नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ प्लेअफ नजिक पुगेको छ । अहिलेसम्म लिगको १९ खेलको नतिजा आइसकेको छ ।
सोमबार भने खेलाडी र दर्शकका लागि विश्रामको दिन रहेको छ । मंगलबारदेखि त्रिवि क्रिकेट स्टेडियममा फेरि क्रिकेटको रौनक जारी रहने छ ।
लिगमा १९ औँ खेल सकिँदा पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स सबैभन्दा बलियो देखिएको छ । ऊ पाँच खेल खेल्दा सबैमा जित प्राप्त गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।
लिगमा विराटनगर किंग्स पनि उत्कृष्ट लयमा छ । अहिलेसम्म पाँच खेल खेलेको उसले चारमा जित तथा एकमा हारको सामना गरेको छ । त्यस्तै, काठमाण्डु गोर्खाजले पनि लिगमा चार खेल जित्दै आठ अंक बटुलिसकेका छ ।

एनपिएल पहिलो संस्करणको ट्रफी विजेता जनकपुर बोल्ट्स भने लगभग लिगबाट बाहिरिसकेको छ । उसले अहिलेसम्म चार खेल खेल्दा चारैमा हार बेहोरेको छ । जनकपुरले बाँकी तीनै खेलमा जित हासिल गरे पनि उसको ६ अंक मात्र हुन जान्छ । जो प्लेअफमा पुग्नको लागि प्रयाप्त हुँदैन ।
त्यस्तै, कर्णाली याक्स पनि जनकपुरकै अवस्थामा छ । पाँच खेल खेल्दा उसले एकमा मात्र जित हात पार्दा बाँकी चार खेल गुमाएको छ । एनपिएल सिजन–२ मा बाँकी रहेका खेल निकै रोमाञ्चक हुने दर्शकको अनुमान छ ।
लिग चरण सकिनै लाग्दा विदेशी खेलाडी आउने–जाने बढेको छ । यूएईमा सम्पन्न टी–१० लिग र सुरु हुन लागेको इन्टरनेशनल टी–२० लिगका कारण यतिबेला विदेशी खेलाडीको आवतजावत बढेको हो ।
यसपालि पनि एनपिएलका आठवटै टोलीले केही चर्चित विदेशी खेलाडीलाई अनुबन्धित गरेका छन् । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, इमरान ताहिर, वेन पार्नेल इंग्ल्याण्डका जेसन रोय, डेविड मलान, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी निशम, अष्ट्रेलियाका क्रिस लिन, जोश ब्राउनजस्ता स्टार एनपिएलमा जोडिएका हुन् ।

केही विदेशी खेलाडीले सुरुदेखि नै एनपिएल खेल्दा केही फर्किसके । यस्तै, केही विदेशी स्टार नेपाल भित्रिने क्रममा छन् । यस सामग्रीमा एनपिएल आधा सिजन खेलेर फर्किसकेका र नेपाल आइरहेका खेलाडीको बारेमा चर्चा गरिएको छ ।
फिर्ता भइसकेका खलाडी
पोखरा एभेन्जर्समा अनुबन्धित न्यूजिल्याण्डका स्टार जिमी निशम यूएई फर्किसकेका छन् । उनी आईएल टी–२० लिग खेल्नको लागि एनपिएलको बीचमै यूएई फर्किएका हुन् । पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका निशमले यसपालि पोखराका लागि चार खेल खेले, जसमा उनले ब्याटिङमा एक अर्धशतकको मद्दतमा ९९ रन तथा बलिङमा चार विकेट लिए ।
निशमले जाँदाजाँदै नेपाली समर्थकलाई फेरि भेट्ने वाचासमेत गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्ससँग जोडिएका अफगानी स्टार गुलबदिन नाइब पनि यूएई फर्किएका छन् । उनी पनि आईएल टी–२० लिग खेल्न यूएई फर्किएका हुन् ।
लुम्बिनीका लागि पाँच खेल खेल्ने मौका पाएका गुलबदिनले सोचेजस्तो प्रदर्शन भने गर्न सकेनन् । चितवनविरुद्धको पहिलो खेलमा ४४ रनको पारी खेलेका उनले बाँकी चार खेलमा भने ४६ रन मात्र जोडे ।

