२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?
फाइल तस्बिर

सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ । 


सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीलाई जानकारी दिए । 



यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उनले बताए । 

बैठकले आगामी १ माघदेखि एकपटकमा ५ लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । 



यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए । 

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । 

राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ । मन्त्रिपरिषद्का अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताए । 



  • प्रकाशित मिति : १५ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया