काठमाडाैं– सरकारबाट छात्रवृत्ति अमेरिका पढ्न गएको एउटा नेपाली विद्यार्थीले अमेरिकामा अध्ययन गरेर चिकित्सक बन्छ, अमेरिकी नागरिकको सेवामा समय खर्चन्छ । उसले जीवनको लामो समय अमेरिकामा नै बिताउँछ ।
तर, आफ्नो देश सबैलाई प्यारो हुन्छ । अमेरिका पढ्न गएको त्यो विद्यार्थी जीवनको उत्तरार्धमा नेपाल फर्किन्छ ।
नेपालको विमानस्थलमा उसको भव्य स्वागत गरिन्छ । स्वागत गर्दा उसलाई खादा लगाइदिन्छन् । तर, यही कुरा उसलाई मन पर्दैन ।
अमेरिकामा लामो समय बसेको र काम गरेकाले पनि हुनुपर्छ, ऊसँग मनग्य पैसा हुन्छ । अब कमाइसकेको त्यो पैसा नेपालमा समाजसेवामा खर्चन ऊ चाहन्छ ।
तर, विभिन्न गाउँहरु डुल्दा उसले पाउँछ– शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न दाताहरुले दिएको पैसा दुरुपयोग भइरहेको छ । त्यसैले उसले शिक्षा र स्वास्थ्यमा आफ्नो पैसा खर्च गर्नेमा प्रश्न उठाउँछ ।
एकपटक यस्तै गाउँमा पुग्दा उसले एउटा होटलमा खाजा खान खोज्छ । उसलाई मकै र मोही खाने मन हुन्छ । तर, अहिले नेपालका होटलमा कहाँ मकै र मोही हुनु ?
त्यसको सट्टा उसले प्लास्टिकमा पोको पारिएको पपकर्न र लस्सी पाउँछ ।
खान त उसले त्यो खान्छ, तर त्यसले उसलाई समस्यामा पार्छ, उसको पेट गडबढ हुन्छ । तर, उसले सहज रुपमा शौचालय पाउँदैन ।
यही कुराले निर्देशित भएर उसले समाजसेवाका रुपमा विभिन्न ठाउँमा शौचालय बनाउने निर्णय गर्छ । हुन त मानिसहरु उसलाई मन्दिर, विद्यालय तथा स्वास्थ्यचौकी बनाइदिन अनुरोध गर्छन् । तर, यी कुरामा उसको ध्यान जाँदैन । अन्त्यमा उसले मजदूरबाट शिलान्यास गराउँछ र शौचालयको निर्माणमा जुट्छ ।
यो दृश्य हो, नाटक विकास भर्सेस निकासको ।
सर्वनाम थिएटरमा शनिबार साँझ साढे पाँच बजे सुरु गरिएको यो नाटक हेर्न उपस्थित थिए, प्रदेश ३ का सांसद् केशव स्थापित । राष्ट्रिय नाटक महोत्सवको अवसरमा देखाइएको यो नाटकको परिकल्पना, लेखन तथा निर्देशन गरेका हुन् रामबाबु रेग्मीले । रेग्मीसँगै यो नाटकमा काम गरेका कलाकारलाई रंगकर्मी हरिहर शर्मा र स्थापितले प्रशंसापत्र मात्र दिएनन्, आआफ्ना धारणा पनि राखे ।
तर, जब स्थापितले आफ्ना कुरा राख्ने पालो आयो, उनी निकै भावुक बने । स्टेजमा नै उनी बोल्दाबोल्दै भक्कानिए ।
रुँदैरुँदै स्थापितले दुई वटा प्रतिबद्धता जनाए– दुई वर्षभित्र काठमाडौंमा सार्वजनिक शौचालय बनाउने र २ रुपैयाँमा गुणस्तरीय मिनरल वाटर पाउने व्यवस्था गर्ने ।
काठमाडौंका पूर्वमेयर स्थापितले त्यसपछि स्टेजमा धेरै समय खर्चिएनन् । उनी फर्किएर आफू बसेको ठाउँसम्म आए ।
तर, उनी रुन छाडेका थिएनन् ।
सिटमा आइसकेपछि पनि उनी घ्वाँघ्वाँ रोइरहेका थिए । उनी नजिकै रहेका एक आफन्तले आँसु पुछिदिए । अनि सम्झाउँदै थिए– भैगो नरुनुस् !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।