२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

आश्मा विश्वकर्माको संघर्ष र कभर डान्सको अन्तर्राष्ट्रिय चर्चा

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालका प्लेटफर्ममा आश्मा विश्वकर्मा चर्चाको शिखरमा छिन् । नृत्य प्रस्तुत गरेर चारैतिरबाट प्रशंसा कमाएकी आश्मा कुनै बेला गायनप्रति विशेष रुचि राख्थिन । तर, उनी परिवारको असहमति र गीत गाउनका लागी अवसर नपाउँदा गायन क्षेत्रमा प्रवेश गर्न सकिनन् ।  

त्यसपछि सन् २००९ सालतिर कक्षा आठमा पढ्दै गर्दा नै आफ्नो साथीको प्रेरणामा विद्यालय छुट्टिपछिको समयमा कक्षा कोठामै नृत्य सिक्न थालिन्। यही क्षणबाट आश्माको नृत्य यात्रा औपचारिक रूपमा सुरु भयो।



पढाइमा अब्बल मानिने आश्मा नृत्यतर्फ आकर्षित हुँदै जाँदा उनका शैक्षिक नतिजा भने क्रमशः कमजोर हुँदै गए । छोरीलाई उत्कृष्ट शिक्षा दिलाउने सपना देखेको  परिवारले उनको नृत्यप्रतिको झुकावलाई प्रारम्भिक रूपमा स्विकारेन । नृत्य कार्यक्रममा सहभागी हुन जाँदै गर्दा आमाले लठ्ठीले कुट्दै घर ल्याएको घटना आज पनि आश्मालाई ताजै सम्झना छ।

तर निरन्तरता र लगनशीलताले उनलाई नयाँ मोडमा पु¥यायो। साथीकै साथमा उनले नेपाल स्पोर्ट डान्स ट्रेनिङ सेन्टरमा प्रवेश पाइन् र बीगर्ल तालीमका लागि पूर्ण छात्रवृत्ति हासिल गर्दै ‘बीगर्ल स्काई’ बन्न सफल भइन्। त्यही अनुपम अवसरले आश्मा लोकप्रिय डान्स समूह ‘द कार्टुन्ज क्रु’ मा सहभागी भइन जसले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । यही उपलब्धिलाई उनी आफ्नो वास्तविक ‘टर्निङ पोइन्ट’ मान्छिन्।



आश्मा सन् २०१० देखि सक्रिय डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’को एक्लो महिला डान्सर र  नेपालको पहिलो बीगर्ल  समेत हुन । सन् २०१६ मा फेन्टास्टिक (पानी पर्यो), निर जहिल्यै रिसाउने गीतको कभर सङ, नाइ मलाइ था छैन लगायतका गीतबाट धेरै फ्यानहरूमा ‘द कार्टुन्ज क्रु’ पपुलर भएको थियो । 

प्रायः कार्टुन्ज क्रुका संस्थापक सरोज अधिकारीसँगै म्युजिक भिडिओहरूमा देखिने उनको राम्रो फ्यान फलोइङ छ । नेपालमा सबैभन्दा राम्रो महिला डान्सरमा अग्र पङ्तीमा पर्ने उनले द कार्टुन्ज क्रुसँगै सयौँ म्युजिक भिडिओ, विभिन्न चलचित्रका गीतहरूमा नृत्यका साथै कयौँ सिरिजहरूमा काम गरिसकेकी छन् ।
 
तर यसपटक  भने उनी ‘चिक्री चिक्री’ बोलको गीतले  चर्चामा छिन् ।  टी–सिरिज र आईभीवाई इन्टरटेनमेन्ट युट्युब च्यानलले कोल्याबको रूपमा ‘चिक्री चिक्री’ बोलको गीत ७ नोभेम्बरमा सार्वजनिक गरेको थियो । यो गीतलाई सोही दिन हिन्दी र तेलगु भर्जनमा पनि सार्वजनिक गरिएको थियो । 

यो गीत २७ मार्च २०२६ मा सार्वजनिक मिति तोकिएको स्पोर्टस् एक्सन फिल्म ‘पेड्डी’ मा समावेश छ । जहाँ राम चरण र बलिउड अभिनेत्री जान्भी कपुर प्रमुख भूमिकामा देखिने छन् । एआर रहमनको म्युजिक कम्पोजिसन तथा मोहित चौहान द्वारा गाइएको ‘चिक्री चिक्री’ मा राम चरण कुनै पहाड जस्तो ठाउँमा डान्सको स्टेप गरिरहेका छन् । गीतमा उनी बिँडी तान्दै र क्रिकेटको ब्याट प्रयोग गरेर नृत्य गरिरहेका छन् । यो गीतमा रहेको राम चरणको डान्स स्टेप पछिल्लो समय भारतसँगै नेपालमा निकै चर्चित भइरहदा  यस गीतमा कयौँ फ्यानहरूले भिडिओ बनाइरहेका छन् । 

ती कभर भिडिओहरू मध्ये आश्माको प्रस्तुती सबैभन्दा धेरै चर्चित बनेको हो । बिँडी तान्दै आश्माले गरेको खुट्टाको स्टेपलाई धेरैले रुचाएका छन् । विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मबाट ११ नोभेम्बरमा आश्माले कभर डान्स सार्वजनिक गरेकी थिइन् । त्यस यता यो  भिडिओलाई फरक फरक प्लेटफर्मबाट  करोडौँ पटक हेरिएको छ । हालसम्म सामाजिक सञ्जाल प्लेटफर्ममध्ये आश्माको भिडिओलाई इन्टाग्राममा सबैभन्दा धेरै हेरिएको छ । 
 
यसअघि आश्माले फेसबुकमा शेयर गर्ने भिडिओहरूमध्ये केहीले मात्र मिलियनको भ्युज पार गर्ने गरेका थिए । तर उनको यो भिडियो नेपालमा मात्रै नभई भारतमा पनि छुट्टै स्थान बनाउन सफल भएको छ । सबै सामाजिक सञ्जालमा यो गीत भाइरल भइरहँदा अधिकांश प्रयोगकर्ताले गीतका ओरिजिनल डान्सर भन्दा पनि आश्माको डान्स र कोरियोग्राफी राम्रो भएको भन्दै प्रशंसा गरिरहेका छन् । राम चरणको डान्सलाई चुनौती दिने खालको नृत्य भएको भन्दै धेरैले तारिफ गरिरहेका हुन् । 



उनको नृत्यलाई नायिका प्रियङ्का कार्की, रिमा विश्वकर्मासहित कयौँ सेलेब्रेटीहरूले समेत तारिफ गरिरहेका छन् । त्यति मात्रै होइन  बलिउड गायिका दीपा झा देखि ‘पेड्डी’की अभिनेत्री जान्ह्वी कपुरले समेत आश्माको नृत्यलाई इन्स्टाग्राममा सेयर गरेकी छन् ।

फेसबुक रिल्स, टिकटक सर्टस्, इन्स्टाग्राम र टिकटकमा भाइरल भइरहेको आश्माको नृत्यले रामचरणलाई नै चुनौती दिएको देखिन्छ । उत्कृष्ट कोरियोग्राफी , सम्पादन र कलरिङले पनि उनको नृत्यलाई दमदार बनाएको छ ।

यो विषयमा आश्माले भने रामचरणको नृत्य मन परेपछि आफूले एक दिनसम्म प्राक्टिस गरेको बताउछिन् । यसपछि सहकर्मी सरोज अधिकारीको भाइ सुरज अधिकारी र सन्देश थापालाई लिएर आश्मा सुटका लागि स्वीटजरल्याण्ड पार्क पुगेकी हुन । त्यहाँ दुई घण्टा सुट गर्दै जादा मौसमले साथ नदिएपछी फेरि अर्को दिन भिडियो सुटका लागि गएका थिए ।  

त्यो नृत्यका लागि तानेको बिँडीले  एक हप्तासम्म छाती  दुखेको  उनी बताउँछिन् । तर, गीतको भिडियो यति धेरै भाइरल होला भनेर आफूले नसोचेको उनी उनको भनाई छ । उक्त नृत्य भाइरल भएपछि भने आश्माको चौतर्फि प्रशंसा भइरहेको छ ।  नृत्यप्रतिको बाल्यकालीन आकर्षण, परिवारको असहमति, पढाइ र सपनाबिचको दोधार, कुटाइदेखि कडाइसम्मका असंख्य चुनौती र निरन्तरता—यी सबैलाई छिचोल्दै आश्मा आज यो स्थानमा उभिएकी हुन् । 

‘चिक्री चिक्री’ को केही सेकेन्डको स्टेपले उनलाई जसरी अन्तराष्ट्रिय चर्चासम्म पुर्यायो, त्यसले एक कुरा प्रमाणित गरिदियो—प्रतिभाको कुनै सीमा नाका हुँदैन । आफ्नो नाम, पहिचान र सांगीतिक आन्दोलनलाई शरीरको तालमा उतार्न सक्ने जो–कोही कलाकारहरूका लागि आश्मा आज एक प्रेरणादायी उदाहरण बनेकी छन् । अनि प्रमाणित भएको छ दृढता र मेहेनतको फल भेटिन्छ भनेर ।  

  • प्रकाशित मिति : १५ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया