२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

पुस्तक अंश
केही महत्त्वपूर्ण अनुभव

मानसिक रोगको उपचार गर्ने सन्दर्भमा धेरै किसिमका बिरामीहरू हेरियो । त्यसमा आम नागरिकका लागि अनौठो लाग्ने तर बुझ्न जरुरी भएका केसहरू पनि थुप्रै थिए । त्यसमध्ये स्मरण भइरहेका केही केसहरू र मानसिक रोगबारे केही महङ्खवपँर्ण कुरा यसमा समावेश गरेको छु ।

उपचार नगरी जेल 



एकजना पँर्व–ब्रिटिस लाहुरेले आफ्नी श्रीमतीलाई घरभित्रै टुक्रा–टुक्रा पारेर काटेछन् अनि सुट्केसमा राखी घरपछाडि फालिदिएछन् । उनलाई ज्यानमारा केसमा मुद्दा चलाई जेल पठाइएको रहेछ । यो घटना भएको केही समयपछि उनका मानिस मकहाँ आए । उनीहरूले सम्पँर्ण घटना विवरण बताउँदै भने, ‘डा. साब, सद्दे मानिसले त यसो गर्दैन । मारिहाले पनि टुक्रा–टुक्रा गर्दैन र सबैले देख्ने ठाउँमा फाल्दैन । यो मानसिक बिरामी हो । उपचार गरिदिनुपर्यो ।’  
मैले सकारात्मक जवाफ दिएपछि उनीहरूले जेलमा कुरा गरी उपचारका लागि ल्याए ।

मैले हेरेँ, मानसिक रोग सिजोफ्रेनिया हो भन्ने यकिन गरेँ । यस्ता अलि अनौठो खालका घटना प्रायः सिजोफ्रेनियाका बिरामीले गरेको पाइन्छ । मानसिक रोग मेनिया भएकाले रिसको झोकमा कहिलेकाहीँ गर्न सक्छन् तर यस्तो विचित्र किसिमले गर्दैनन् । 



ती बिरामीलाई केही समय उपचार गरेपछि धेरै सुधार भयो र जेलबाट पनि छिट्टै निस्किए । औषधि निरन्तर खाइरहेकाले उनलाई राम्रो भयो । अनि ती मानिस पछि यु.के. गए र सुरक्षा गार्डका रूपमा काम पनि पाएछन् । पछि औषधि निरन्तर खाएनन् कि के भयो, रोग बल्झिएछ । उनलाई त्यहाँबाट फर्काइदिएछन् ।

अर्को यस्तै जेल परेका करिब ३५ वर्षका मानसिक बिरामीलाई मैले जेलबाट छुटाउन सकेको छु । उनलाई छारेरोग लागेको रहेछ । छारेरोग धेरै प्रकारका हुन्छन् । एउटा प्रकारमा बिरामी जीउ अररो पारेर लड्ने र मुखबाट फिँज निकाल्ने हुन्छ । यस्तो बिरामीलाई एकछिन्पछि आफैँ ठीक हुन्छ । होसमा आएपछि केही क्षण टाउको दुखेको जस्तो हुने, कन्फ्युजजस्तो हुने हुन्छ र बिस्तारै ठीक हुन्छ ।

तर कोही–कोही बिरामीचाहिँ केही समयपछि बहुलाउँछन् । यस किसिमको स्थितिलाई पोस्ट–इक्टल साइकोसिस भनिन्छ । उनलाई पनि यस्तै भएछ र आफ्नै छोरालाई मारिदिएछन् । त्यसपछि केस चल्यो र उनलाई सेन्ट्रल जेलमा पठाइयो । उनलाई कुनै डाक्टरले पनि जाँचेको रहेनछ । पछि सेन्ट्रल जेलमा पनि उनलाई छारेरोगले छोपेकाले मकहाँ उपचारका लागि ल्याए ।

मैले सोधपुछ गर्दा उनले ‘धेरै अघिदेखि नै यो छोप्ने रोग भएको र यस्तै छोपेको बेलामा त्यस्तो घटना पनि भयो’ भने । उनले त्यस बेलासम्म यससम्बन्धी कुनै औषधि पनि खाएका रहेनछन् । बिरामी काठमाडौंबाहिरका थिए । 



यदि उपचार गरेको भए यो हदसम्मको घटना हुने थिएन । आफ्नै छोरालाई सद्दे मानिसले कहाँ मार्छ र ? त्यसमा पनि एक्लो छोरो । मानसिक रोगको अवस्थामा भएको घटना भएकोले जेलको समय पनि केही माफ हुन्छ । त्यसैले यसबारेमा पनि मानसिक रोगी भएको भनेर लेखापढी भएपछि ती मानिस जेलबाट छुटे । पहिले नै थाहा भएको भए सजाय नै नहुन सक्थ्यो वा कम हुन सक्थ्यो होला । तर परिवारका मानिसलाई यसबारेमा केही थाहा नभएकोले बिरामीले जेल जानुपर्यो ।

डिप्रेसन र आत्महत्या

मानसिक अस्पतालमा म निर्देशक भएका बेला मेरो युनिटअन्तर्गतको बेडमा डिप्रेसनबाट ग्रस्त एकजना ३०–३५ वर्षकी महिला भर्ना भएकी थिइन् । निकै सुधार भइसकेको थियो । मैले ‘भोलि यो पेसेन्टलाई डिस्चार्ज गर्ने’ भनेँ । तर बिरामीलाई चाहिँ भनेको थिएन । भोलिपल्ट जाँदा त अस्पतालको नयाँ भवनको माथि गएर रेलिङमा झुन्डिई आत्महत्या गरेको थाहा भयो ।

धेरै डिप्रेसन भएपछि आत्महत्याको विचार आए पनि त्यो कार्यान्वयन गर्न सक्ने तागत उसमा हुँदैन । औषधि खाएर डिप्रेसनमा सुधार आउँदै गएपछि तागत बढ्छ र आत्महत्याको विचारलाई कार्यान्वयन गर्न सक्छ । 

त्यस कारण डिप्रेसन भएका बिरामीलाई हामीले आत्महत्याको विचार आउँछ कि आउँदैन ? भनेर सोध्नै पर्छ । तर कतिपय बिरामी जसले मर्ने नै विचार गरेको छ भने उसले आत्महत्याको विचार आउँदैन भन्छ । त्यस्तालाई जोगाउन निकै गाह्रो हुन्छ । त्यसैले यसबारेमा परिवारसँग पनि बुझ्नुपर्छ र सावधानी अपनाउनुपर्छ । बिरामीका आफन्तले सबै ठीक भएको छ भनिदिँदा कहिलेकाहीँ यस्ता घटना हुन सक्छन् ।

आफँखुशी औषधि खाँदा

म साइकियाट्रीमा एम.डी. गरेर दिल्लीबाट भर्खर आएको थिएँ । त्रिपुरेश्वरमै सानो क्लिनिक शुरु गरेको थिएँ । मेरो त्यो पुरानो क्लिनिकमा एकजना महिला आएकी थिइन् । उनका श्रीमान्लाई मानसिक रोगले च्यापेको रहेछ । श्रीमान्मा यस्तो–यस्तो लक्षण छ भनेर बताउँदै उनले भनिन्, ‘बिरामी आउनै मान्नुहुन्न, रोगै छैन मलाई भन्नुहुन्छ । बोलेको बोल्यै गर्नुहुन्छ । रातभरि सुत्नुहुन्न । गीत गाउने, हल्ला गर्ने गर्नुहुन्छ । केही औषधि दिनुहुन्छ कि डा. साब !’ 

मैले उनको कुरा सुनेपछि यो मेनियाको लक्षण हो भनेर बुझेँ । मैले बिरामी नआई औषधि लेख्न मिल्दैन, बिरामी हेर्नुपर्छ भनेँ । उनले कुनै औषधि पाऊँ, अलि ठीक भएपछि ल्याउँछु भनिन् । मैले विश्वास गरेर एउटा औषधि बिरामीकी श्रीमतीलाई दिएँ र खाने तरिका पनि सिकाएँ ।

औषधि खाएपछि अलि ठीक भएर बिरामी पनि मकहाँ आए । उनलाई आवश्यक औषधि लेखिदिएँ । उनी ठीक भए तर उनलाई बेला–बेलामा रोग बल्झिइरहने भएछ । उनकी श्रीमतीले म वा अन्य चिकित्सककहाँ नगई औषधि पसलमा जाँदै आफँखुशी औषधि लिएर श्रीमान्लाई सेवन गराउँदी रहिछन् । केही वर्षपछि बिरामीलाई साइड इफेक्ट भएछ । हात, खुट्टा, जीउ काम्ने, बाङ्गिने समस्या भएछ । यो मुख्यतः औषधि पसलेको दोष हो । पहिलोचोटि मैले लेखेको हो, तर त्यही औषधि डाक्टरलाई नभेटी तीन वर्षसम्म लगातार खान दिनुहुँदैन । अवस्था हेरेर औषधि थप–घट गराउनुपर्ने हुन्छ । 

आक्रामक बिरामी 

मैले मानसिक अस्पताल र आफ्नो क्लिनिकमा लामो समय काम गरेँ । केही मानिस ‘मानसिक अस्पतालमा पागलहरूले डर लाग्दो व्यवहार गर्छन्’ भन्ने गर्छन् । अरूले मलाई ‘तपाईंलाई बिरामीले कुटेको छ कि छैन ?’ भनेर सोध्ने गर्छन् । मानसिक अस्पतालमा त्यत्रो वर्ष काम गर्दा बिरामीको गाली, हकारपकार त धेरै सुन्नुपर्यो तर हातैचाहिँ कसैले छोडेका थिएनन् । 

तर एकदिन मेरो क्लिनिकमा मेरै छिमेकी महिला बिरामी भएकाले उनका श्रीमान्ले लिएर आएका थिए । मैले चिनेकै हो भनेर सामान्यरूपमा सोधपुछ गर्दै थिएँ । एक्कासि उनले मेरो अनुहारमा झ्याम्म हानिन्, चश्मा पनि उछिट्टिएर कहाँ पुग्यो । यो अनपेक्षित आक्रमणले म त आश्चर्यमा परेँ । यो नै जीवनमा भएको पहिलो घटना थियो । उनलाई मेनिया (बोलेको बोल्यै, कराएको करायै गर्ने बिमार) भएको थियो ।

मैले क्लिनिकका स्टाफलाई ‘एकदम उत्तेजित हुने, भर्ना गर्नुपर्ने र इमर्जेन्सी बिरामीलाई नलिनँ, अस्पताल नै पठाइदिनँ’ भन्ने गर्छु । सँचना पनि टाँसेको छु । एकपटक धनगढीका बिरामी मेरो क्लिनिकमा आए । मैले तीन–चार वर्षअघि हेरेको केस रहेछ । लामो समयको ग्यापपछि श्रीमतीलाई लिएर आएका थिए । उनलाई क्यानडा जानुपरेछ, त्यसैले ‘लोरी’ भन्ने औषधि ६ महिना अवधिको लागि लेखिदिनुपर्यो भने ।

मैले ‘यो औषधि खाइरहेको हो ? कसले लेखिदियो ?’ भन्दा आफैँ किनेर खाएको भने ।

मैले भनेँ, ‘यो बानी लाग्ने (लत लाग्ने) औषधि हो । म लेख्न सक्तिनँ । यो मैले पहिले लेखेको औषधि पनि होइन ।’

