समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने उनीहरुको बलिदान अनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौंको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्युवरण गरेका अर्घाखाँची भूमिकास्थान नगरपालिका-४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।
परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी ? परिवार आज पनि यही प्रश्नले तड्पिएको छ । बीस वर्षीय सहिद माधव सारु मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।
सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए । बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौं आएका थिए । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उनलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी भएका थिए । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उनको अन्तिम यात्राको कारण बन्न पुग्यो ।
आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जतिसुकै गरेपनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्छन्, ‘तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौं तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए । अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।’
पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किए । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाई भएपछि घरको आर्थिक भारले थिचिएर उनी फेरि विदेशिन बाध्य भएका छन् । रोजगारीको लागि र घरमा रहेका श्रीमती तथा छोरा, छोरी पाल्नका लागि केही दिनअघि फेरि रोजगारीको लागि कतारमा गए ।
परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् । आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ । माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सकेकी छैनन् ।
उनले भनिन्, ‘घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।’ उनको मौनता र आँसु घरभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ । पुत्र शोकको पीडा सहँदै आमा मधु भनिन्, ‘देशका लागि जसले ज्यान दियो, उनैका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने ?’ उनको गुनासो छ । ‘देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।’ गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उनको जोड रहेको छ ।
सारुको परिवार त एक प्रतिनिधिमा हुन् । अहिले जेनजी आन्दोलनको क्रममा जतिपनि युवाले ज्यान गुमाए उनीहरुका परिवारको अवस्था सारु परिवारको जस्तै छ । अधिकांश सामान्य परिवारका युवा, जसमा परिवारको सबै भरोसा जोडिएको थियो उसैलाई गुमाउनुपर्छ परिवार कुन अवस्थाबाट गुज्रिरहेको छ त्यो कल्पना बाहिरको विषय हो । औपचारिकताको लागि मात्र नभएर जेनजी सहिद परिवारलाई राज्यले न्याय दिन ढिला गर्नुहुँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।