बलिङ गुलबदिनले पाँच विकेट लिए । उनीबीचमै जानेभएपछि लुम्बिनीले श्रीलंकाका निरोशन डिकवेलालाई भित्र्याइसकेको छ । उनले पोखराविरुद्ध एनपिएल डेब्यू गरेका थिए । निशम र गुलबदिन आईएल टी–२० मा दुबई क्यापिटल्समा आबद्ध छन् ।
त्यस्तै, काठमाण्डु गोर्खाजमा आबद्ध नामिबियाका गेरहार्ड इरास्मस पनि यूएई फर्किएका छन् । उनी काठमाण्डुका लागि पाँच खेल खेलेर यूएई फर्किएका हुन् । आइतबार कर्णाली याक्सविरुद्ध भएको खेलमा ४३ रनको महत्वपूर्ण खेल्दै ‘प्लेयर अफ द म्याच’ घोषित भएका इरास्मसले अरू चार खेलमा भने राम्रो प्रदर्शन गर्न सकेनन् । उनी आईएल टी–२० मा गल्फ जायन्ट्समा आबद्ध छन् ।
विराटनगर किंग्सका शुभम रञ्जने पनि स्वदेश फर्किएका छन् । उनले एनपिएलको यस सिजनमा विराटनगरका लागि अलराउण्डर प्रदर्शन गरे । शुभमले चार खेल खेल्दै ८३ रन तथा पाँच विकेट लिए ।
त्यस्तै, पोखरामा अनुबन्धित इंग्ल्याण्डका अलराउण्डर डान डाउथवेट पनि स्वदेश फर्किसकेका छन् । उनी चोटका कारण स्वेदश फर्किएका हुन् । लिगमा डानले तीन खेल्दै ७३ रन तथा २ विकेट लिए ।
एनपिएलमा जोडिएका नयाँ खेलाडी
विराटनगर किंग्समा अनुबन्धित दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस सोमबार नेपाल आइपुगेका छन् । उनी आबुधाबी टी–१० सकाएर एनपिएल खेल्न नेपाल आएका हुन् ।

फाफ पहिलोपटक एनपिएलमा देखिने छन् । उनको आगमनसँगै विराटनगर थप मजबुत देखिएको छ । फाफले अब डिसेम्बर तीनमा हुने लुम्बिनी लायन्सको खेलबाट एनपिएल डेब्यू गर्नेछन् ।
उनको खेल हेर्नको लागि नेपाली समर्थक उत्साहित बनेका छन् ।
त्यस्तै, इंग्ल्याण्डका चर्चित ब्याटर जेसन रोय पनि आइतबार नेपाल आइपुगेका छन् । उनी पोखरा एभेन्जर्समा अनुबन्धित छन् ।
रोय पनि अबुधाबी टी–१० लिग सकाएर नेपाल आएका हुन् ।

लिगमा चार खेल खेल्दा एकमा मात्र जित हासिल गरेको पोखरालाई प्लेअफको रेसमा कायम रहन तीनवटै खेल जित्न आवश्यक छ ।
त्यस्तै, भारतका पुनित मेहरा पनि नेपाल आइसकेका छन् । उनी सुदूरपश्चिम रोयल्समा अनुबन्धित छन् ।
त्यस्तै, इंग्ल्याण्डका फास्ट बलर जर्ज स्क्रिमस नेपाल पनि नेपाल आइसकेका छन् । उनी एनपिएल टिम चितवन राइनोजमा आवद्ध छन् । एनपिएल सिजन–२ का लागि अनुबन्धित प्राय सबै विदेशी खेलाडी नेपाल आइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।