नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको २२औँ खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने तालिका छ । यी दुई टिमबीचको खेल बुधबार अपरान्ह ४ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ ।
प्लेअफ सम्भावना जीवित राख्न विराटनगरविरुद्ध लुम्बिनी अनिवार्य जित चाहन्छ । उता विराटनगर लुम्बिनीलाई हराएर एक खेलअगावै प्लेअफ टिकट सुरक्षित गर्ने दाउमा छ ।

कुन टिमको पल्लाभारी ?
जारी सिजनमा सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स उच्च लयमा छ । उसले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको सानदार जितका साथ जारी सिजनको सुरुवात गरेको थियो ।
उसले दोस्रो र तेस्रो खेलमा क्रमशः काठमाण्डु गोर्खाजविरुद्ध पाँच विकेट तथा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सविरुद्ध ९ रनको रोमाञ्चक जित निकाल्यो ।
चौथो खेलमा भने विराटनगरले चितवन राइनोजविरुद्ध ४८ रनको फराकिलो हार बेहोर्यो । तर, पाँचौं म्याचमा कर्णाली याक्सलाई तीन विकेटले हराउँदै ऊ लयमा फर्किएको छ ।
विराटनगर अब छैटौँ खेलमा लुम्बिनीलाई पनि हराएर लय जारी राख्ने सोचमा छ । प्लेअफमा स्थान पक्का गर्न उसलाई अब एक जित मात्र आवश्यक छ ।

उता रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्स भने ‘गर यार मर’ को स्थितिमा छ । प्लेअफमा स्थान बनाउने हो भने उसले अब हरेक खेलमा जित निकाल्नुपर्ने समीकरण बनेको छ । साथै, प्लेअफ सपना साकार गर्न लुम्बिनीले अरू टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराउँदै दोस्रो संस्करणको एनपिएलको सुरुवात गरेको थियो । तर, उसले आफ्नो दोस्रो, तेस्रो र चौथो म्याचमा क्रमशः कर्णाली, काठमाण्डु र सुदूरपश्चिम रोयल्ससँग हार बेहोर्यो ।
यद्यपि लुम्बिनीले पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले हराउँदै लयमा फर्किएको संकेत देखिएको छ । ऊ अब उच्च लयमा रहेको विराटनगरलाई हराएर प्लेअफ दौडमा जीवित रहन चाहन्छ । लुम्बिनीसँग अहिले पाँच खेलबाट चार अंक छ ।
एनपिएल इतिहासमा हालसम्म विराटनगर र कर्णालीबीच एक खेलमा भेट भएको छ । गत सिजनमा भएको उक्त लिग चरणको खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य पूरा गर्दै विराटनगरले २ विकेटको रोमाञ्चक जित निकाल्यो ।

ऊ यसपालि पनि लुम्बिनीविरुद्ध सोही नतिजा दोहोर्याउन चाहन्छ । यता लुम्बिनीको टिम विराटनगरविरुद्ध बदला लिँदै महत्वपूर्ण २ अंक जोड्ने योजनामा छ । जारी सिजनमा लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल र शेर मल्ल लयमा छन् ।
यसपटक रोहितले ५ खेलमा १ सय ७४ रन बनाएका छन् । उनी लुम्बिनीका लागि सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । बलिङतर्फ शेर मल्लले ५ खेलमा ७.३७ को इकोनमीमा ५ विकेट लिएका छन् ।
उता विराटनगरका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले हरेक खेलमा विकेट लिइरहेका छन् । उनले ५ खेलमा ५.१५ को उत्कृष्ट इकोनमीमा १० विकेट लिएका छन् । विराटनगरका लागि ब्याटिङतर्फ बसिर अहमदले राम्रो प्रदर्शन गरिरहेका छन् ।
उनले ५ खेलमा १२७.२७ को स्ट्राइक रेटमा १४० रन बनाएका छन् । बुधबारको खेल जित्नसक्ने टिमको आकलन गर्दा विराटनगरको सम्भावना बढी छ । लुम्बिनीविरुद्धको खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसिसले पनि खेल्ने छन् । साथै पूर्णरूपमा फिट भएमा बुधबार मार्टिन गप्टिल पनि प्लेइङ–११ मा फर्किने सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।