मानवअधिकार आयोगको निर्देशन– आइन्दा उपचारका क्रममा कसैलाई पनि नेल, हतकडी नलगाउनू

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेल या हतकडी नलगाउन निर्देशन दिएको छ ।

निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा नेल लगाइएको फोटो सार्वजनिक भएपछि आयोगले अनुगमन थालेको थियो । अनुगमनका क्रममा चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको पाइएको भन्दै आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर आइन्दा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन सरकारलाई निर्देशन दिएको बताएका हुन् ।

कारागार ऐन २०१९ को दफा ११ (२) मा स्वास्थ्य उपचारको क्रममा नेल, हतकडी लगाउन नपाउने व्यवस्था छ । ऐनको सो व्यवस्थाविपरीत रेशम चौधरीलाई नेल लगाइएको ठहर गर्दै आयोगले आगामी दिनमा कैदीबन्दीको उपचारका क्रममा शारीरिक र मानसिक अवस्थामा असर नपुग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगले नेलसहित कैदीबन्दीलाई उपचार कक्षमा राख्न निर्देशन दिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन पनि भनेको छ । 





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १२:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया