ‘म त मर्छु कि क्या हो’ भन्दै हास्य टेलीसिरिय ‘मेरी बास्सै’ बाट दर्शकस्रोता हँसाईरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अहिले ‘मलाई यहि मार्दिनुस’  भन्ने अवस्थामा पुगेका छन् । 

२०७५ सालमा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान त्यो बेला राष्ट्रिय उत्साहको विषय बनेको थियो । देशभरका नागरिकले खुलेर आर्थिक सहयोग गरेपछि रङ्गशाला छिट्टै बन्ने अपेक्षा गरिएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसन, भरतपुर महानगरपालिका र सरकारको साझेदारीमा रंगशालाको काम अघि बढेको थियो ।  



तर, परियोजना अघि बढ्दै जाँदा आर्थिक समस्या,  सरकारी नीतिगत ढिलासुस्तीले काम रोकिन पुग्यो । २०७८ साल साउनमा रङ्गशाला निर्माण अधुरै अवस्थामा रोकियो । कोभिड र आर्थिक अभावले रंगशालाको काम रोकिएको दाबी गर्दै आफू पछि सरेको धुर्मुसले सार्वजनिक रूपमै बताउँदै आएका छन् । 

अधुरो रङ्गशाला निर्माण सक्काउने जिम्मा सरकारले लिएको दुई वर्ष बितिसक्दा पनि परियोजना भने अहिले अगाडि बढ्न सकेको छैन । ऋण र कागजी प्रक्रियाको जटिलता तथा राजनीतिक अस्थिरताले रंगशालाले पुनर्जीवन पाउन नसकेको धुर्मुसको गुनासो छ। फाउन्डेसनले आपूर्तिकर्तालाई तिर्न बाँकी करिब १८ करोड रुपैयाँ नतिरिँदा धुर्मुस लगातार सरकारी कार्यालय धाउन बाध्य भएका हुन् । 



धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्याङ्कन रिपोर्ट तयार भएको छ । यति बेला धुर्मुसको स्वास्थ्य अवस्था कमजोर भएको खबर बाहिर आएपछि मुद्दा झन् संवेदनशील बनेको छ । 

लामो समयदेखिको मानसिक तनाव, आर्थिक बोझ र सार्वजनिक आलोचनाले थिचिएको भन्दै उनी उपचारमा रहेको समाचार सार्वजनिक भएको थियो । कलाकार मनोज गजुरेल, हिमेश पन्तलगायतले सामाजिक सञ्जालमार्फत धुर्मुसप्रति सहानुभूति व्यक्त गर्दै राज्य र समाजले समयमै साथ नदिँदा समर्पित व्यक्तिहरू निराश हुन बाध्य भएको टिप्पणी गरेका छन्।

यसैबीच, रंगशालासँग सम्बन्धित आर्थिक पारदर्शिता र फाउन्डेशनको निर्णय–क्षमताबारे प्रश्न उठ्ने क्रम पनि रोकिएको छैन । नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध अनिल अधिकारीले एक पोडकास्टमार्फत धुर्मुस–सुन्तलीले रङ्गशाला निर्माणकै क्रममा अस्वाभाविक सम्पत्ति जोडेको दाबी गरेका छन् । 

धुर्मुस–सुन्तलीको घर–जग्गादेखि विदेश भ्रमणसम्मका गतिविधि उनले विवादित रूपमा व्याख्या गरे पनि यी दाबीहरूको स्वतन्त्र प्रमाण भने उपलब्ध छैन। यद्यपि, यसले परियोजनाको वित्तीय व्यवस्थापनबारे उठेको शङ्का थप गहिरिएको सङ्केत गर्छ । जनताको भावनालाई आधार बनाएर सुरु गरिएको अभियान र निजी व्यवहारबीच देखिएको फरकले परियोजनाको विश्वसनीयता कमजोर बताउनेहरू पनि छन् । 



यो परियोजनाबारे सरकारी पक्ष पनि विवादबाट जोगिन सकेको छैन। केन्द्र र स्थानीय तहबीचको समन्वयहीनता, सुस्त निर्णय प्रक्रिया र कागजी अपूर्णताका कारण करिब १२ करोड रकम फिर्ता हुनुपरेको घटनाले सरकारी कमजोरी स्पष्ट देखिएको छ । जस कारण, नत सरकार परियोजनालाई गति दिन सक्षम भयो, न धुर्मुस आफ्ना मानसिक तथा आर्थिक समस्याबाट मुक्त हुन सके।

रङ्गशाला निर्माण गर्दा व्यहोर्नु परेको १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व आफ्नो थाप्लोबाट हटाउन नसक्दा  धुर्मुस थकितमात्रै छैनन्, लगभग विक्षिप्त अवस्थामै पुगिसकेका छन् । महायज्ञमा बोलकबोल रकम उठ्ने र सरकारबाट पनि सहयोग हुने विश्वासमा काम थप्दा उधारो रहन गएको उनी बताउँछन् । 

सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण÷उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्याङ्कनको काम अगाडि बढाउने घोषणा बजेटमार्फत गरेको थियो । यस घटनाले नेपालमा नागरिक पहल, सेलिब्रिटी–सञ्चालित फाउन्डेसन, सरकारी अनुमति प्रक्रिया र आर्थिक पारदर्शिताबारे महत्वपूर्ण प्रश्न उठाएको छ । 

ठूलो संरचना निजी पहलमा बनाउन खोज्दा कस्ता चुनौती आउँछन्, जिम्मेवारी कसरी बाँडिन्छ, नियमन र सहयोगको सन्तुलन कसरी मिलाइन्छ भन्ने बहस झन् तीब्र बन्दै गएको छ। धुर्मुसको उत्थान–पतन, उनको संघर्ष र उनीमाथि लागेका आरोपले नेपाली समाजमा ‘सेलिब्रिटी नेतृत्वका राष्ट्रिय अभियान’ कति सम्भावनायुक्त र कति जोखिमपूर्ण हुन सक्छन् भन्ने विषय फेरि एक पटक चर्चामा ल्याइदिएको छ।

विगतमा धुर्मुस सुन्तलीले गरेको समाज सेवा सम्मान योग्य नै थियो र छ । तर राज्यको काम गर्छौँ भन्ने महत्त्वाकाङ्क्षा, वित्तीय व्यवस्थापन बिनाको योजना भने घाटी भन्दा ठुलो हाड निल्नु जस्तै हुन पुगेको छ । धुर्मुसले यसअघि पनि दाताहरूको सहयोगमा कयौँ समाज सेवाका काम गरेका छन् । रंगशालाको यो कन्तविजोग हेर्दा चन्दाको भरोसामा ‘देश बनाउन’ खोज्दा धुर्मुस डुबेका हुन् । 

  • प्रकाशित मिति : ६ मंसिर, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया