२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

सयौँ भ्रष्टाचार अभियुक्तलाई अदालतमा उभ्याएका दीपक श्रेष्ठ बने लुम्बिनी विकास कोषको सदस्य

हिन्दु र बौद्ध धर्म उत्तिकै मान्ने समुदायमा पर्छ, नेपालको नेवार समुदाय। गोरखाको सहिद लखन थापा गाउँपालिका-६ स्थित यस्तै एउटा परिवारका सदस्य हुन्, दीपक श्रेष्ठ। 


बौद्ध धर्मावलम्बी गुरुङहरूको आदि थलोमा जन्मे–हुर्केका उनले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन्। उनै दीपक श्रेष्ठलाई मन्त्रिपरिषद्ले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा मनोनयन गरेको छ ।



मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् । 

केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेका उनले २०६७ भदौ १ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरे । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिए ।



अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनले अनुसन्धान गरेका भ्रष्टाचारका दर्जनौँ मुद्दाका सयौँ अभियुक्त अदालतको कठघरामा उभिएका छन् । उनीसँग कोही बेखुसी छन् भने तिनै अख्तियारमा बयान दिन पुगेकाहरू र भ्रष्टाचारका अभियुक्तहरू छन्।

उनी जहाँ जहाँ पुगे, त्यहाँ कार्यक्षमतामा अब्बल, इमानदार र पुरस्कृत भएर रहेका छन् । खानेपानी संस्थानको बनेपा र धरान शाखा प्रमुख हुँदा सर्वोत्कृष्ट शाखा प्रमुखका रूपमा घोषित भएका थिए । उनी त्यहाँ पुगेपछि राजस्व रकम नै कयौँ गुणाले बढेको थियो । समानुपातिक पानी वितरण र सेवा प्रवाहमा उनले गरेको सुधार अहिलेसम्म पनि नमुना मानिन्छ।

धरान पुग्दा उनले पौने २ करोड रुपैयाँ मात्र उठ्ने गरेको महसुल एकै वर्षमा ९ करोडसम्म पुर्‍याएका थिए । काममा खट्न सक्ने र नतिजा देखाउन सक्ने उनको क्षमताकै लागि हाल धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत प्रशंसा गर्ने गरेका छन्। उनले धेरै अन्तर्वार्तामा दीपक श्रेष्ठबाट काम गर्ने शैली सिकेको भनेका छन्। 



अन्यत्र पनि उनले इमानदार भएर सुशासनका लागि काम गरे। इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको थियो। उक्त पुरस्कार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच प्रदान गरिएको थियो। अख्तियारको प्रमुख आयुक्त नवीनकुमार घिमिरे थिए।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि उनी २०७८ मा खानेपानी संस्थानमै फर्किए। पछिल्लो समय संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए। हाल उनले संस्थानको सहायक प्रबन्धक पदबाट राजीनामा दिइसकेका छन्। 

स्वच्छ छवि, निष्कलंक व्यक्तित्व, भद्र एवं शिष्ट स्वभावका कारण परिचित श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनका क्षेत्रमा जहाँ पुगे पनि अब्बल प्रमाणित गरेका छन् । उनको मान्यता छ, ‘हामी जहाँ पुगे पनि केवल जागिर मात्र खाने होइन। जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ।’ 

  • प्रकाशित मिति : १६ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया