[भारत] बिहे भोज खुवाउन नसकेर ‘लिभ–इन’मा बस्दै छन् ४ लाख बढी आदिवासी, सहज छैन ‘लिभ–इन’ जिन्दगी

नयाँ दिल्ली– भारतको झारखण्ड राज्यका २ लाखभन्दा बढी आदिवासी जोडी ‘लिभ–इन रिलेसनसिप’मा छन् । विवाह नगरिकनै कुनै जोडी पति–पत्नीसरह सँगै बस्ने अवस्थालाई लिभ–इन रिलेसनसिप भनिन्छ । 

पश्चिमी मुक्त समाजबाट सुरु भएको ‘लिभ–इन’ शैलीले पारम्परिक संस्कारयुक्त दक्षिण एसियाली समाजलाई भर्खरभर्खर छुन थालेको छ । पछिल्लो समय प्रायः सहरी क्षेत्रका युवा पुस्तामा ‘लिभ–इन’प्रति रुचि देखिन थालेको छ । ठूला सहरमा आधुनिक पुस्ताको लडाइँले भर्खरै मात्र मान्यता दिलाएको लिभ–इन रिलेसन कुनै गाउँको आदिवासी समाजमा दशकौँदेखि यति ठूलो संख्यामा चलिरहेको छ भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । 

यो कुनै संस्कार या परम्परा होइन, न त आधुनिकताको अभ्यास नै । यो त एक सजाय हो– विवाह गर्दा गाउँलेलाई भोज खुवाउने पैसा जुटाउन नसक्नुको सजाय । 

झारखण्डका विभिन्न गाउँमा लाखौँको संख्यामा बसोवास गर्ने यो आदिवासी समुदायमा बिहे गर्दा गाउँभरिकालाई बोलाएर बिहान–बेलुकै भोज खुवाउनुपर्ने चलन छ । गाउँलेलाई दुई छाक मासुभात र रक्सी नखुवाएसम्म बिहेले सामाजिक मान्यता पाउँदैन । भोजमा १ लाख (भारतीय) रुपैयाँसम्म खर्च हुन्छ । यो कमजोर आर्थिक स्तरका गाउँलेका लागि ज्यादै ठूलो खर्च हो । 

बिहेभोजको खर्च उठाउन नसक्नेले या त एक्लै जिन्दगी काट्नुपर्छ, होइन भने लिभ–इनमा बस्नुको विकल्प छैन । त्यसैले त यहाँका २ लाखभन्दा बढी (६–७ प्रतिशत) जोडी लिभ–इनमा छन् । 

यसरी लिभ–इनमा बस्नु सहज भने छैन । लिभ–इनमा बस्नेले पारिवारिक र सामाजिक बहिष्करणको सिकार बन्नुपर्छ । 



महिलाले सिन्दुर लगाउन पाउँदिनन् । विवाहितले जस्तो फलाम या लाहाको चुरा लगाउन पाउँदिनन् । पाठपूजामा सामेल हुन सक्दिनन् । गाउँका स्त्रीपुरुष उनलाई तिरस्कारपूर्ण नजरले हेर्छन् । गाउँका महिलासँग हास्न–बोल्नसमेत रोक लगाइन्छ । 

लिभ–इनमा बस्ने पुरुषले पनि उत्तिकै पीडा भोग्नुपर्छ । गाउँमा हुने विवाह–संस्कार, पूजापाठमा सामेल हुन पाउँदैनन् । आफ्नै घरसमेत जाने अनुमति हुन्न । भोजभतेरविना विवाह गर्ने या लिभ–इनमा बस्नेलाई परिवारले नै त्यागिदिन्छ । 



यस्तो जोडीबाट जन्मेका सन्तानको पैतृक सम्पत्तिमा अधिकार रहन्न । छोरीहरुको कान छेड्ने संस्कार पनि हुन्न । अन्य केटाकेटी उनीहरुलाई ताना दिन्छन् । उनीहरुसँग खेल्दैनन् । ठूलो भएपछि कसैले बिहे गर्न मान्दैन । गरे पनि समाजले मान्यता दिँदैन । 

जीवनभर मात्र होइन, यस्ता जोडीले मृत्युपछि पनि सजाय भोग्नुपर्ने हुन्छ । गाउँको सार्वजनिक चिहानमा उनीहरुको शवले ठाउँ पाउँदैन । चिहानबाहिर अलग्गै गाड्नुपर्छ । उनीहरुको शवमाथि पारम्परिक ‘पथ्थलगढी’ गर्न निषेध गरिन्छ । 

पछिल्लो समय केही सामाजिक संघसंस्थाले आर्थिक अभावकै कारण लिभ–इन रिलेसनमा रहेका जोडीहरुको सामुहिक विवाह गराइदिन थालेका छन् । तर, लाखौँको संख्यामा सामाजिक बहिष्करणमा जिइरहेका जोडीमाझ यो पर्याप्त भने छैन । 

  • प्रकाशित मिति : असार ८, २०७६ आइतबार १९:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया