२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

क्रिकेट महोत्सव एनपिएल : खेलकुद र मनोरञ्जन एकै मञ्चमा

नेपालमा यति बेला क्रिकेटको माहौल छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा १ मंसिर गतेदेखि सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणले अहिले देशलाई क्रिकेटमय बनाइदिएको हो । एनपिएल क्रिकेट पारखीका लागि एउटा उत्सव पनि हो । 

२७ मंसिरसम्म चल्ने यो प्रतियोगिताले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै व्यापक रूपमा चर्चा पाएको छ । त्रिवि क्रिकेट रङ्गशाला केवल क्रिकेटमै सीमित छैन, क्रिकेटसगँ सँगै सङ्गीतमय पनि बनेको छ । खेलअघि र खेलपछि, चौका–छक्काका क्षणदेखि ब्रेकसम्म नेपाली गीत–सङ्गीतको धुनले छुट्टै माहोल सृजना गरिरहेको छ ।  



जसले मैदानभित्र प्रवेश गर्दै गर्दा नै दर्शकहरु साङ्गीतिक माहोलमा प्रवेश गर्दछन् । यसरी खेलसँगै सांस्कृतिक स्पर्श जोडिनुले दर्शकको जोश र उत्साहमा नयाँ उचाइ थपेको छ। 

प्याराफिट र फ्लडलाइट जडान गरीएको रंगशालामा रात्रिकालिन  समयमा आ–आफ्ना टिमका एन्थमहरू घन्किदा  समर्थकहरू एकैसाथ रमाउन थाल्छन् । कुनै टिमको एन्थममा आधुनिक बीट मिसिएको छ त कतै देउडा र लोकधुनको मिठास । यसले खेलाडीमाथि पनि मैदानमा उत्रिँदै गर्दा छुट्टै ऊर्जा प्रदान गरेको देख्न सकिन्छ । 



लेडी चियरहरूको प्रस्तुतीबीचको तालमेलले खेलको झनै उत्साह बढाएको देख्न सकिन्छ । यस सँगै दर्शकहरुले बनाएका टिकटक भिडियोहरु पनि चर्चामा छन् ।  

साथसाथै खेलबीचका ब्रेकहरू त झनै रोचक बन्दै गएका छन् । छोटो ब्रेकमा पनि स्टेडियमभित्र आधुनिक लोक आधुनिक, देउडा र विभिन्न टिमका गीतहरू क्रमश बजिरहेका हुन्छन् ।  यस्तै टिमअनुसारका गीतहरू हेर्ने हो भने एनपिएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोजलगायत टिम एन्थमहरु अझ बढी चर्चित छन् ।     

एनपीएलले यसपटक खेल र संस्कृतिलाई एउटै मञ्चमा उभ्याएको अनुभव दर्शकहरूले व्यक्त गरिरहेका छन्। क्रिकेटको रोमाञ्चसँगै नेपाली मौलिक गीत–सङ्गीतको गुञ्जनले नेपाली पहिचानलाई उजागर गर्ने काम गरेको छ।  देउडा, लोकगीत र आधुनिक धुनहरूको सन्तुलित मिश्रणले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताभन्दा  कम नपार्ने गरी आकर्षण दिएको छ।

समग्रमा, एनपिएलले नेपाली क्रिकेटमा नयाँ अध्याय लेखिरहेको छ। खेलकुद, मनोरञ्जन र संस्कृतिको यस्तो रमणीय संयोजनले कीर्तिपुरलाई केही दिनका लागि देशकै सबैभन्दा जीवन्त स्थल बनाइदिएको छ । यही सांस्कृतिक र खेलमैत्री वातावरणलाई निरन्तरता दिन सकियो भने एनपिएल केवल क्रिकेट लिग मात्र नभई नेपाली मनोरञ्जन उद्योगमै एक महत्त्वपूर्ण ब्रान्ड बन्ने सङ्केत अहिलेको माहौलले देखाएको छ ।



  • प्रकाशित मिति : १३ मंसिर, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया