जेनजी आन्दोलनपछि उदाएका नयाँ राजनीतिक दलहरूमा कलाकार, पत्रकार, सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता उल्लेखनीय रूपमै बढेको छ ।
कला क्षेत्रका प्रतिनिधिहरू दलमा प्रवेश गर्नु केवल लोकप्रियताको खोजी नभई, दीर्घकालीन नीतिगत परिवर्तन, नागरिक अधिकारका मुद्दा तथा आफ्नो पेशागत क्षेत्रमा देखिएका संरचनागत समस्या समाधान गर्ने लक्ष्यसँग जोडिन्छ ।
यसैबिच अभिनय यात्राको १५ वर्ष पार गरी ३० भन्दा धेरै चलचित्रमा अभिनय गरेकी अभिनेत्री निशा अधिकारी पनि राजनीतिक मैदानमा प्रवेश गरेकी छन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेत्री समेत हुन् ।
आफ्नो धारणा प्रष्ट रुपमा राख्न सक्ने यी अभिनेत्रीको डेब्यु चलचित्र ‘मिसन पैसा’ हो । त्यसपछि उनका ‘फस्ट लभ’, ‘हाउ फन्नी’ लगायत अन्य चलचित्रले पनि राम्रो प्रतिक्रिया पाएका छन् ।
२४ कात्तिकमा निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मार्फत निशाले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको उक्त दलमा उनी केन्द्रीय सदस्यको रूपमा जिम्मेवारी सम्हाल्दैछिन् ।
राजनीतिक यात्रा सुरु गर्ने विषयमा लामो समयदेखि योजना बनाइरहेकी निशाले २०८४ मा हुने निर्वाचनका लागि आफूलाई तयार पार्दै थिइन् । तर हालै जुन जेनजी आन्दोलन भयो, त्यसपछि भने यो ठीक समय हो भन्ने लागेको उनको विचार छ । जेनजी युवाहरूलाई गुमाएको क्षणमा राजनीतिक कुरालाई राजनीतिक निकास नै चाहिने रहेछ भन्ने महसुस भएपछि आफू राजनीतिमा होमिएको उनको भनाइ छ ।
निशालाई समसामयिक र राजनीतिक विषयमा पहिलेदेखि नै रुची थियो । दैनिक जिन्दगी पनि कहीँ कतै राजनीतिसँगै गाँसिने भएकाले उनको झुकाव कलाकारितासँगै राजनीतितर्फ पनि थियो । त्यसैले पनि होला निशाले स्नातक र स्नातकोत्तर अध्ययन पनि राजनीति शास्त्रमै गरेकी हुन् ।
निशा मात्रै होइन, पछिल्लो समय कलाकारहरूको राजनीतिक संलग्नता तीव्र भएको छ । अभिनेत्री एलिजा गौतम ‘जनादेश पार्टी नेपाल’की उपाध्यक्ष बनेकी छन् भने अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा ऊर्जामन्त्री कुलमान घिसिङले गठन गरेको ‘उज्यालो नेपाल पार्टी’बाट राजनीतिमा प्रवेश गरिसकेकी छन् । यसअघि पनि विभिन्न दलसँग आबद्ध कलाकारहरूको सहभागिता रहेको भए पनि हाल देखिएको सक्रियता भने निकै उल्लेखनीय मानिएको छ ।
राजनीतिमा कलाकारको प्रवेश लामो समयदेखि उपेक्षित बन्दै आएको नेपाली कला क्षेत्रका लागि सकारात्मक खबर हो । रेखा र करिश्मा मानन्धरहरूको आगमनले भने लामो समय मिडियामा स्थान पाइरह्यो ।
नीतिगत तहमा फिल्मकर्मीको उपस्थिति न्यून भएकै कारण यस क्षेत्रप्रति सरकारको ध्यान कम भएको भन्ने धारणा रहँदै आएको छ । यही पृष्ठभूमिमा पछिल्लो समय कलाकारहरू धमाधम राजनीतिक दलमा प्रवेश गर्न थालेपछि यसले केही आशा र अपेक्षा पनि जगाएको छ । तर उनीहरू संलग्न भएका दलहरूले वास्तवमै कला–साहित्यको क्षेत्रमा कस्तो परिवर्तन ल्याउलान् भन्ने प्रश्न भने अझै पर्खाइको विषय बनेको छ । सामाजिक यथार्थलाई कलात्मक माध्यमबाट व्यक्त गर्न अभ्यस्त भएका कलाकारहरूले राजनीतिक भूमिकामा पुग्दा पनि संवेदनशील मुद्दाहरूलाई प्रभावकारी ढंगले उठाउने अपेक्षा गरिएको छ ।
यद्यपि, राजनीतिक संलग्नताले उनीहरूको सिर्जनात्मक अभ्यासमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न अझै स्पष्ट छैन । राजनीतिक दायित्वले कलाकारको समय, स्वतन्त्रता र अभिव्यक्तिको दायरा सीमित गर्न सक्ने सम्भावनाले थप अवलोकन, पर्खाइ र गम्भीर बहस आवश्यक देखिन्छ । समग्रमा, कलाकारहरूको राजनीतिक प्रवेशले नयाँ ऊर्जा र दृष्टिकोण त अवश्य थपेको छ, तर यसले कला र साहित्यको स्वाभाविक प्रवाहलाई कत्तिको प्रभावित गर्छ भन्ने प्रश्न भने जन्मिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।