७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

जेनजी सहिद ईश्वत अधिकारी : सपना अधुरो, बलिदान अमर

काठमाडौंका स्थायी बासिन्दा २७ वर्षे ईश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जाँदैन थिए । सानैदेखि अध्ययनमा अब्बल उनले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहेका थिए । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिग्रँदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो । 

आमनेपाली युवा पुस्ता पनि ईश्वत जस्तै मुलुकको अवस्थाबाट चिन्तित थिए । युवाहरूले जेनजी पुस्ताका नामबाट तत्कालीन सरकारलाई खबरदारी गर्ने उद्देश्यले गत भदौ २३ गते राजधानीमा भद्र विरोध आयोजना गरे । ईश्वतलाई पनि सो कार्यक्रमले ध्यान खिच्यो । 



त्यसदिन बिहानै ९ बजेदेखि नै युवाहरु माइतीघर क्षेत्रमा जम्मा भइरहँदा उनी भने घरै थिए । परिवारसहित टेलिभिजनबाट विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए । 
    
आन्दोलनमा सहभागीको सङ्ख्या बढ्दै थियो । नवयुवाहरू आर्थिक समृद्धिमार्फत मुलुकको भविष्य बदल्नुपर्छ भन्ने भावनाका साथ आन्दोलनमा होमिएका थिए । ईश्वतलाई अब टेलिभिजनबाट हेरेर मात्रै पुग्दैन मैदानमा उत्रनुपर्छ भन्ने मनमा लाग्यो । परिवारका सदस्यसँग भने, ‘अब म आन्दोलनमा जान्छु ।’  

बुबा ईश्वरबहादुरले ‘बाबु, कफ्र्यू लागिसक्यो, तँ आन्दोलनमा नजा’ भने । तर, उनको मन मानेन । आन्दोलनमा सहभागी भएरै छाड्ने जिद्दी गरे । सरकारप्रति उनी रुष्ट थिए । नेपालमा केही हुँदैन । जति गरे पनि केही छैन । देशको अवस्था राम्रो छैन । सोझो तालले केही हुन्न । अब विदेश जाने र परिवारको समृद्धि खोज्ने उनको सपना थियो । 



छोरा एक्लै आन्दोलनमा जान खोजेपछि बुबाले पनि सँगै जाने भने । मुटुको बिरामी भएकाले छोराले बुबालाई सँगै लैजान चाहेनन् । ईश्वत करिब १ बजे ‘पठाओ’ चढेर आन्दोनल भइरहेको क्षेत्रतर्फ गए ।

अपरान्ह करिब २ बजेर १२ मिनेटमा ईश्वतले बुबालाई फोन गरे । भने, ‘म नयाँ बानेश्वर चोकमा छु, मेरा अगाडि पाँच÷छ जना गोली लागेर ढलेका छन् । बुबाले छोरालाई ‘तँ बच है’ भन्नुभयो । त्यसपछि छोराको कुनै जवाफ आएन । त्यति नै बेला ईश्वतलाई पनि गोली लागेको हुनसक्ने बुबाको अनुमान छ ।’

बुबालाई टेलिफोनमा छोराको जवाफ नआएपछि मनमा झस्को पस्यो । उनको आँखा टेलिभिजनमा भए पनि ध्यान छोरा कहाँ गयो भन्नेमा थियो । टेलिभिजनमा प्रस्तोताले बोलिरहेका थिए– ‘नयाँ बानेश्वर क्षेत्रमा गोली चल्यो, घाइतेलाई सिभिललगायतका अस्पतालमा लैगिँदैछ ।’ 

आधा घण्टासम्म छोराको फोन नआएपछि बुबाले लगातार छोराको मोबाइलमा फोन गरे । निकैपछि अपरिचत व्यक्तिले फोन उठायो । तपाईं को हो ? भनेर सोध्यो । म ईश्वतको बुबा हो भनेपछि तुरुन्त ट्रमा सेन्टरमा आउनुस् भन्ने जवाफ पाए । ईश्वरबहादुरले टेलिफोनमै, के गोली लाग्यो भनेर सोधे । अस्पतालमा छिटो आउनुस् भन्ने जवाफले उनमा शङ्का बढायो । 



ट्रमा सेन्टरमा पुग्दा त्यहाँ छ÷सात जनाको शव थियो । सबैको अनुहार हेर्दै जाँदा शवको भीडमा ईश्वतको पनि शव भेटियो । आन्दोलनका क्रममा मृत्यु भएको पुष्टि भयो । त्यसपछि ईश्वतसँगै अन्य मृतकको शव पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमा लगियो । शव परीक्षणपश्चात् आठौँ दिनको दिन बल्ल ईश्वतको दाहसंस्कार गरियो । 

शारीरिकरूपमा फुर्तिलो, जिम गरेर शरीर चुस्त–दुरुस्त बनाउने अभ्यासमा रुचि राख्ने अधिकारी फुटबल, बक्सिङ र टेबलटेनिस खुब खेल्थे । ईश्वत अधिकारी परिवारका कान्छा छोरा थिए । 

अधिकारी परिवार पछिल्लो समय बालाजु ढुङ्गेधारा क्षेत्रमा बस्दै आएको थियो । ११ साउन २०५५ मा थापाथली प्रसूति गृहमा जन्मिएका अधिकारी मनोविज्ञान र अङ्ग्रेजीमा स्नात्तकोत्तर तथा व्यवस्थापन सङ्कायमा पनि स्नातकोत्तर गर्दै थिए ।

ईश्वतले उपयुक्त रोजगारी नदेखेपछि विदेश जानुपर्छ भन्ने सोच बनाएका थिए । अमेरिका जाने तयारी गरे । त्यहाँको सफल नभएपछि उनी तिहारपछि बेलायत जाने तयारीमा थिए ।

उनका दाजु पनि ‘इनअफ इज इनअफ’का अभियन्ता नै हुन् । त्यस दिन दाजु मनाङमा थिए । जेनजीको एउटा समूहले ईश्वतको दाजुलाई विरोधको नेतृत्व गर्न आग्रह गरेका थिए । उनी मुलुकको अवस्थाबाट दिग्दार भएर घुम्न निस्केको परिवारको भनाइ छ । 

ईश्वतको परिवारले आइतबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर जेनजी सहिदको भावनालाई सम्बोधन गर्न अनुरोध गरे । त्यसमा प्रधानमन्त्री अत्यन्त सकारात्मक छिन् । हामी आशावादी छौँ । हाम्रै छोराछोरीको बलिदानबाट अहिलेको सरकार बनेको हो । सरकारलाई कानुनले अप्ठ्यारो पारेको छ भन्ने बुबा ईश्वरलाई लागेको छ । 

‘पीडित परिवारका तर्फबाट हामीले शिक्षा, रोजगारी, पहिचान कार्ड, पेन्सन, बिमालगायतको न्यूनतम् माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ । राजनीति अझै अप्ठेरो छ । सत्ताको नेतृत्व गर्नुपर्नेमा सरकार पनि प्रतिपक्ष जस्तो भएको छ । जेनजीमा नेतृत्व गर्ने खालका नेता भएन । सरकारले काम गर्न खोजेको छ, कर्मचारीले रोक्न खोजिरहेको छ । तीन महिना भयो । गृहमन्त्री पनि पक्षमै हुनुहुन्छ । कानुनले अल्झायो । सरकारले बाटो, खेलकुद भवन, रङ्गशाला पनि जेनजी सहिदको नाम राख्नुपर्छ,’ उनले भने ।

आमा अन्जनाका अनुसार ईश्वतको मनपर्ने परिकार आजभोलि घरमा पाक्न छाडेका छन् । ईश्वतले मःमः र मासुका परिकार खुबै मन पराउँथे । आमासँग खुलेरै भलाकुसारी गर्ने, सरसल्लाह लिने उनको स्वभाव थियो । 

जेनजी सुशासन योद्धा ईश्वतका नजिकका साथी निराजन शाही सजिलो साथी गुमाउनुपर्दा भावविह्वल छन् । उनको नजरमा ईश्वत पढाइमा अब्बल, सरल, मिलनसार र निडर स्वभावको थिए । 

जेनजी आन्दोलनको अघिल्लो दिन उनीहरू दुवैजना गोदावरी घुम्न गएका थिए, त्यसक्रममा ईश्वतले भोलि आफू आन्दोलनमा जाने बताएका थिए । –रासस 

  • प्रकाशित मिति : १५ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया