दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा अहिलेसम्म एक टोलीको टुंगो लागेको छ ।
आठ टिममध्ये सुदूरपश्चिम रोयल्सले मात्र जारी सिजनमा प्लेअफमा स्थान सुरक्षित गरेको हो । बाँकी तीन स्थानमा पुग्ने टोलीको भने टुंगो लाग्न बाँकी छ ।
यो समाचार तयार पार्दा एनपिएल २०२५ को लिग चरणमा १९ म्याच सम्पन्न भइसकेका छन् ।

लिगमा मंगलबार दुईवटा म्याच हुने तालिका छ । जारी संस्करणको २०औँ खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स तथा २१औँ म्याचमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्ने तालिका रहेको हो ।
कसको पल्लाभारी ?
मंगलबार हुने चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ । प्लेअफ सम्भावना जीवित राख्न दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । विशेषगरी प्लेअफ सम्भावनाको झिनो आशा कायमै राख्न जनकपुरका लागि चितवनविरुद्धको म्याच निर्णायक हुनेछ ।
लगातार चार हार बेहोरेको ऊ अहिले अंक तालिकाको पुछारमा छ । उता कुशल मल्ल नेतृत्वको चितवनका लागि पनि जनकपुरसँगको खेल महत्वपूर्ण छ ।
यदि मंगलबारको खेल गुमाएमा उसको प्लेअफ यात्रा निकै कठिन बन्नेछ । ऊ अहिले चार खेलबाट चार अंकका साथ तालिकाको चौथो नम्बरमा छ । चितवन अब बाँकी तीन खेलमा जित्नैपर्ने दबाबमा छ ।

हालसम्म एनपिएलमा जनकपुर र चितवनबीच एक खेलमा प्रतिस्पर्धा भएको इतिहास छ । गत संस्करणमा भएको उक्त भेटमा चितवनले जनकपुरलाई ३२ रनले हराएको थियो ।
ऊ यसपालि पनि सोही प्रदर्शन दोहोर्याउँदै जनकपुरविरुद्धको जित यात्रा कायमै राख्न चाहन्छ । उता डिफेन्डिङ च्याम्पियन जनकपुर गत हारको बदला लिँदै चितवनलाई हराउने योजनामा छ ।
जारी सिजनमा चितवनका लागि रवि बोपारा, सोहेल तनवीर र रञ्जित कुमार सानदार प्रदर्शन गरिरहेका छन् । जनकपुरको टिममा कुनै पनि खेलाडी लयमा देखिएका छैनन् । सोही कारण पनि जनकपुरको टिमको हालत खराब छ ।
यस्तै, मंगलबार नै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको खेल अपरान्ह ४ बजेदेखि कीर्तिपुरस्थित टियू स्टेडियममा सुरु हुनेछ । जारी एनपिएलमा अहिलेसम्म कर्णाली र पोखराको प्लेअफ सम्भावना कायमै छ ।

अंक तालिकामा कर्णाली छैटौँ तथा पोखरा सातौं स्थानमा छ । प्लेअफमा पुग्न अब कर्णालीको अंक गणितीय सम्भावना मात्र बाँकी छ । त्यसका लागि उसले बाँकी दुई म्याचमा फराकिलो जित निकाल्नुपर्छ । साथै ६ अंकका साथ प्लेअफ लक्ष्य हासिल गर्न कर्णालीले अरू टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
उता पोखराको प्लेअफ सम्भावना पनि कठिन छ । ऊ अहिले चार खेलबाट २ अंकका साथ तालिकाको सातौं स्थानमा छ । प्लेअफ टिकट प्राप्त गर्ने हो भने उसले अब राम्रो नेट रन रेटका साथ चारवटै खेल जित्नुको विकल्प छैन ।
यदि मंगलबारको खेलमा हार बेहोरेमा पोखराको प्लेअफ सम्भावना लगभग समाप्त हुनेछ । त्यसकारण ऊ कर्णालीविरुद्ध अनिवार्य जितको खोजीमा हुनेछ ।
हालसम्म एनपिएल इतिहासमा कर्णाली र पोखरा एक म्याचमा आमने–सामने भएका छन् । गत सिजनको उक्त खेलमा कर्णालीले सात विकेटको जित निकालेको छ ।
ऊ यसपटक पनि पोखराविरुद्ध सहज जित दर्ता गर्ने योजनामा छ । यता कुशल भुर्तेल नेतृत्वको पोखरा गत हारको बदला लिँदै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ ।

जारी एनपिएलमा कर्णालीका लागि कप्तान सोमपाल कामी, मार्क वाट, नन्दन यादव र पवन सर्राफ लयमा देखिएका छन् । पोखरामा भने एडम रोसिङ्टनबाहेक अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक छैन ।
मंगलबारको खेलमा पोखराबाट इंग्ल्याण्डका स्टार जेसन रोयले डेब्यू गर्ने छन् ।
उनको आगमनपछि पोखराको टिममा आत्मविश्वास बढेको छ । मंगलबारको खेल जित्नसक्ने टोलीको आकलन गर्दा पहिलो खेलमा चितवन तथा दोस्रो म्याचमा पोखरा विजयी हुने सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।