झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिन्थे । परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले केवल सम्झनामा मात्र बाँकी छन् । गत भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनले तीन दिनको उपचारपछि भदौ २७ गते बीएन्डसी अस्पतालमा प्राण त्यागे ।
दिनेशको परिवारमा अहिले पनि त्यो दिन सम्झँदा आँसुका धारा रोकिँदैनन् । ३० वर्षीया श्रीमती जानती, ५५ वर्षीया आमा सपना, छ वर्षीय छोरा रिदम र १३ महिनाकी छोरी दिपीका—सबै दिनेशकै भरमा थिए । बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेपछि घरको आधार दिनेश नै थिए । दुई वर्ष कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका उनले स्वदेश फर्किएपछि केही उद्यम गरेर परिवारलाई आर्थिक स्थायित्व दिने सपना बोकेका थिए ।
रोजगारीको खोजीमा कतार पुगेका दिनेशले अब आफ्नो देशमा केही गर्छु, छोराछोरीलाई राम्रो पढाउँछु भन्ने सोच बोकेर घर फर्किए । यही सोचले उनले शनिश्चरेमा मासु पसल सुरु गरे । श्रीमती जानती पनि दैनिक ज्याला मजदुरी गर्थिन् । श्रीमान्–श्रीमतीको संयुक्त मिहेनतले परिवार चलिरहेको थियो । तर, जेनजी आन्दोलनले दिनेशको परिवारको गति नै मोडिदियो ।
‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानी केटाकेटीलाई खुवाएर तिमी पनि खाना खानु है’ उनले मसँग बोलेको अन्तिम शब्द यही हो भक्कानिँदै जानती भन्छिन्, ‘श्रीमान्को निधनसंगै मेरो सिउँदो त उजाडियो नै छोराछोरीसमेत टुहुरा भए, अनि घर नै भताभुङ्ग भयो ।’
छोराले कहिल्यै बिर्सन नसक्ने प्रश्न गर्ने गरेको बताउँदै जानतीले भनिन्, ‘ममी, बाबालाई कसले गोली हान्यो होला ? नहान्दा पनि हुन्थ्यो नि ?’ छोराको यो प्रश्नसँगै जानतीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन् । मोबाइलमा कहिलेकाहीँ आन्दोलनको भिडियो छोरा रिदमले देख्छ अनि भिडियो हेरेर भन्छ, ‘ममी, कति मान्छे त बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए हामी बाबासँगै बोल्थ्यौँ अनि खेल्थ्यौँ नि,’ जानती भन्छिन्, ‘म आमा हुँ । उसको मन कति चिरिन्छ होला–शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।’
भर्खर १३ महिनाकी छोरी दिपीकाको भर्खर बोली फुट्दैछ, जानतीले सुनाइन्, ‘कहिलेकाहीँ छोरीले ‘बाबा’ भन्छिन् छोरीको त्यो आवाज सुन्दा मुटु नै फुट्लाजस्तो हुन्छ ।’
दिनेशकी आमा सपना अझै पनि निस्तब्ध छिन् । ‘कान्छालाई दशाले बिर्तामोड पुर्यायो । छरछिमेकमा सानोतिनो झैझगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो,’ उनले भनिन्, ‘अब कान्छो फर्किंदैन थाहा छ, तर पनि बाटामा कोही अरू नै हिँडे कान्छाकै झल्को आउँछ ।’
अहिले दिनेशको निधनपछि परिवारको सबै आधार सुस्ताएको छ । दिनेशको निधन हुँदा दाजु गोवद्र्धन विदेशमै रहेका थिए । भाइको निधनको खबर सुनेर रातारात उनी स्वदेश फर्किए । भाइको काजकिरिया दाजु गोवद्र्धनले नै गरे । ‘मुलुकका लागि भाइले प्राण त्याग्यो,’ दाजु गोवद्र्धनले भने, ‘अब राज्यले कम्तीमा दिनेशका छोराछोरीलाई राम्रो शिक्षा पाउने व्यवस्था गरिदिनुपर्छ ।’ भाइको काजकिरिया सकेलगत्तै उनी अहिले विदेश फर्किए । दाजु पनि विदेशिएपछि राजवंशी परिवारमा थप सन्नाटा छाएको छ ।
दिनेशको निधनपछि राज्यले दिनेशलाई सहिद घोषणा गर्यो । सहिद परिवारलाई प्रदान गरिने १५ लाख रुपैयाँ परिवारलाई उपलब्ध गरायो । स्थानीय संस्थाहरूले पनि थप केही आर्थिक सहयोग रकम प्रदान गरेका थिए । अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि घरै गएर छोराछोरीलाई कक्षा १२ सम्म पढाइ दिने बचन छन् । जानतीको मनमा शान्ति पटक्कै छैन । उनी भन्छिन्, ‘पैसाले मात्र के हुँदोरहेछ र मान्छे नै नरहेपछि ।’ अब राज्यले हामी सहिद परिवारलाई रोजगारी सहितको दीर्घकालीन व्यवस्था गरिदिओस् भन्ने उहाँको आग्रह छ । ‘छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ,’ उनी भन्छिन्, ‘परिवारलाई आत्मनिर्भर हुने रोजगारी उपलब्ध गरियोस् ।’
दिनेशको निधनसँगै जानतीलाई जिम्मेवारी थपिएको छ । ‘मासु पसल अहिले बन्द छ, पसल बन्द भएपछि आयस्रोत पनि बन्द छ,’ उनी भन्छिन्, ‘ठेक्कामा धान खेती गरेका छौँ । अहिले धान थन्क्याउन हामीलाई समस्या छ । घर हेर्नु कि नानीको हेरचाह गर्नु कि, धान थन्क्याउनु समस्याले एकै पटक गाज्यो ।’ ससाना छोराछोरी, सासूआमाको हेरचाहसँगै व्यवहार गर्न अहिले उनलाई मुस्किल परेको छ । उनी भन्छिन्, ‘आफ्नो जमिनमा फलेको अन्नले मात्र खान पुग्दैन, ठेक्कामा धान खेत गरेका थियौँ, अहिले त्यही अर्मपर्म गरेर बाली उठाउँदैछु ।’
श्रीमानको मृत्युपछि छिमेकीहरूको सद्भाव र आफन्तको साथले म सम्हालिन खोज्दैछु जानतीले भनिन्, ‘छिमेकीहरु आउनुहुन्छ, मलाई सम्झाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ । राम्रो मान्छेको आयु लामो हुँदैन भन्छन्–दिनेश पनि राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ पीर नगर्नू ।’
छिमेकीका सान्त्वनाका यी शब्दहरूले पीडा कम गर्न खोजे पनि मन बुझाउन भने निकै गाह्रो हुने उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली पेटमा लागेर ढलेका दिनेशका सपनाहरू जेनजी आन्दोलनको भीडसँगै निभे तर उहाँका छोराछोरी र परिवार अझै पनि भविष्यको उज्यालो खोजिरहेका छन् ।
सुरेन्द्र भण्डारी / रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।