नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो।
पार्टीले आगामी पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय पनि गरेको छ। बैठकले वर्तमान कार्यसमितिको समयावधि माघसम्म कायम राख्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिएका हुन् ।
केन्द्रीय कार्यसमितिले पारित गरेको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्नेछ। गाउँ–नगर अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन गर्ने तयारी छ।
त्यसैगरी प्रदेश अधिवेशन पुस २२ र २३ गते सञ्चालन हुने जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा दिएका छन् । यसअघि १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।