उनकी श्रीमतीले सो औषधि लेखिदिन कर गरिन्, मैले फेरि पनि लेख्न सक्तिनँ भनेँ । 

ती पुरुष बिरामी एकैचोटि उठेर ‘तँ मात्र छस् र डाक्टर ?’ भनी कराए । मुख छोडेर जथाभावी भन्न थाले । 

मैले प्रहरी बोलाउन स्टाफलाई अराएँ । ती बिरामी कराउँदै बाहिर गए । श्रीमतीले हात जोडेर ‘हाम्रो बेइज्जत हुन्छ, उनको दिमाग नै ठीक छैन, म माफी माग्छु, प्रहरी नबोलाइदिनुस्’ भनेपछि मैले प्रहरीलाई आउनुपर्दैन भन्न लगाएँ ।

त्यो लोरीलगायत कुनै पनि बानी लाग्ने औषधि डाक्टरको प्रेसक्रिप्सनविना किन्न पाइँदैन । डाक्टरले लेख्दा पनि एकपटकलाई मात्र मान्यता हुन्छ । नियमअनुसार यस्ता औषधि बेचिसकेपछि प्रेसक्रिप्सनमा औषधि दिइसकेको भनेर छाप लगाउनुपर्छ । औषधि बिक्रीको सबै रेकर्ड लेखेर कुनै–कुनै औषधिको हकमा बिरामीलाई रजिस्टरमा सही गराउनुपर्छ । तर यहाँ यस्तो चलन विरलै मात्र छ । कसैले लेखेर रेकर्ड राख्छन् पनि तर डाक्टरको नामचाहिँ पुरानै लेखिदिन्छन्, त्यसो गर्नुहुँदैन । 

एकपटक एकजना प्रोफेसरले आफ्नी छोरीलाई मानसिक रोग लागेकोमा मानसिक अस्पताल वा क्लिनिक लान नै चाहेनन् । घरमै रोग पालेर राखे । शिक्षित वर्गमा झन् सोसियल स्टिग्मा कम हुनुपर्नेमा झन् बढी पाइएको छ । गाउँमा भन्दा शहरमा यो समस्या बढी पाइएको छ । तर किन यसो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय पनि हो ।

यसलाई औषधि व्यवस्था विभागले जसरी अनुगमन गर्नुपर्ने हो त्यसरी गरेको देखिँदैन । काठमाडौँमा नै यो समस्या छ । एकचोटि लेखिदियो भने वर्षौंसम्म पसलबाट औषधि मागेर लगेको मैले पाएको छु । कोही बिरामी त १५ वर्षसम्म त्यही एउटै औषधि खाइरहेका हुन्छन् । बिरामीमा रोगको अवस्था, गर्भवती अवस्था आदि हेरेर औषधि परिवर्तन गर्नुपर्ने हुन्छ । यस्ता औषधि खाफँखुशी खान्छन् । यसबाहेक एन्टिबायोटिकलगायत डाक्टरको प्रेसक्रिप्सन चाहिने अरू औषधिमा पनि यस्तो समस्या देखिएको छ । औषधिको सम्बन्धमा राम्रो अनुगमन हुन जरुरी छ ।

सामाजिक कलङ्क र अन्धविश्वास

सोसियल स्टिग्मा अर्थात् सामाजिक कलङ्क (रोग, जाति, पेसा, लिङ्ग, यौनिकता आदिका कारण होच्याउने, हेप्ने प्रवृत्ति) उच्च वर्ग एवं शिक्षित वर्ग भनिनेहरूमा बढी पाइन्छ । तल्लो वर्गका मानिसमा मानसिक रोग लागेमा उसलाई उपचारको बाटो थाहा भएमा वा कसैले बाटो देखाइदिएमा उनीहरू खुरु–खुरु स्वास्थ्य संस्थामा आएर उपचार गर्छन् । तर उच्च तथा शिक्षित वर्ग भनिनेहरूमा यस्तो समस्या आएमा उनीहरूले धेरै सोच–विचार गर्छन् र रोग नै लुकाउने प्रयास गर्छन् । सकेसम्म अस्पताल वा क्लिनिक जान चाहँदैनन्, गइहाले पनि टोपी, गगल्स, मास्क आदि लगाई कसैले नचिनुन् भनेर आउँछन् । सकेसम्म डाक्टरलाई नै घर बोलाउन खोज्छन् । यो सामाजिक कलड्ढकै उपज हो ।

एकपटक एकजना प्रोफेसरले आफ्नी छोरीलाई मानसिक रोग लागेकोमा मानसिक अस्पताल वा क्लिनिक लान नै चाहेनन् । घरमै रोग पालेर राखे । शिक्षित वर्गमा झन् सोसियल स्टिग्मा कम हुनुपर्नेमा झन् बढी पाइएको छ । गाउँमा भन्दा शहरमा यो समस्या बढी पाइएको छ । तर किन यसो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय पनि हो ।

मुटु हल्लिएजस्तो हुने, डर लागेजस्तो हुने समस्या धेरैजसो मानसिक समस्याका कारणले भएको हुन्छ । तर बिरामी प्रायः मुटुको डाक्टरकहाँ पुग्छन् । कतिपय डाक्टरले आफैँ उपचार गरिरहेका हुन्छन् । उनीहरूलाई पनि यसबारे अलि–अलि ज्ञान त हुन्छ तर त्यस विषयका विज्ञचाहिँ उनीहरू होइनन् । उनीहरूबाट सही उपचार नपाउन सक्छन् । कतिपय डाक्टरले मानसिक समस्या हो भनेर मानसिक रोग अस्पतालतिर पठाउँछन् तर बिरामी आफैँले ‘म पागल हो र मानसिक अस्पताल जानलाई ?’ भनेर उल्टै रिसाउँछन् । यस कारणले गर्दा कतिपय बिरामी मानसिक अस्पतालमा पनि जाँदैनन् र ऊकहाँ पनि फेरि जाँदैनन्, बरु अर्को डाक्टरकहाँ जान्छन् । यो पनि सामाजिक कलङ्ककै उपज हो । यस्तो स्थितिले रोगी निको हुनुभन्दा रोग झन् बढ्दै जान्छ ।

कसैलाई एन्जाइटी (एक प्रकारको मानसिक रोग) भएर मुटुको धड्कन एकदमै बढ्ने र श्वास फेर्न गाह्रो भइरहेको छ भने तीमध्ये कोही मुटुको डाक्टरकहाँ पुग्छन् भने कोही छातीको डाक्टरकहाँ पुगिरहेका हुन्छन् । कतिपय छातीको डाक्टरले दम हो भनेर दमको औषधि दिइरहेका हुन्छन् । यस किसिमले त रोग निको हुँदैन, बरु सही उपचार नपाएर रोग बढ्दै जान्छ । यस्तो समस्या धेरै पाइन्छ । ठँला अस्पतालका नाम चलेका डाक्टरहरूबाट नै यस्तो कार्य वर्षौंदेखि भइरहेको तर निको नभएपछि मकहाँ आएको पाएको छु । अनि अरू औषधि हटाएर सही औषधि दिएपछि ठीक भएका धेरै केस मैले हेरेको छु । यी सबै धेरै हदसम्म सामाजिक कलड्ढका कारणले भएका हुन् । मानसिक रोगको डाक्टरकहाँ जाँदा चिनेजानेकाले त्यो त पागल भएछ भन्ने, घृणा गर्ने, होच्याउने, हेप्ने, पछि बिहे गर्न गाह्रो हुन्छ भन्ने ठान्ने हुँदा डराएर अन्यत्रै उपचार गर्न जान्छन् । कतिपय अवस्थामा गलत उपचार भइरहेको हुन्छ । यो समस्या नेपालमा धेरै नै छ । यो समस्या भारतमा पनि छ र अरू देशहरूमा पनि धेरथोर पाइन्छ ।

अन्धविश्वासचाहिँ तल्लो तथा अशिक्षित वर्गमा धेरै नै देखियो । कुनै पनि खालको तनाव झेल्न नसक्ने भयो भने प्रायः युवतीहरूमा यो समस्या देखिन्छ । काम्ने, बक्ने, लडिबुडी गर्ने आदि व्यवहार देखिन्छन् । यसलाई पहिले हिस्टेरिया पनि भनिन्थ्यो तर अहिले कन्भर्सन डिसोसिएटिभ डिसअर्डर (Conversion Dissociative Disorder) भनिन्छ । यो समस्या कहिलेकाहीँ स्कँलहरूमा समँहमा नै देखिन्छ । एकै किसिमको व्यक्तित्व भएकाहरूमा सामँहिकरूपमा यो समस्या देखिन्छ । यसलाई मास हिस्टेरिया पनि भनिन्छ । 
यस्तै खालका बिरामी मकहाँ पनि आउँछन् । यस्ता खालका बिरामी लिएर आउँदा औषधि लेखिदिएपछि हामी भन्ने गर्छौं, ‘यो बिरामीलाई तनाव धेरै भयो । के कारणले यस्तो भएको छ ? कारण थाहा पाउनुपर्छ । साथै यसरी छोपेका बेलामा यसलाई वास्ता गर्नुहुन्न । जति वास्ता गर्यो उति समस्या बढ्छ । त्यसैले बिरामीलाई धेरै वास्ता नगर्नु र धेरै अस्पताल चहार्ने पनि नगर्नु ।’  

तर परिवारका मानिस मान्दैनन्, उनीहरू डराएर परिवारका सबैले वास्ता गर्ने, सहानुभँति व्यक्त गर्ने, पटक–पटक अस्पताल लगिहाल्ने गर्छन् । त्यसले गर्दा सेकेन्डरी गेन (Secondary Gain) बढेर रोग झन् बढ्छ । सबैले महङ्खव दिँदा उसलाई आनन्दको महसुस हुन्छ र त्यस्तो लक्षण बन्द हुनुको सट्टा झन् बढ्छ । हामी यो सेकेन्डरी गेन नहोस् भनेर कोशिश गर्छौं तर परिवारले मान्दैनन् । 

एकचोटि यस्तै छोप्ने समस्या भएर बिरामीलाई धामीकहाँ लगेछन् । धामीले पन्यँले गालामा डामिदिएछ । त्यति मात्र नभई पिट्ने, कपाल तान्ने गरेछ । मानसिक रोगको उपचार यसरी हुन्छ भन्ने उनीहरूमा अन्धविश्वास पाइन्छ । यो समस्याचाहिँ माथिल्लो वर्गमा त्यति देखिँदैन । तल्लो वर्गमा, मानसिक रोग लाग्दा यो लाग्यो, त्यो लाग्यो भनेर विश्वास गर्ने, फुक्ने, डाम्ने, पिट्ने, भाले वा बोका चढाउनेजस्ता अन्धविश्वासी समस्याचाहिँ तल्लो वर्गमा नै धेरै देखिन्छ । स्टिग्माको समस्याचाहिँ माथिल्लो वर्गमा धेरै देखिन्छ । 

माथिल्लो वर्गका केही व्यक्तिहरूमा यस्तो समस्या हुँदा मलाई घरमै बोलाउँथे । शुरु–शुरुमा त गएँ पनि तर पछि ‘घरमा आउँदिनँ, क्लिनिकमा नै ल्याउनुस्’ भनेपछि ती मानिस बिरामी लिएर कहिल्यै आएनन् ।

वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व–स्वास्थ्य सचिव डा.निराकार मान श्रेष्ठको पुस्तक ‘सङ्घर्षबाट सफलता’ बाट

  • प्रकाशित मिति : १० मंसिर, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया